कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से र कारोबार रकम बढे

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला दुई दिन बढेको नेप्से बुधबार पनि करिब २९ अंकले बढयो । कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो ।

नेप्से र कारोबार रकम बढे

गत आइतबार करिब १७ अंकको गिरावटसहित नेप्से १ हजार १ सय ६३.९४ विन्दुमा झरेको थियो । यो करिब साढे दुई वर्षयताकै न्यून हो ।

०७२ पुस २३ गते नेप्से १ हजार १ सय ६४.१४ विन्दुमा थियो । त्यसपछि बढ्न थालेको नेप्से ०७३ साउन १२ गते हालसम्मकै उच्च विन्दु १ हजार ८ सय ८१.४५ मा पुग्यो । त्यसअघिको नेप्सेको उच्च विन्दु १ हजार १ सय ७५ अंक थियो । ०७३ साउन १३ गतेदेखि नै घट्न थालेको नेप्से आइतबारसम्म १ हजार १ सय ६४ मा आर्लेको थियो । यद्यपि सोमबारदेखि नेप्से परिसूचक बढ्न थालेको छ ।

हाल वाणिज्य बैंकहरूले धमाधम गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । सोही क्रममा आइतबार केही ‘ब्लु चिप’ कम्पनीहरूका वित्तीय विवरण सार्वजनिक भएका छन् । ती कम्पनीका वित्तीय विवरणहरू अपेक्षा गरिएभन्दा धेरै राम्रा आएका छन् । यही कारण बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको ब्रोकर बताउँछन् । ‘केही कम्पनीहरूको वित्तीय अवस्था विश्लेषण गर्दा अपेक्षाभन्दा धेरै प्रतिफल आउने देखियो,’ एक ब्रोकरले भने, ‘मुद्दती निक्षेपको भन्दा बढी प्रतिफल सेयरबाट आउने भएपछि लगानीकर्ता आकर्षित भएका हुन् ।’ नेप्से परिसूचक निकै तल ओर्लेको, बैंकहरूको ब्याजदर घट्ने क्रममा रहेको, कम्पनीहरूबाट राम्रो प्रतिफलको सम्भावना देखिएको लगायत कारण नै बजार वृद्धिको आधार भएको जानकारहरू बताउँछन् ।

अघिल्ला दिनहरूको तुलनामा बुधबार कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । करिब ६ हजार कारोबारबाट १ सय ६५ कम्पनीका १० लाख ६८ हजार ५ सय ५७ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ३६ करोड ४१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । परिसूचक बढेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १४ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक २.३६ प्रतिशतले बढयो । व्यापारमा रहेका सबै कम्पनीहरूको कारोबार मापक फ्लोट परिसूचक २.५२ प्रतिशतले उकालो लाग्यो । कारोबारमा आएकामध्ये १ सय ३७ कम्पनीको सेयर मूल्य बढयो, ११ कम्पनीको घटयो र बाँकी १७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

उक्त दिन बिमा समूहको परिसूचक सबैभन्दा धेरै अंकले बढयो । जसमध्ये निर्जीवन बिमा समूहको परिसूचक ३.५६ र जीवन बिमाको २.२८ प्रतिशतले बढे । त्यस्तै विकास बैंक समूहको परिसूचक २.५७, जलविद्युतको २.४७, बैंकिङको २.४६, लघुवित्तको २.३४ र ‘अन्य’ समूहको २.०८ प्रतिशतले बढे । यसैगरी उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.८६, होटलको १.५८ र वित्त कम्पनीको १.५१ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?