१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

‘नेपाल हिरो जन्माउने देश हो’

नेपाल र बेलायतबीच सन् १९२३ को ‘ट्रिटी अफ फ्रेन्डसिप’ भएको सय वर्ष पूरा भएको छ । सन्धि हस्ताक्षरको एक शताब्दी पुगेको अवसरलाई बेलायती राजदूत रब फेनले धुमधामका साथ मनाउने घोषणा गरेका छन् । त्यसका साथै, उनले सिंहदरबारस्थित बेलायती बैठक हलमा पुगेर सन्धि हस्ताक्षर गरेकै स्थानमा आयोजित कार्यक्रममा पनि सहभागिता जनाइसकेका छन् ।

‘नेपाल हिरो जन्माउने देश हो’

कार्यक्रममा राजदूत फेनले नेपाली भाषामै दुई मुलुकको सम्बन्धबारे भाषण गरेर सबैको ध्यानाकर्षण पनि गरे । नेपाली भाषा बोल्न सक्ने र अध्ययन गरिरहेका राजदूत फेनसँग नेपाल, नेपाली परिवेश, गीतसंगीतलगायत विषयमा कान्तिपुरका जगदीश्वर पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईं नेपाल कहिले आउनुभयो र नेपाल कस्तो लाग्यो ?

गत जुलाईमा मेरो परिवारसहित म पहिलो पटक नेपाल आएको हुँ । त्यो बेला मध्य वर्षायाम थियो । तर हामी काठमाडौं उपत्यका बाहिर जान चाहन्थ्यौं । र, हामी गाडीमा गोरखा, पोखरा र चितवन पुग्यौं । सडकहरू साँच्चै गज्जब र अनौठा रहेछन् । तर त्यस बेला यात्रा गर्दा नेपाली जनताकै रूपमा अनुभव गर्न पाउँदा राम्रो रह्यो । नेपाल भूगोलका रूपमा धनी छ । नेपाल बेलायत जत्रै छ । तर यहाँको भूगोलमा विविधता छ ।

कामका क्रममा तपाईंले नेपालीलाई भेट्नुभयो, नेपालीहरू कस्तो लाग्यो ?

नेपालीहरूको व्यवहार धेरै मित्रवत् छ । उनीहरू पाहुनालाई धेरै आदर र माया गर्छन् । यही बुधबार बिहान मैले नेपालका साँच्चै हिरो हरि मगरसँग ब्रेकफास्ट खाएँ । दुवै खुट्टाबिना उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नुभयो । म उहाँबाट धेरै प्रभावित भएँ । उहाँ अझै हरेक महादेशका अग्ला हिमाल चढ्ने योजनामा हुनुहुँदो रहेछ । त्यसपछि उहाँ उत्तरी ध्रुवबाट दक्षिण ध्रुवतिर यात्रा गर्ने योजनामा हुनुहुँदो रहेछ । जसले गर्दा उहाँले यो हिन्दुकुश हिमालयमा ‘थ्रर्डपोल’ लाई चासोमा ल्याउनु हुनेछ । नेपालले हरेक दिनजस्तो उहाँजस्ता हिरोलाई उत्पादन गर्छ, यो उत्कृष्ट हो । नेपालले विभिन्न असहज परिस्थितिमा पनि हिरोहरू उत्पादन गरिरहेको छ ।

तपाईंले नेपालको हावापानी कस्तो पाउनुभयो ?

यहाँको सुरुवात वर्षायाममा भिजेर भयो । त्यसपछि हामीले फरक मौसम पार गरिरहेका छौं । मेरो अघिल्लो जिम्मेवारी इन्डोनेसियाको जाकर्तामा थियो । त्यहाँ फरक मौसम थिएनन् । जाकर्तामा तातो र भिज्ने मौसम मात्र थियो । त्यहाँको मौसममा तातो र आद्रता हुन्थ्यो । नेपालमा भने फरक छ । नेपालमा फरक–फरक मौसम छन् । र, मलाई यो मन पर्छ । वर्षायाम थियो, त्यसपछि तातो भयो र अहिले चिसो छ, फेरि मौसम परिवर्तनको चरणमा छ । ‘स्प्रिङ’ मा मैले यहाँको वातावरणमा आफ्नै घरको जस्तो महसुस गर्छु ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ?

(नेपाली भाषामा जवाफ) म नेपाली भाषा सिक्दै छु । मेरो विचारमा नेपाली भाषा निकै महत्त्वपूर्ण छ । मैले दुई वटा परीक्षा दिइसकेको छु । नेपाली भाषा सिक्न कोसिस गर्नेछु । तर परीक्षाको नतिजा भने अहिले आइसकेको छैन ।

त्यसो भए तपाईंलाई नेपालीमा अरू के–के भन्न आउँछ ?

(नेपाली भाषा जवाफ) मेरो नाम रब हो । म बेलायती राजदूत हुँ । म नेपालमा धेरै खुसी छु । नेपाल धेरै सुन्दर देखिन्छ । म बेलायती राजदूतका रूपमा धेरै खुसी छु ।

तपाईंले नेपाली खानाको स्वाद लिनुभएको छ र तपाईंले मन पर्ने कुनै नेपाली खाना छ ?

मलाई मःम मन पर्छ चाहिँ भन्दिनँ । किनकि सबैले मःम मन पर्छ भन्छन् । तर मलाई मःम मन पर्छ । मंगलबार बेलुकी मैले स्वादिलो मटन करी खाएँ, जुन उत्कृष्ट नै थियो । मैले नेवारी खानाको स्वाद लिएको छु । म सम्झन्छु, क्रिसमस समयमा हामी कीर्तिपुरमा रहेको स्तूपामा गएका थियौं र नेवारी खाना खाएका थियौं ।

तपाईंले दालभात खानुभएको छ ?

(नेपाली भाषामा जवाफ) म हरेक दिन दालभात खान्छु । मलाई धेरै दालभात मन पर्छ । दालभात एकदम मीठो छ ।

तपाईंले नेपालको चाडपर्व मनाउनुभएको छ ? तपाईंलाई मन पर्ने चाडपर्वचाहिँ कुन हो ?

म अझै एक वर्ष पूरा नेपालमा बसिसकेको त छैन । नेपालमा धेरै चाडपर्व छन् । केही चाडपर्व सकिए भने केही अझै आउन बाँकी नै छ । र, म कुमारी जात्रामा गएर त्यसको अवलोकन गरेको छु । मैले तिहार पनि मनाएँ । मैले भन्नै पर्दाचाहिँ मलाई मन परेको नेपाली चाडपर्व दसैं हो । दसैंमा अत्यन्तै उत्कृष्ट अनुभव रह्यो । दूतावासभित्र र बाहिर हामीले दूतावासका परिवारलाई दसैं पार्टी गर्‍यौं । त्यहाँ नाचगान भयो । धेरै रमाइलो भयो । साथमा आध्यामिक रूपमा पनि रह्यो । धेरै नेपालीहरू आआफ्नो घरमा जाने र मिलेर चाड मनाउने कारणले गर्दा मलाई निकै मन पर्‍यो ।

तपाईंले नेपाली संगीत सुन्नुभएको छ ?

म नेपाली संगीत सुन्छु । मलाई नेपाली संगीतप्रतिको ध्यानाकर्षण गर्ने काम ‘हेर्ने कथा’ ले गरेको हो । जुन म हेर्छु र आफ्नो नेपाली भाषालाई सुधार गर्ने काम गरिरहेको छु । ‘हेर्ने कथा’ निर्माण गर्नेहरूले त्यस्तो ट्रिक प्रयोग गरेको देखिन्छ कि उनीहरूले जनतालाई फिल्मभित्र प्रयोग गरेर संगीतका साधनहरू भर्छन् । जसमा गाउँ र अन्य स्थानमा जनताले स्थानीय साधनको प्रयोग गरी गीत गाउने र संगीत बनाउने गरेको देखिन्छ । र, यसले एकदम स्पेसल डकुमेन्ट्री निर्माण गर्छ । म स्पष्टसँग भन्न चाहन्छु, यो देशमा धेरै जनता संगीतलाई मन पराउँछन् ।

नेपाली साहित्यबारे तपाईंको धारणा के छ ? तपाईंले कुनै नेपाली साहित्य पढ्नुभएको छ ?

मलाई नेपाली साहित्यबारे जानकारी छ । मसँगै भएको एउटा किताब हाम्रा दूतावासकै साथी सुमित समीरले लेखेका छन् । यो किताबको नाम हो, ‘वेक अप अली... वेक अप नाओ’ । यो वास्ताविक साहित्य हो । मैले यो किताब पढेर त पूरा गरिसकेको छैन । तर, त्यो साँच्चै उत्कृष्ट छ । त्यस्तो प्रतिभा आफ्नै टिममा पाउनु राम्रो हो । मैले अझै नेपाली साहित्यबारे जान्नुपर्छ । यो अनुवाद गरिएको हो । एक दिन म आफैं नेपालीमा पढ्छु ।

तपाईंले नेपाली फिल्म हेर्नुभएको छ ?

गत साता मैले ‘गोर्खा वारियर’ फिल्म हेरेको थिएँ । यो नेपालीले नेपाली लेजेन्डबारे बनाएको फिल्म हो । फिल्ममा मलायमा भएको युद्धबारे कथा थियो । जहाँ नेपाली गोर्खाहरूले उत्कृष्ट बहादुरताको प्रस्तुति दिएका थिए । र, त्यो राम्रो फिल्म थियो । नेपालीमा नभएको कारणले गर्दा मैले सबै कुरा बुझ्न त सकिनँ । तर म फेरि आफ्नो छोरासँग गएर उक्त फिल्म हेर्न चाहन्छु ।

तपाईंले अहिलेसम्म नेपालका कुन–कुन ठाउँ घुम्नुभयो ? मन पर्ने स्थान कुन हो ?

म सकेसम्म बढीभन्दा बढी स्थानमा जान चाहन्छु । हाम्रो दूतावासमा विकास सहकार्य कामअन्तर्गत तीन प्रदेशहरू मुख्य प्राथमिकतामा छन् । म मधेसदेखि लुम्बिनी र कर्णाली प्रदेश गएको छु । जनकपुर भ्रमण उत्कृष्ट रह्यो । आफ्नो श्रीमतीसँग म फेरि त्यहाँ जानुपर्ने हुन्छ । म आफ्नो वैवाहिक सम्बन्धलाई त्यहाँ पुगेर फेरि बलियो बनाउन चाहन्छु । जनकपुर राजकुमारी सीताको घर हो । बुद्धको जन्मथलो लुम्बिनीमा जाँदा निकै आनन्द महसुस भयो । यो नयाँ वर्ष सन् २०२४ मा परिवारसँग म चितवन गएँ । वन्यजन्तु संरक्षणमा नेपालको सफल कथाहरू देखें । त्यहाँ गैंडा, बाघहरू र नदीमा डलफिन देख्दा म निकै आश्चर्यमा परें । पाका हात्तीहरू निकै शालीन थिए । कर्णालीमा म विकासमन्त्री एन्ड्र्यु मिचेलसँग गएको थिएँ । हामी नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा त्यहाँ पुगेका थियौं । त्यहाँको सिँचाइ परियोजनाको अवलोकन गर्‍यौं । र, कर्णालीजस्तो प्रदेशलाई कसरी भूबनोटको आधारमा चुनौती छ भन्ने देख्यौं । हामीसँग जोडिएका समुदायहरूमा सडक सुविधाबाट टाढाका थिए । मेरो मन पर्ने स्थान जुन अहिलेसम्म गएको छैन, त्यो हो मुस्ताङ । मुस्ताङ जाने मेरो सपना हो । त्यहाँ म पस्मिना उत्पादन हेर्न चाहन्छु । पस्मिनाको साडी, च्यांग्रा कहाँबाट आउँछन्, हेर्न चाहन्छु । साथै, ती च्यांग्राहरूबाट आफैंले कोरेर भुत्ला बाहिर निकाल्न चाहन्छु । किनकि बेलायतले नेपालसँग च्यांग्राबाट पस्मिना निर्माण गर्नका लागि सहयोग गरिरहेको छ । त्यसको स्लोगन छ, ‘पाम टु फेसन ।’ हामी नेपाली व्यापारबाट च्यांग्रा, पस्मिना उत्पादनहरू निर्यात गरेको हेर्न चाहन्छौं । ती शतप्रतिशत पस्मिना हुन्, जुन अरूभन्दा फरक हुन् ।

नेपाललाई कला र संस्कृतिको धनी मुलुक मानिन्छ, यसबारे तपाईंको धारणा के छ ?

मैले यहाँ धेरै उत्कृष्ट कला देखेको छु । काठमाडौं उपत्यका आफैंमा एउटा सभ्यता हो । पत्याउनै नसक्ने कला छ । युरोपमा जस्तै यहाँका धेरै कलाहरू पनि धर्मबाट प्रेरित छन् । हिन्दु र बुद्ध धर्म नमान्ने म जस्ताका लागि कला बुझ्नका लागि कठिनाइ हुन्छ । तर कलाहरू आकर्षित छन् । मलाई लेखिएका, कुँदिएका बुट्टाहरू मन पर्छन् । उदाहरणका लागि नेपालमा भूकम्प गए पनि फेरि पुनर्निर्माण भयो । आधुनिक कलाका लागि आर्ट काउन्सिलले धेरै प्रभावकारी र व्यावसायिक रूपमा काम गरेको छ । कलामाथि अध्ययन र अनुसन्धान पनि गर्छ । साथै, नेपाली घरहरूमा धेरै उत्कृष्ट कला देखेको छु । उनीहरू कलासँगै बाँचेका छन् । मैले यति धेरै अन्य मुलुकमा देखेको छैन ।

नेपाल र बेलायतबीच सन् १९२३ मा भएको 'ट्रिटी अफ फ्रेन्डसिप’ को सय वर्ष पुगेको छ । यसबारे तपाईंको धारणा के छ ?

बेलायती राजदूतका रूपमा सन् २०२३ मा नेपालमा आउनुको एउटा उत्कृष्ट कुरा भनेको नेपाल र बेलायतबीचको मित्रता सन्धिको एक सय वर्ष भयो । सय वर्षअघि नै हामीबीचमा सहकार्यका लागि सन्धि भएको थियो । त्यो ‘युनिक’ सन्धि थियो । सन्धिले दुई मुलुकबीचको मित्रतालाई संस्थागत गर्ने काम गर्‍यो । मलाई लाग्छ, उक्त सन्धि गर्नु नेपालका लागि उपयोगी थियो । बेलायत र नेपाललाई थाहा भएको कुरा सन्धिमार्फत संसारलाई जानकारी दिइयो, त्यो हो नेपाल सार्वभौम देश हो । नेपाल कहिले पनि उपनिवेशमा रहेन र कसैले पनि यहाँ शासन गरेनन् । नेपाल आफैंमा हो । त्यो कुरालाई मनाउन पाउनु उत्कृष्ट कुरा हो । यो सरकारी तह र जनता–जनताबीचमा मनाइनेछ । सिंहदरबारस्थित बेलायती बैठकमा भएको कार्यक्रममा हामी हाम्रा पूर्वजहरूजस्तै गरी सय वर्षअघि सन्धिमा हस्ताक्षर गर्दाको झल्को दिने गरी बसेका थियौं । मैले नेपालीमै भाषण गर्ने कोसिस गरें । नेपाली पक्षबाट परराष्ट्रमन्त्रीले भाषण गर्नुभयो । सन्धिका कारण दुवै मुलुकले फाइदा लिए । जहाँबाट जनस्तरमा पनि राम्रो सम्बन्ध स्थापित भयो । सन्धिलाई लगातार रूपमा मनाउन चाहन्छौं । यो वर्षको डिसेम्बर २४ सम्म यो सन्धिको उपलब्धिलाई मनाउने छौं । ब्रिटिस काउन्सिलले बेलायतमा नेपालबारे प्रदर्शनी गर्दै छ । त्यसपछि हाम्रो रणनीतिक संवाद हुन्छ । हाम्रो मित्रतामा भविष्यमा धेरै कार्यक्रम देख्न पाइनेछ ।

प्रकाशित : फाल्गुन १९, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?