कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

ढल्केबर सबस्टेसन सञ्चालनमा

यो नेपालको सबैभन्दा धेरै क्षमताको सबस्टेसन हो ।

काठमाडौँ — धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन सञ्चालनमा आएको छ । बिहीबार राति सबस्टेसन चार्ज गरिएसँगै यो सञ्चालनमा आएको हो । नेपाल र भारतबीचको विद्युत् व्यापार र देशभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि यो सबस्टेसन महत्त्वपूर्ण मानिएको छ ।

ढल्केबर सबस्टेसन सञ्चालनमा

यो नेपालको हालसम्मकै सबैभन्दा धेरै क्षमताको सबस्टेसन हो । हाल यो सबस्टेसन २२०/१३२ क्षमतामा सञ्चालित छ । सबस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत् आयात/निर्यातका लागि पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । विद्युत् आदानप्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

ढल्केबर सबस्टेसन स्वचालित हो । काठमाडांैको स्युचाटारमा रहेको प्राधिकरणको भार प्रेषण केन्द्रबाटै ढल्केबर सबस्टेसनको सञ्चालन र अनुगमन गर्न सकिने प्राधिकरणले जनाएको छ । सबस्टेसनमा १६०/१६० एमभीए, २२०/१३२ केभीका दुईवटा ट्रान्सफर्मर छन् ।

‘सबस्टेसन सञ्चालनमा आएपछि हिउँदको बढी विद्युत् माग हुने समय (पिक) मा भारतबाट थप विद्युत् आयातका लागि पूर्वाधार तयार भएको छ, ४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी हुन गएको खण्डमा निर्यात गर्नका साथै उक्त लाइनमार्फत इनर्जी बैंकिङ गर्नसमेत बाटो खुलेको छ,’ प्रवक्ता अधिकारीले भने । ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन लाइन बिहीबार ६ बजेसम्मका लागि सट डाउन लिइएकामा आवश्यक सम्पूर्ण कार्य सकिएको हुँदा निर्धारित समयबाटै विद्युत् आयातको निरन्तरता भएको अधिकारीले बताए ।

प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत पिक समयमा दैनिक रूपमा १२० मेगावाटसम्म विद्युत् आयात गरेको थियो । अब थप करिब १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । ढल्केबरमै निर्माण भइरहेको ४००/२२० केभीको सबस्टेसन डेढ वर्षभित्रमा सकिनेछ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन पनि निर्माण भइरहेको छ ।

ढल्केबरमा सबस्टेसन बनाउन समय लागेपछि यसअघि भारतको मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर भाडाका राखी विद्युत् आयात गरिएको थियो । ढल्केबर सबस्टेसन चार्ज भएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सफर्मर अब राख्न नपर्ने प्रवक्ता अधिकारीले बताए ।

विश्व बैकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत सबस्टेसन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन र सबस्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँग १२ जुन २०१४ मा हेटौंडा, ढल्केबर र इनरुवामा सबस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो । तर, सन्तोषजक रूपमा काम नगरेपछि प्राधिकरणले सीसीपीजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोडेको थियो । त्यसपछि ढल्केबर सबस्टेसनका बाँकी रहेको काम गराउन टेन्डर गरी जनवरी २०१८ मा ठेक्का सम्झौता गरिएको थियो । भारतीय ठेकेदार कम्पनी टेलमोसले ६ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो ।

प्रकाशित : भाद्र २, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?