२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई सहयोग रकम वितरण 

रासस

विराटनगर — झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम वितरण गरेको छ ।

बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई सहयोग रकम वितरण 

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि बुधबार उक्त रकम वितरण गरेका हुन् ।

अध्यक्ष अधिकारीले विगतदेखि नै शिविरका ज्येष्ठ नागरिक, असहाय र असक्तहरूलाई मासिक रूपमा सो रकम उपलब्ध गराउँदै आएका छन् । शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका यी नागरिकलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो कार्यक्रम विगतका वर्षदेखि निरन्तर रहेको हो । सो फाउण्डेसनले रकम प्राप्त गर्ने ती नागरिकलाई स्थानीय बैंकमा खाता खोलिदिएर सोही बैंक खातामार्फत सो भत्ता उपलब्ध गराउँदै आएको छ ।

बुधबार झापाको बेलडाँगी शिविरमा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष अधिकारीले पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा रहेका आफूहरूले शिविरमा अलपत्र छोडिएकाहरूका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्दै आएको बताए । उहाँले शिविरमा रहेका नेपालीभाषीहरूको स्वदेश फिर्ती, तेस्रो मुलुकको पुनर्वास या नेपालमै नेपाली भई बाँच्ने अवसर प्रदान गर्नेबारेमा गम्भीर रूपले सोचिदिन नेपाल सरकारसँग आग्रह पनि गरे ।

यी दुई शिविरमा छिमेकी मुलुक भुटानबाट अन्यायपूर्वक लखेटिएर नेपालमा जबर्जस्ती शरणार्थी बनाइएका लगभग आठ हजार नेपालीभाषीको बसोबास गर्दछन् । ती शिविरका अशक्त तथा असहायहरूका लागि फाउण्डेसनले ‘डे केयर’को पनि व्यवस्था गरेको छ । त्यसैगरी बालबालिकाका लागि उचित शिक्षादीक्षा उपलब्ध हुन सकोस् भनेर स्थानीय विद्यालयका लागि अङ्ग्रेजी, विज्ञान, गणितजस्ता विषयका २२ जना शिक्षक शिक्षिका उपलब्ध गराएको छ ।

फाउण्डेसनको सहयोगमा पथरी शिविरमा स्वास्थ्य चौकी निर्माण भइरहेको छ भने बेलडाँगी शिविरको स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय शिविर व्यवस्थापन समितिसँगको परामर्श सुरु भएको छ । त्यसैगरी यी दुवै शिविरका लागि एक–एक एम्बुलेन्स उपलब्ध गराउन फाउण्डेसनले नगरपालिकासँग समझदारी गरेर रकम निकासा गरेको छ ।

त्यसक्रममा शिविरका शरणार्थीहरूले परिचयपत्र नवीकरण एवं जन्ममृत्यु र विवाह दर्ताको काम रोकिँदा समस्या भएको गुनासो गरेपछि फाउण्डेसनका अध्यक्ष अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग भेट गरी सो समस्या तत्काल समाधानका लागि आग्रह गरेका थिए ।

प्रकाशित : चैत्र २२, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?