भेरी–बबईमा २ किमि सुरुङ खनियो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरी–बबईमा २ किमि सुरुङ खनियो

प्रकाश अधिकारी

सुर्खेत — भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । 

भेरी बबई डाइभर्सनको सुरुङ निर्माणमा प्रयोग भइरहेको ‘एअर–फ्लो पाइप’ ।  तस्बिर : प्रकाश/कान्तिपुर

अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मांगद खनालले बताए । मेसिनले कात्तिक मसान्तदेखि सुरुङ खन्न थालेको हो । ‘नेपालमै पहिलोपटक परीक्षणका लागि प्रयोग गरिएकाले पहिले थुपै्र आशंका थिए,’ खनालले भने, ‘अहिलेसम्म कुनै समस्या आएको छैन । माघ मसान्तसम्म हर्रे डाँडामुनि सुरुङ पुगिसक्ने अनुमान गरेका छौं ।’ उनले यही गतिले काम अघि बढे तोकिएकै समयमा सुरुङ खन्ने काम पूरा हुने बताए । सुरुङसम्बन्धी निर्माणका सबै कार्यहरू सन् ०२० मार्चसम्म गरिसक्ने आयोजनाको लक्ष्य छ ।

आयोजनाका भूगर्भविद् अनील खत्रीले दैनिक १८ घण्टा सञ्चालित टीबीएमले प्रतिदिन २० देखि २५ मिटरसम्म सुरुङ खनिरहेको बताए । उनका अनुसार मेसिन सञ्चालनका लागि ८४ जना चिनियाँ प्राविधिक र झन्डै ६ सय नेपाली कामदार चौबिसै घण्टा सुरुङ निर्माणमा खटिएका छन् । सुरुङको लम्बाइ १२ किमि र चौडाइ ५.६ मिटर छ । टीबीएमले सुरुङ खनेसँगै सेग्मेन्टको काम पनि भइरहेको छ । हाल दैनिक ८० सेग्मेन्टको प्रयोग भइरहेको छ । १२ किमि सुरुङका लागि ३६ हजार सेग्मेन्ट आवश्यक पर्छ ।

यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै सुरुङ खन्ने चलन थियो । ‘संवेदनशील भूबनोटका कारण ड्रिलिङ–ब्लास्टिङबाट सुरुङ खन्न असम्भव भएपछि सिँचाइ विभागले टीबीएम खरिदको प्रस्ताव गरेको हो,’ भूर्गभविद् खत्रीले भने, ‘पहिलोपटक प्रयोग भएको मेसिनको सफल परीक्षणले भविष्यमा सरकारले अन्य आयोजनामा पनि प्रयोग गर्न सक्नेछ ।’ अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको यो मेसिन चीनबाट ल्याइएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले गरिरहेको छ । अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरिदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरूप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने सर्त राखेको थियो । सर्तअनुसार उत्पादक कम्पनीले २ सय ५० मिटर लामो मेसिन जडान गरेको हो ।

मेसिनले भेरी र बबई नदीबीचको १२ किमि लामो चुरे पर्वत खन्दै छ । टीबीएमले खनेको माटो ओसार्न मोनो रेल प्रयोग गरिएको छ । सरकारले अन्तर जलाधार जल स्थानान्तरण परियोजनामध्ये यसलाई मुलुककै पहिलो तथा नमुना परियोजनाका रूपमा अघि बढाएको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमुना भनिएको हो ।

सिँचाइ विभाग र कोभेकबीच ०७१ माघमा निर्माण सुरु गरी ०७५ फागुनमा सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता छ । यसअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई १२ किमि लामो सुरुङमार्फत भेरी नदीको प्रतिसेकेन्ड ४० घनमिटर पानीलाई बबईमा मिसाइनेछ । बबईमा मिसाइएको पानीबाट ४८ मेगावाट विद्युत् तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । सुरुङ खन्ने काम सम्पन्न भएपछि विद्युत् गृह निर्माण थालिनेछ ।

स्वदेशी लगानीमा निर्माण हुन लागेको यस आयोजनाको कुल लागत साढे १६ अर्ब रहेको छ । बाह्रै महिना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ अर्ब र विद्युतबाट ४ अर्ब प्रत्यक्ष आम्दानी अनुमान गरिएको छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

उद्योगले नारायणपुरबाट क्लिंकर ल्याउँदै 

नारायणी र शालिमार सिमेन्ट उद्योगको क्लिंकर २ सातायता नारायणपुर स्टेसनमा ल्याएर लोड अनलोड सुरु 
शंंकर आचार्य

पर्सा — भारतीय रेल्वेले रक्सौल स्टेसनबाट क्लिंकर लोड अनलोड बन्द गरेपछि पर्सा–बारा औद्योगिक करिडोरका सिमेन्ट उद्योगले नारायणपुर रेल्वे स्टेसनबाट ढुवानी गरी ल्याउन थालेका छन् । करिडोरका नारायणी र शालिमार सिमेन्ट उद्योगले २ सातायता नारायणपुर स्टेसनमा क्लिंकर ल्याएर लोड अनलोड सुरु गरेका हुन् । 

रक्सौलबाट करिब १ सय ५० किमि टाढा रहेको नारायणपुर स्टेसनदेखि करिडोरस्थित उद्योगसम्म क्लिंकर ल्याउन केही थप खर्च लाग्ने नारायणी उद्योगका प्रबन्ध निर्देशक उमेशचन्द्र ठाकुरले बताए । ‘हामीले समस्या समाधान हुन्छ कि भनी लामो समय प्रतीक्षा गर्‍यौं,’ उनले भने, ‘तर कच्चा पदार्थ अभावमा उद्योग नै बन्द हुने अवस्था आएपछि बाध्य भई टाढाबाट भए पनि क्लिंकर ल्याउँदै छौं ।’ नेपाल सरकारको तदारुकता र संवेदनशीलता नदेखिएपछि यो कदम चालेको ठाकुरले सुनाए ।
ढुवानी व्यवसायी तथा वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले अम्बे, रिलायन्स, एडभान्स, इन्टरनेसनललगायतका उद्योगले पनि नारायणपुरबाटै क्लिंकर ल्याउने गृहकार्य थालिसकेको बताए । केही उद्योगको क्लिंकर नारायणपुरबाट ट्रिपरमा ल्याई रक्सौलमा अनलोड भइरहेको र केहीको उद्योगसम्म पुग्ने गरेको उनले सुनाए । रक्सौलमा क्लिंकर लोड अनलोड बन्द गरिए पनि सिमेन्ट उद्योगका अन्य कच्चा पदार्थ जिप्सम, फ्लाइएस, कोइला आदि भने आइरहेको राजपालले जानकारी दिए । भारतीय रेल्वेले २२ डिसेम्बरदेखि रक्सौलमा क्लिंकर ढुवानी बन्द गरेको हो ।
रक्सौलबासीको विरोध पछि भारतीय रेल्वेले अचानक नेपालतर्फको क्लिंकरको ढुवानी र बुकिङ बन्द गरेको छ । करिडोरका अधिकांश सिमेन्ट उद्योग यसका कच्चा पदार्थहरू क्लिंकर, कोइला, जिप्सम, स्ल्याग, फ्लाइएसलगायतका वस्तु भारतमै निर्भर छन् । भारतको उडिसा, मध्यप्रदेश, आसामलगायतका राज्यबाट यी कच्चा पदार्थ नेपाल ल्याइन्छन् । करिडोरका नेपाल शालिमार सिमेन्टलगायतका केही उद्योगले थोरै परिमाणमा क्लिंकर उत्पादन गरे पनि यसको कच्चा पदार्थ भारतबाटै ल्याउनुपर्ने बाध्यता छ । क्लिंकरकै प्लान्ट राखेर आफूलाई चाहिने क्लिंकर उत्पादन गर्न सिमेन्ट उद्योगले सकेका छैनन् । महाभूकम्पपछिको पुनर्निर्माण तथा ठूला जलविद्युत् आयोजनालगायतको निर्माण कार्य जारी रहँदा मुलुकमा सिमेन्टको आन्तरिक माग अत्यधिक रहेको छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×