१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८१

'सम्पदा संरक्षणमा युनेस्को र नेपाल सरकार सँगसँगै छन्'

कला, संस्कृति र सम्पदाको विविधताले गर्दा नेपालको सिनेमा क्षेत्रमा धेरै संभावना देखेको छु । फिल्ममा नेपालले धेरै गर्न सक्छ भन्ने लाग्छ । गत वर्ष नै हामीले काठमाडौं महानगरपालिकालाई ‘युनेस्को रचनात्मक फिल्म सिटी’ का रूपमा सूचीकृत पनि गरिसकेका छौं । 

काठमाडौँ — संयुक्त राष्ट्रसंघको एक महफ्वपूर्ण संगठन हो, युनेस्को । यसले यहाँ शिक्षा, विज्ञान, संस्कृति, सञ्चार र सूचनाको क्षेत्रमा काम गर्दै आएको छ । खास गरी शान्ति निर्माण, गरिबी निवारण तथा दिगो विकास र अन्तरसंस्कृतिको संवादलाई समृद्ध बनाउने लक्ष्यसहित यसले यहाँ काम गरिरहेको छ । नेपालमा सन् १९९८ मा युनेस्कोको स्थापना भएको हो ।

'सम्पदा संरक्षणमा युनेस्को र नेपाल सरकार सँगसँगै छन्'

युनेस्कोका प्रतिनिधिका रूपमा माइकल क्रफ्ट विगत तीन वर्षदेखि नेपालमा कार्यरत छन् । क्यानेडियन नागरिक क्रफ्टसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

पहिलो पटक कहिले नेपाल आउनुभयो ? यहाँको भूगोलबारे तपाईंको धारणा ?

सन् २०२१ को अगस्टमा म पहिलो पटक नेपालमा आएको हुँ । कोभिड–१९ का कारण लगाइएको लकडाउन यहाँ केही फुकुलो थियो । म यसअघि चार वर्ष परिवारसहित भियतनाम बसेर नेपाल आएको हुँ । भियतनामबाट नेपाल आएको लगभग तीन वर्ष बितिसकेको छ । मैले भन्नैपर्छ, धेरै चाँडो नेपालका बारेमा विविध विषयमा बुझ्ने मौका पाएँ । किनभने, मलाई नेपालका बारेमा धेरै कुरा थाहा थिएन । अन्य धेरै विदेशीहरूलाई जस्तै मलाई पनि नेपाल भनेपछि हिमालय क्षेत्र हो भन्ने थियो । मलाई थाहा थियो, हिमालहरू छन् । हिमालयको तल काठमाडौं भ्याली छ । तर मलाई यहाँ तराई पनि छ भन्ने थाहा थिएन । यहाँको भूगोलमा छोटो समयमै गर्मी स्थानबाट चिसो क्षेत्रमा पुग्न सकिन्छ भन्ने थाहा थिएन । नेपाल भूगोल र संस्कृतिमा विविधता भएको मुलुक हो ।

तपाईंले नेपालको मौसम कस्तो पाउनुभयो ?

जब हामी भियतनाममा थियौं, त्यहाँ हनोई सहरमा बस्थ्यौं । हनोई सुन्दर सहर थियो । तर प्रस्ट रूपमा भन्दा त्यहाँको मौसम निकै तातो थियो । समरको समयमा मध्य अप्रिलदेखि मध्य नोभेम्बरसम्म एयरकन्डिसन २४ सै घण्टा चालु गर्नुपर्ने हुन्थ्यो । नेपालको मौसम निकै आनन्ददायी छ, विशेष गरी काठमाडौं उपत्यकाको ।

नेपाल बसाइका क्रममा नेपाली खानाको स्वाद पनि लिनुभएको होला । तपाईंलाई मन पर्ने नेपाली खाना ?

नेपाली खाना मसालेदार नभए पनि निकै स्वादिलो लाग्छ । नेपालमा फलफूल र तरकारी ताजा पाइन्छ । जसले गर्दा खानालाई निकै स्वादिलो बनाउँछ । मैले धेरै नेपाली खानाको स्वाद लिएको छु । मैले धेरै जातजातिका खानाको स्वाद लिएको छु । मैले स्वदेशी र नेवारी खाना खाएको छु । सामान्यजस्ता लाग्ने खाना मलाई निकै मन पर्छन् । तराईमा पाइने घोंगी मन पर्छ । नेपालमा जनसंख्या जस्तै खानामा पनि विविधता छ । रोमाञ्चक पक्ष त के छ भने नेपाली खाना समूहमा बसेर खानका लागि बनाइएका जस्ता लाग्छन् । यहाँ मानिसहरू एक्लै खाँदैनन् । मेरा सबै सहकर्मी नेपाली छन् र उनीहरूबाट नेपाली खानाका बारेमा धेरै कुरा बुझ्ने र परख गर्ने अवसर पाएको छु ।


नेपालको भेषभूषा कस्तो लाग्यो ?

जब म नेपाल आएँ, त्यस बेला मलाई हिमालयका बारेमा मात्र थाहा थियो । छोटो समय नेपालमा बसेपछि मैले मेरो साथीलाई भनें, मैले यो स्थानका बारेमा पहिले नै किन थाहा पाइनँ, यो ठाउँ त उत्कृष्ट रहेछ । यो स्थान त हिमालजस्तै सुन्दर रहेछ । साथै, यहाँका जनता पनि उस्तै राम्रा रहेछन् । नेपाल सांस्कृतिक रूपमा विविध रहेछ । सुरुआतमा मलाई कसैले भनेका थिए, हिन्दु–बुद्धिस्ट । मैले सोचे त्यो के हो ? यो कसरी सम्भव भयो ? नेपालमा यस्ता कुरा सम्भव रहेछन् । अन्य स्थानमा यो असम्भव हुन्छ र प्रतिबन्धित पनि हुन्छ । तर नेपालमा यो ठीक छ । यो नेपालको राम्रो पक्ष हो ।

नेपालीहरूसँग बरोबर भेटवार्ता गरिरहनुभएको छ । कस्ता पाउनुभयो ?

नेपाली जनता विविधापूर्ण जीवनशैलीमा रमाउँछन् । नेपाल निकै लोकतान्त्रिक र खुला समाज रहेछ । नेपाली आध्यात्मिक उत्तिकै छन् । साथै, सहनशील क्षमता भएका पनि छन् । उनीहरू प्रकृति र वातावरणसँग झिजेका छन् । यहाँको समुदाय पनि निकै राम्रो छ । युनेस्कोबाट हेर्दा नेपाल धेरै धनी मुलुक हो । सामाजिक विकासको रूपमा हेर्दा नेपाल कम विकसित मुलुक होइन । नेपाल एड्भान्स मुलुक हो । नेपालजस्तो विविधता भएको मुलुक पाउन गाह्रो छ । यो मुलुक शान्त पनि उत्तिकै छ ।

तपाईंले यहाँ धेरै चाडपर्व देख्नुभएको छ । तपाईंलाई मन पर्ने नेपाली चाडपर्व ?

मेरा दुई सन्तान छन् । बेलुकीको समयमा बाहिर घुम्न जानु मेरा लागि कठिन छ । सन्तान हुर्किसकेका भए हामी रात्रिकालीन कार्यक्रममा पनि बढीभन्दा बढी सहभागी हुन्थ्यौं होला । तर बच्चाहरू सानै भएकाले उनीहरूप्रतिको जिम्मेवारीले बेलुकी बाहिर निस्कने समय निकाल्न गाह्रो छ । होलीमा बच्चाहरूलाई लिएर हामी शिवपुरी गएका थियौं । वसन्त ऋतुको सुरुआतका रूपमा पनि होली निकै रमाइलो पर्व लाग्यो । यहाँ धेरै जात्राहरू हुन्छन् । त्यसैले कुन चाडपर्व मन पर्छ भन्न गाह्रो छ । विशेषगरी होलीमा रमाउने गर्छु ।

नेपाली भाषाबारे कत्तिको जानकारी राख्नुभएको छ ?

मलाई नेपाली भाषा बोल्न आउँदैन । नेपालीमा ‘नमस्कार’ र ‘धन्यवाद’सम्म भन्न सक्छु ।

जागिरको व्यस्तता र परिवारको जिम्मेवारीले गर्दा मैले नेपाली भाषा बढ्न पाएको छैन । केही मान्छेले धेरै भाषा सिक्छन् । उनीहरूसँग अद्भुत क्षमता हुन्छ तर म त्यस्तो क्षमता भएको मान्छे होइन । भाषा सिक्ने चाहनाका लागि मसँग थप समय पनि भएन ।

गीत–संगीत कत्तिको सुन्नुहुन्छ ?

रेडियो कान्तिपुर सुन्छु । बिहान जब म आफ्नो छोरीलाई किन्डरगार्डेनमा पढ्न छाड्नका लागि जान्छु, रेडियो कान्तिपुर सुन्छु । मेरो मन पर्ने ‘गीत रेशम फिरिरी...’ हो । मेरो छोरीले पनि त्यही गीत गाउँछिन् । मेरो छोरीले नेपाली गीत गाउनुका साथै नेपाली पनि राम्ररी बोल्छिन् । उनलाई मन पर्ने गीत पनि ‘रेशम फिरिरी...’ नै हो । सवारी चालकसँगै स्वरमा स्वर मिलाएर उनले गीत गाउँछिन् । र, म पनि त्यसलाई पछ्याउँछु ।

नेपाली साहित्य र इतिहासबारे यहाँको धारणा ?

मैले अंग्रेजी भाषामा नेपालको इतिहासका बारेमा केही पढेको छु । आनन्दका साथ पढ्न धेरै समय त छैन । तर केही युवा नेपाली लेखकका किताब पढेको छु । केही नेपाली युवाका लेख निकै राम्रो लाग्छ । साहित्यका बारेमा मलाई धेरै जानकारी छैन तर मैले राजनीतिक इतिहास चाहिँ पढेको छु । उदाहरणका लागि मैले आदित्य अधिकारीको ‘द बुलेट एन्ड द ब्यालेट बक्स’ पढेको छु । कहिलेकाहीं मलाई मानिसहरूले पढ्नका लागि किताब दिन्छन्, जुन मलाई निकै मन पर्छ ।

नेपाली फिल्म कत्तिको हेर्नुहुन्छ ?

मैले नेपाली फिल्म हेरेको छैन । तर, नेपालसम्बन्धी भिडियोहरू भने हेरेको छु । यहाँको कला, संस्कृति र सम्पदाको विविधताले गर्दा नेपालको सिनेमा क्षेत्रमा धेरै संभावना देखेको छु । फिल्ममा नेपालले धेरै गर्न सक्छ भन्ने लाग्छ । गत वर्ष नै हामीले काठमाडौं महानगरपालिकालाई ‘युनेस्को रचनात्मक फिल्म सिटी’ का रूपमा सूचीकृत पनि गरिसकेका छौं ।

नेपालमा कहाँ कहाँ घुम्नुभएको छ ?

म सुदूरपश्चिम र पूर्वी क्षेत्र घुमेको छैन । मुस्ताङ पनि पुगेको छैन । तर लुम्बिनी धेरै पटक गएको छु । चितवन राष्ट्रिय निकुञ्ज पनि धेरै पटक घुमेको छु । यी दुवै क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुन् । डेढ वर्षअघि युनेस्कोको प्रतिनिधित्व गर्दै मैले सगरमाथाको बेस क्याम्पसम्म जाने मौका पाएको थिएँ । त्यो भ्रमण निकै उत्कृष्ट र फलदायी रह्यो । म काठमाडौं उपत्यका वरिपरि पनि घुमेको छु । पोखरा पनि केही पटक पुगेको छु । तर, अझै धेरै ठाउँ घुम्न बाँकी छ ।


नेपाली कला र संस्कृतिबारे यहाँको धारणा ?

जब म यहाँ आएँ, निकै अनौठो लागेको थियो । नेपालका बारेमा धेरै कुरा थाहा थिएन । सांस्कृतिक रूपमा धनी र सम्पन्न मुलुक हो नेपाल । चीन र भारतका तुलनामा सानो छ तर नेपाल सानो मुलुक होइन । जनसंख्या र अर्थतन्त्रका हिसाबमा भारत र चीनभन्दा नेपाल धेरै सानो छ । तर, सांस्कृतिक रूपमा भारत र चीनभन्दा नेपाल सानो छैन । नेपालको संस्कृतिमा निकै शक्तिशाली छ । नेपालीलाई संस्कृतिमा प्रशिक्षण दिन आवश्यक छैन । यसमा नेपाल धेरै राम्रो छ । सांस्कृतिक रूपमा विविधता भएको मुलुक हो । जनताले यहाँको संस्कृतिलाई बडो सुन्दर रूपमा अँगालेका छन् । नेपालको सम्पूर्ण सांस्कृतिक सम्पदाले के देखाउँछ भने नेपाल ऐतिहासिक रूपमा रचनात्मक मुलुक हो । हामी नेपालको सांस्कृतिक सम्पदालाई संरक्षण गर्न चाहन्छौं । यहाँको सम्पदा संरक्षणमा युनेस्को र नेपाल सरकार सँगसँगै छन् । काठमाडौं उपत्यका विश्व सम्पदा सूचीमा परेको उपत्यका हो । नेपालमा हिमाल धेरै राम्रो छ तर नेपालमा हिमालबाहेक पनि अरू धेरै उत्कृष्ट कुरा छन् ।

युनेस्कोले नेपालमा कसरी काम गरिरहेको छ ?

पक्कै पनि हामी नेपाल सरकारसँग नजिक रहेर काम गर्छौं । यो कुनै अनौठो कुरा होइन । संयुक्त राष्ट्रसंघको हामी मात्र यस्तो एजेन्सी हौं, जसको कार्यालय शिक्षा मन्त्रालयमा छ । सरकारसँग हाम्रो निकै नजिकको सम्बन्ध छ । मैले नयाँ शिक्षामन्त्रीलाई भेटिसकेको छु । किनकि, उहाँ नै युनेस्को नेसनल कमिसनकी प्रमुख हुन् । युनेस्कोका लागि यो काम गर्ने भन्ने होइन । उदाहरणका लागि शिक्षा, विज्ञान, कला, संस्कृति र मिडियासम्बन्धी सूचनामा काम गर्नेभन्दा पनि मुख्य गरी ती क्षेत्रमा पहुँच पुर्‍याउनका लागि मैले भूमिका निर्वाह गर्ने हो । युनेस्कोको काम गर्ने शैली फरक छ । युनेस्कोले उत्प्रेरकको भूमिका खेल्छ । हामी नेपाल सरकार, यहाँको निजी क्षेत्र र नागरिक समाजलाई समेटेर अघि बढिरहेका छौं । हामीले यी तीन क्षेत्रमा उत्प्रेरकको भूमिका खेलेर प्रभाव पार्‍यौं भने त्यो नै हाम्रो महत्त्वपूर्ण काम हुनेछ । हामीले सम्बन्धित स्थानीय तहका प्रमुखलाई त्यहाँको सांस्कृतिक पक्षका बारेमा भनिदिने हो । तर, स्थानीय तह भवन निर्माण, फोहोर व्यवस्थापन र अन्य काममा लाग्छन् । जसले गर्दा कला र संस्कृतिका काम ओझेलमा परेका छन् । हामीले ओझेलमा परेका कला र संस्कृतिलाई उजागर गरिदिन भूमिका खेल्ने हो ।


प्रकाशित : चैत्र २४, २०८० ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?