१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

‘निकासीमा समस्या हुन्न’

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले दुवै छिमेकी मुलुकमा नेपाली उत्पादनको निकासीमा समस्या नहुने बताएका छन् ।नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले नेपालका लागि भारत र चीन दुवै विशाल बजार भएको बताए ।

‘निकासीमा समस्या हुन्न’

दुवै छिमेकमा भएको विशाल जनसंख्याको उपयुक्त बजार भएकाले निर्यातजन्य वस्तुको उत्पादन गर्न व्यवसायीहरूलाई प्रधानमन्त्री ओलीको आग्रह छ । ‘छिमेकमा विगतमा भएका केही तिक्तता पनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकाले अब नेपालबाट हुने निकासीमा कुनै समस्या हुने छैन,’ उनले भने । व्यवसायी तथा उद्योगीलाई कानुनी र कर्मचारीको अवरोध भए सरकारलाई भन्न आग्रह पनि गरेका छन् ।

नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘विगतमा जस्तो कुनै पनि काम गर्दा चाकडी र थैलीको भूमिका’ नहुने बताए । ‘केही झन्झटहरू भए सरकारले त्यसलाई फुकाउँछ,’ उनले भने, ‘तपाईंहरू पनि इमानदार कारोबार गर्नुहोस् । सरकारले गर्नुपर्ने काम के छन्, ल्याउनुहोस्, छलफल गरौं । सबै मिलेर देश बनाऔं ।’

प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योगमैत्री बनाउने बताएका छन् । ‘हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं । तर, उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि,’ उनले भने, सरकार गठन भएलगत्तै उद्योगी व्यवसायीलाई समेटेर सल्लाहकार समूह गठन गर्ने प्रतिबद्धतालाई पुन: दोहोर्‍याए । उनले समृद्धि प्राप्तिका लागि सुशासन आवश्यक पर्ने बताएका छन् । देशमा ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने भएकाले यो अवसरलाई सदुपयोग गर्नुपर्ने ओलीको भनाइ छ ।

यति ठूलो जनसंख्या काम गर्ने सक्ने अवस्थामा हुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर भएको प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन नेपालको निजी क्षेत्रले पहल गर्नुपर्ने बताए । ‘कतिपयले उद्योग दर्ता गर्ने तर सञ्चालन गर्ने प्रवृत्ति छ,’ उनले भने । परिसंघका अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्रको योगदानलाई सरकारले कमजोर आकलन गर्न नहुने बताए । ‘उत्पादकत्व वृद्धि र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन सरकारसँग माग गर्दछु,’ उनले भने ।

प्रकाशित : असार २४, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?