कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाख्राको कमाइबाट भरथेग

प्रताप विष्ट

मकवानपुर — उनलाई बिहान बेलुका पेट भर्न समस्या थियो । मजुवा खानीको क्यान्टिनमा काम गर्थे । त्यहीँबाट आम्दानी भएको रकमले परिवार पाल्ने गरेका थिए । क्यान्टिनबाट फालिएका खाद्य वस्तुहरू खुवाउनका लागि उनले एउटा बाख्रा पालेका थिए ।

बाख्राको कमाइबाट भरथेग

अहिले बाख्रा फर्म नै बनाएका छन् मकवानपुरगढीका रोमनाथ बजगाईले ।

अहिले उनको फर्ममा साना–ठुला गरेर १ सय ५० वटा बाख्रा छन् । ५ वर्षअघि जनमुखी बाख्रा फर्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका बजागाईको अहिले वार्षिक रूपमा बाख्राबाट मात्रै ८ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।


लामो खोरमा माउ बाख्रा, बोका र खसीहरू अलगअलग ठाउँमा राखेर पालेका छन् । उनको खोरमा अहिले दैनिक ४/५ टोली खसी व्यापारीहरू पुग्ने गरेका छन् । उनले खसी बिक्री भने गरेका छैनन् । गत वर्ष पनि खाद्य संस्थानलाई तौलेर खसी बिक्री गरेका उनले यो वर्ष पनि संस्थानलाई बिक्री गर्ने उनको सोच छ ।

‘ऋण चाहियो भने सरकारसँग लिने अनि खसीबोका अरूलाई किन बेच्ने,’ ४६ वर्षीय बजगाईले भने । ‘खोर सुधार र बाख्रा फर्म सञ्चालन गर्न सुरुमा जिल्ला पशुसेवा विकास कार्यालयले सुरुमा तीन पटक गरेर २ लाख ७० हजार रुपैयाँ सहयोग गरेको थियो, पशु सेवा विकास कार्यालयले आँट भरोसा नदिएको भए बाख्रापालन गर्न सकिँदैनथ्यो ।’

उनले दिनभर जंगलमा चराएर बेलुका मात्र बाख्रा खोरमा ल्याएर बाँध्ने गरेका छन् । खोर वरिपरि नै झाडी जंगल छ । जंगलमा बाख्राले खान मनपराउने डाँले घाँसहरू पनि छन् । ती डालेघाँस बजगाईले आफैंले लगाएका हुन् । उनको खोरमा लोप हुने अवस्थामा पुगेको खरी बाख्राका माउ र बोकाहरू पनि छन् ।

बजगाई दम्पत्ती र छोरा तीन जना बाख्रा, कुखुरा र भैंसीको स्याहारसुसारमा बिहान उठेदेखि बेलुका अबेरसम्म व्यस्त रहने गरेका छन् । ५ रोपनी मात्र जग्गा रहेका बजगाईले व्यावसायिक रूपमा बाख्रापालन गरेकाले सिंगो परिवारको जीवनमा परिवर्तन आएको छ ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?