२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

एप्पललाई सफल बनाउने ५ सूत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — एप्पललाई इतिहासकै सर्वाधिक सफल कम्पनी भन्न थालिएको छ । यो हालसालै १० खर्ब डलर मूल्य भएको विश्वकै पहिलो पब्लिक कम्पनी पनि बनेको छ । कम्पनीले यो सफलता कसरी पायो ?

एप्पललाई सफल बनाउने ५ सूत्र

एप्पललाई यसको यात्रामा धेरै पक्षले साथ दिए । तीमध्ये केही यस्ता पक्ष छन्, जसले कम्पनीलाई यो सफलता दिलाउन महत्त्वपूर्ण भूमिका खेले—

स्टिभ जब्स्सको छवि
एप्पलको सहसंस्थापकका रूपमा स्टिभ जब्सको नाम प्रविधिको संसारमा सबैभन्दा धेरै सम्झिन्छन् । उनले एप्पललाई व्यक्तिगत कम्युटरको क्रान्तिमा सबैभन्दा अघि राखे साथै आफ्नो नेतृत्वमा आइपोडदेखि आइप्याडसम्मको क्रान्तिकारी उत्पादनहरू सार्वजनिक गरे ।उनी आधुनिक विश्वको सबैभन्दा हस्तक्षेपकारी प्रमुख कार्यकारीका रूपमा पनि चिन्छिन् र उनी आफैंमा एक ब्रान्ड पनि हुन् ।

स्टिभ जब्सले स्टिभ वाजनियाकसँग मिलेर सन् १९७६ मा कम्पनी स्थापना गरेदेखि नै एप्पल राम्रो वस्तु उत्पादन गर्ने कम्पनीका रूपमा चिनिँदै आएको छ ।

एप्पलका सेयरको माग यति धेरै थियो कि सन् १९८० ताका यसले सेयर जारी हुँदा यो फोर्डपछिको सबैभन्दा ठूलो सेयर सार्वजनिकीकरण थियो । फोर्डले सन् १९५६ मा सेयर जारी गरेको थियो ।

समकक्षीसँगको विवादका कारण सन् १९८५ मा स्टिभ जबले एप्पल छाडे । तर, १२ वर्षदेखि कम्पनी घाटामा चलेपछि सन् १९९७ मा उनलाई फेरि कम्पनीमा फर्कन आग्रह गरियो ।कम्पनीमा फर्किएलगत्तै उनले कम्पनीका पुराना योजनालाई थन्क्याए र नयाँ अभियान सुरु गरे– फरक सोच । यो एप्पल र यसका उत्पादन प्रवद्र्धन गर्ने अभियान थियो । अभियानलगत्तै कम्पनी पुन: नाफामा फर्कियो ।सन् २०११ मा स्टिभ जब्सको मृत्यु हुँदा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका थिए, ‘विश्वले एउटा दूरदर्शी व्यक्ति गुमायो ।’ उनको नाम नभइदिएको भए एप्पल अहिलेको एप्पल बन्ने थिएन ।

आइफोन क्रान्ति
सन् २००७ मा सार्वजनिक भएको आइफोनले आधुनिक मोबाइल सञ्चारमा सबैभन्दा ठूलो प्रभाव पार्‍यो ।बजार पठाइएको पहिलो वर्ष नै १४ लाखवटा आइफोन बिक्री भएको थियो । मोबाइल बजारमा आधिपत्य जमाइरहेका नोकिया र ब्ल्याकबेरीजस्ता कम्पनी आइफोनको आगमनले अधो गतिमा लागे ।भर्खरै मात्र एप्पल स्मार्टफोन निर्माताको सूचीमा तेस्रो स्थानमा धकेलिएको छ । कोरियन कम्पनी सामसङ र चिनियाँ कम्पनी हुवावेपछि तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी एप्पल भए पनि बजारमा आइफोनको माग भने अत्यधिक छ ।

एप्पलले अप्रिलदेखि जुनको तीन महिने अवधिमा मात्र ४ करोड १३ लाख वटा आइफोन बिक्री गरेको थियो । सन् २०१७ भरि कम्पनीले विश्वभर २१ करोड ६० लाखवटा आइफोन बिक्री गरेको थियो ।एप्पलको अधिकांश आम्दानी स्मार्टफोनको बिक्रीबाट हुन्छ । पछिल्लो त्रैमासिक विवरणअनुसार एप्पलको आम्दानीको ५६ प्रतिशत हिस्सा आइफोनको बिक्रीबाट हुन्छ । यसकारण, एप्पलको भविष्य आइफोनसँग जोडिएको छ ।

एप्पलको सेवा
आइटयुन्स वा एप्पल म्युजिक, एप स्टोर, आइक्लाउड र एप्पल पे । एप्पलको सेवातर्फको व्यापारका यी केही प्रमुख पक्षहरू हुन् । यी कम्पनीका लागि पछिल्लो समय तीव्र रूपमा आम्दानी बढाउने सेवाहरू हुन् । एप्पलको यी सेवाबाट हुने आम्दानी मात्रै पछिल्लो त्रैमासिकमा ३१ प्रतिशतले वृद्धि भएको छ ।एप्पलको सफलतामा आइफोन मुख्य कारक भए पनि यसको ब्रान्डको वृद्धिमा एप्पल म्युजिक, एप स्टोरको पनि भूमिका छ ।

यदि कुनै उपभोक्ताले आइफोनको प्रयोग गर्दै म्युजिक र मुभी खरिद गर्छ भने उसले आइप्याड, म्याकबुक, एप्पल टीभी र एप्पल वाच पनि खरिद गर्छ भन्ने कम्पनीको विश्वास छ । ‘ग्राहकलाई आफ्नो हार्डवेयर किन्न प्रेरित गरिरहनु नै एप्पल ब्रान्डको मुख्य विशेषता हो,’ ब्रान्ड म्याटर्सका प्रबन्ध निर्देशक पल नेल्सन भन्छन् ।‘बलिया ब्रान्डसँग त्यस्ता ग्राहक हुन्छन्, जो अन्य विकल्पमा रुचि राख्दैनन् र यही नै एप्पलको सबैभन्दा बलियो पक्ष हो,’ उनी भन्छन् ।

चीनको भूमिका
चीनबिना एप्पलको सफलता केही फरक हुन्थ्यो । एप्पलको नाफाको करिब एक चौथाइ चीनबाट प्राप्त हुन्छ ।यसबाहेक एप्पलको अधिकांश आइफोन दक्षिणी चीनको सेङजेङ प्रान्तमा उत्पादन हुन्छ । सन् २०१६ को मार्चदेखि केही महिना चीनबाट हुने आम्दानी उल्लेख्य घटे पनि अहिले कम्पनीले यसलाई सुधार गरिसकेको छ ।

२०१७ को सेप्टेम्बरदेखि चीन र आसपासका क्षेत्रबाट हुने आम्दानीमा दुई अंकको वृद्धि भइरहेको छ । कसरी ? चीनका सहरिया वर्ग र मध्यम आय भएकाहरूका बीच आइफोन सम्पन्नताको प्रतीक बनेको छ । चिनियाँ सस्ता ब्रान्डका प्रतिस्पर्धाका बाबजुद पनि एप्पलका महँगा आइफोन, आइप्याड र म्याकले चीनबाट आम्दानी बढाइरहेका छन् ।

विश्वसनीय ब्रान्ड
एप्पल फोब्र्सको सूचीमा पछिल्ला ८ वर्षदेखि लगातार सबैभन्दा मूल्यवान् कम्पनीका रूपमा सूचीकृत छ । फोब्र्सले कम्पनीको आर्थिक तथ्यांकको आधारमा यो सूची प्रकाशित गर्ने गर्छ । यो वर्ष कम्पनीको ब्रान्ड मूल्य १ खर्ब ८२ अर्ब डलर छ ।कुनै बेला नम्बर १ ब्रान्ड रहेको कोकाकोलाको अहिलेको ब्रान्ड मूल्य ५७ अर्ब डलर हाराहारी मात्रै छ ।कुनै बेला विश्वका प्रमुख सहरमा कोकाकोलाबिनाका पसल र सडक देख्न मुस्किल पथ्र्यो । तर, अब यो परिचय फेरिन थालेको छ । अलिकति टोकेको जस्तो देखिने एप्पलको लोगो २१ औं शताब्दीको सबैभन्दा ठूलो ब्रान्ड बन्ने देखिन्छ ।

‘कोकाकोलाले कुनै बेला गर्न नसकेको काम अहिले एप्पलले गरेको छ । त्यो हो– समय सान्दर्भिक र समय सापेक्ष बन्ने,’ ब्रान्ड म्याटर्सका पल नेल्सन भन्छन्, ‘एप्पलले मानिसलाई आफ्नो प्रणालीको केन्द्रमा राखेको छ । कम्पनीले जे गर्छ त्यसमा मानिसलाई केन्द्रमा राखिएको छ । उनीहरूको ब्रान्ड नै प्रविधिको मानवीकरण हो ।’

‘कम्पनीले आफ्नो बिजनेस मोडल बनायो– आफ्ना ग्राहकलाई अन्त जान नदिने । एप्पल कम्पनी मात्रै होइन, यो पूर्ण रूपमा एक पारिस्थितिकीय प्रणाली हो ।’

प्रकाशित : श्रावण २२, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?