२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

माथिल्लो तामाकोसीको सेयरः पौने तीन लाखको प्रतिक्षा सकियो

राजेन्द्र मानन्धर

दोलखा — देशमै पहिलोपटक जलविद्युतमा स्थानीयलाई सेयर अधिकारको आरम्भ गरेको तामाकोसीले अनेक व्यवधान पार गर्दै सेयर संकलन सुरु गर्दै छ ।

माथिल्लो तामाकोसीको सेयरः पौने तीन लाखको प्रतिक्षा सकियो

बुधबारबाट पौने तीन लाख जनाले प्रतिक्षा गरिरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर आवेदन खुला हुँदैछ । अधिकारकै एउटा अंशको रुपमा सेयरका लागि जमजमाएर बसेका दोलखाका पौने तीन लाख जनसंख्यालाई आयोजनाले न्यूनतम ३० देखि अधिकतम् तीन सय कित्ता सेयर वितरणको तयारी गरेको छ ।


स्वदेशी पुँजीमा ३५ अर्ब २९ करोड लगानीको अहिलेसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोसीले लगानीको सुनिश्चिता गर्ने क्रममा दोलखा जिल्लावासीलाई १० प्रतिशत सेयर छुट्याएको थियो ।

भलै लगानी बढेर ४२ अर्ब भन्दामाथि जानसक्ने प्रक्षेपण भैरहँदा पनि सेयरप्रति आकर्षण बढिरहेकै छ । दोलखा जिल्लावासीपछि उक्त आयोजनाले सर्वसाधरण नेपालीबाट १५ प्रतिशत संकलन गर्दै छ । यसअघि सञ्चयकर्ता, निजामती, शिक्षकहरुबाट पनि सेयर संकलन गरिसकेको छ ।


बहुचासोको विषय बनिरहेको उक्त सेयर संकलन गर्न आयोजनालाई झण्डै तीनवर्ष लगातार प्रयास गरिरहनु पर्‍यो । सेयर संकलन विधिदेखि कित्ताको बाँडफाँडको विषयमा पटकपटक विवादको सामना गर्दै आयोजना संकलनको तहमा पुगेको हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने, ‘२०७५ साउन १६ गतेदेखि २०७५ को भदौ १४ गतेसम्म दोलखा जिल्लावासीका लागि सेयर संकलनको सबै तयारी पूरा भयो ।’


दोलखाको लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाटको आयोजना बढिमा एकवर्षभित्र पूरा हुने पछिल्लो अनुमान छ । आयोजना सुरु हुनेबित्तिकै ‘नाफाको मिटर चल्ने र सुनको अण्डा पार्ने पोथी’ भनेर हल्लिखल्ली गरिएको तामाकोसीको सेयर आवेदन गर्न दोलखामा निकै चासो र उत्सुकता छ । मानिसहरुको भेट भयो की सेयरकै चर्चा हुन्छ ।


दोलखाका आमसञ्चारमाध्यमको लगातारको प्रचार, नेताहरुको चुनावदेखि हालसम्मको भाषणको प्रमुख विषय बन्ने गरेकाले सेयरमा पैसा लगानी गर्न ‘सेयर कुन चरा’को नाम हो भनेर थाहा नहुनेहरु पनि प्रतीक्षारत देखिन्छन् ।

तामाकोसीको सेयरको अधिकारबाट कुनै पनि नागरिक वञ्चित नहोऊन भन्ने दोलखाका सबै नेताहरुको एउटै स्वर छ । प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ भन्छन, ‘यो सुनौलो अवसरबाट कुनै पनि दोलखाली वञ्चित नहोऊन भनेर राजनीतिक तहबाट पनि सचेतना अभियान चलाइरहेका छौँ ।’


तामाकोसीको सेयरकै लागि भनेर तत्कालिन जिल्ला विकास समितिले २०७१ सालमा गणनासमेत गर्‍यो । घरधुरी सर्वेक्षणको नाम दिएर गरिएको गणनामा दुई लाख ८१ हजार जनसंख्या देखिएको थियो ।

तामाकोसी आयोजनाले करिब ६० लाख खर्चेर गरेको सर्भेमा दोलखाको नागरिक भएका, बसाई सरी आएका, बिहे भएर आएकाहरु समेटिएको थियो । तामाकोसीकै सेयरका लागि वर्षौँदेखि भारतका दार्जिलिङ, सिक्किमलगायका सहरहरुमा पलायन भैसकेकाहरु पनि थातथलोमा पहिचान बनाउन आएका थिए ।


विभिन्न ठाउँमा बसोबास गरेर जिल्ला बिर्सिसकेकाहरु पनि तामाकोसीको सेयर किन्नकै लागि सर्भेक्षणमा नाम टिपाउन आए । उक्त कार्यका लागि ५० औँ हजार खर्च गरेर परिवारका सदस्यहरु लिएर आउनेहरुको ताती नै थियो ।

२०६८ को जनगणनाअनुसार दोलखाको जनसंख्या एक लाख ८० हजार थियो । सेयर प्राप्तिका लागि भएका फर्जी प्रयासहरुले जनसंख्या अर्को एक लाख बढ्यो भनेर त्यतिखेर हाँसो र ठट्टाका किस्साहरु एकले अर्कालाई सुनाउने गर्थे ।


बुधबारदेखि तामाकोसीको सेयर दोलखाको स्थानीय तहहरुमा भएका २१ वटा बैंकका शाखाहरुले संकलन गर्दै छन् । बैंक नभएको स्थानहरुमा घुम्ती शिविरमार्फत पनि सेयर आवेदन गरिने पूर्ववत निर्णयलाई पनि कायमै राखिएको छ । आयोजनाले दोलखावासीका लागि एक अर्ब पाँच करोड ९० लाखको आईपीओ जारी गर्दै छ ।


काठमाडौंस्थित हाललाई छ वटा सनराईज बैंकका शाखाहरुबाट पनि सेयर संकलन हुन नेपाल धितोपत्र बोर्डले जनाएको छ । दोलखावाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका संसदको आयोजनामा भएको बैठकमा काठमाडौंस्थित सनराईज बैंकका शाखाहरुबाट पनि तामाकोसीको सेयर आवेदन गर्न सकिने सहमति गरिएको हो ।

बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले काठमाडौबाट दोलखावासीले सेयर आवेदन गर्न पाउने व्यवस्था गर्ने वताएका थिए । त्यसपछि सेयरकै विषयमा भइरहेको विभिन्न आन्दोलनहरु रोकिएका थिए ।


उक्त आयोजनाको सेयर खरिद गर्न डिम्याट खाता पनि आवश्यक नपर्ने व्यवस्था गरिएको छ । बैंकमा परिवारको कुनै एकजनाको खाता भए त्यसैमा सबैको सेयर रकम जम्मा गर्न सकिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘नागरिकलाई सजिलोको सबै उपाय अपनाएका छौँ,’ उनले भने ।


जिल्लावासीलाई प्रभाव मूल्याङ्कका आधारमा तीन वर्गमा वर्गीकरण गरेर सेयर वितरण गर्ने पूर्ववत निर्णय पनि कायमै भएको बैठकमा बताइएको छ । तीनवर्षपछि कारोबारका लागि भने डिम्याट अनिवार्य आवश्यक पर्ने राय धितोपत्र बोर्डले बैठक दिएको छ ।

सेयर आवेदन गर्दा नागरिकता, बालबालिकाको लागि जन्म दर्ता, अन्य जिल्लावाट बिहे भई आएको भए बिहे दर्ता र बसाई सरेको भए २०६४ साल माघ १५ महिनाअघि सरी आएको प्रमाणपत्र आवश्यक पर्छ ।

प्रकाशित : श्रावण १५, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?