कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
अन्तर्वार्ता

‘भारतसँग विधायिका तहमा सम्बन्ध विकास गर्दैछौं'  

नयाँदिल्ली — प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका ८ जना सांसदहरु यतिबेला भारत भ्रमणमा छन् । उक्त टोलीले नयाँ दिल्लीमा लोकसभाका अध्यक्ष, विदशेमन्त्री, विदेश राज्यमन्त्री, पर्यटन राज्यमन्त्रीसहित लोकसभाका सांसदहरुलाई भेटेका छन् ।

‘भारतसँग विधायिका तहमा सम्बन्ध विकास गर्दैछौं'  

दिल्लीको राजनीतिक भेटघाटको व्यस्ततापछि शुक्रबार सांसदहरु गोवा प्रस्थान गरेका छन् । त्यसपछि महाराष्ट्र र उत्तरप्रदेश राज्यको पनि भ्रमण गर्दैछन् । लोकसभाको समितिको औपचारिक निमन्त्रणामा धेरै वर्षपछि नेपाली सांसदहरु भारत आएका हुन् । नेपाली प्रतिनिधिमण्डलका नेता समिति सभापति राजकिशोर यादवसँग भ्रमणको विषयमा केन्द्रित रहेर कान्तिपुरको दिल्ली ब्यूरो प्रमुख राजेश मिश्रले गरेको कुराकानी :

भारत भ्रमण किन र के उद्देश्यले आउनुभयो ?

भारतको लोकसभामा रहेको इन्टरनेसनल स्ट्यान्डिङ कमिटीको निमन्त्रणमा हामी यहाँ आएका हौं । भ्रमणको उद्देश्य दुईटा हो । एउटा भारतको संसदीय कार्यप्रणाली बुझ्ने । दुईतिरकै अभ्यास र अनुभव आदान प्रदान गर्ने । अर्को, दुई देशबीच संसदीय सम्बन्ध र संलग्नतालाई बढाउने हो ।

दुई देशबीच जनस्तरको सम्बन्ध छ । त्यस्तै, सम्बन्धलाई सरकार–सरकारबीचमा मात्रै सिमित नराखेर त्यसलाई दुईतिरको संसद्बीच पनि बढाउनुपर्छ भन्ने उद्देश्यले नै भ्रमण भएको हो । संसद्बीच विकसित हुने सम्बन्धले भोलिका दिनमा नेपालीको सरोकार भएका विषयहरु यहाँको संसद्‌मा पनि उठ्नलाई सहयोग पुग्ने छ । त्यसले नेपालीको मुद्दा सम्बोधन गर्न यताको सरकारलाई पनि थप जिम्मेवार बनाउँछ ।

भ्रमण टोलीमा हामी १२ जना छौं । त्यसमा विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने ८ जना सांसदहरु हुनुहुन्छ । बाँकी चार जना कर्मचारी तहबाट सहभागिता छ ।

भ्रमण कस्तो हुँदैछ, को-को सँग भेटघाट भयो तपाईंहरुको ?

३० जनवरीमा यहाँ आएको हो । आएपछिको पहिलो भेटघाट र अन्तर्क्रिया दिल्लीस्थित नेपाली दूतावासमा भयो । नेपाली राजदूत शंकरप्रसाद शर्मा र त्यहाँका कर्मचारीहरुसँग दुई पक्षीय विषयहरु के हुनसक्छ ? ती विषयहरुमा छलफल गर्यौं । दोस्रो दिन लोकसभाका अध्यक्ष ओम बिड्लासँग भेटघाट भयो । साथै, इन्टरेनसनल स्ट्यान्ङि कमिटिका अध्यक्ष पीआर चौधरी र अन्य सदस्यहरुसँग लामो अन्तर्क्रिया भएको छ ।

तेस्रो दिन आगरा भ्रमणपछि साँझ दिल्लीको हैदरावाद हाउसमा विदेश राज्यमन्त्री भी.मुरलीधरनले दिएको रात्री भोजमा उनीसँग भेटघाट र कुराकानीको मौका प्राप्त भयो । चौथो दिन राजनीतिक भेटघाटका लागि महत्वपूर्ण रह्यो । भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटघाट भएको छ । त्यसबाहेक पर्यटन राज्यमन्त्रीसँग पनि भेटघाट गरेका छौं । अब दिल्लीको भ्रमण टुंगिएको छ । हामी गोवा प्रस्थान गर्दैछौं । त्यसपछि मुम्बई र त्यहाँ लखनऊ भ्रमणपछि सडक मार्गबाट ७ फरवरीमा नेपाल फर्किने कार्यक्रम छ।

विदेशमन्त्री एस.जयशंकरसँग के कुराकानी भयो ?

दुई देशको सम्बन्धलाई दिल्ली र काठमाडौंको सम्बन्धको एउटै कोणबाट हेरिनु हुँदैन । हामीबीच पौराणिककाल देखिकै सम्बन्धको विरासत छ । हामी नजिकको छिमेकी मात्रै होइन । कुटुम्ब पनि हौं । हामीबीचको सम्बन्ध त्रेतायुग देखिको छ । त्यो महत्वका साथ एकले अर्कालाई हेर्नुपर्ने कुरा राखेका छौं ।

भारत दुनियाँकै पाँचौ ठूलो अर्थतन्त्र भएको देश भएको छ । त्यसमा तीब्र गतिले प्रगति हुँदैछ । त्यसका लागि बधाई दिएका छौं । छिट्टै तेस्रो अर्थतन्त्र भएको देशमा उक्लिने प्रयासरत छ । शक्तिशाली मुलुकको पहिचान बनाउँदैछ । भरातको ‘र्‍यापिड ग्रोइङ इकोनोमी’ बाट नेपालले पनि लाभ पाउनुपर्छ । नेपालले लाभ लिन चाहेको छ । नेपालीहरुको जेन्यून र भ्यालिड ईश्यूहरुलाई भारतले उच्च प्राथमिकतामा दिएर सम्बोधन गर्नु पर्छ भन्ने पनि राख्यौं ।

दुई पक्षीय महत्वका राष्ट्रियस्तरका मुद्दाहरु सरकार तहमा छलफल भएर छिट्टै टुंगियोस् । ठूलो देश भएका नाताले त्यसका लागि भारतको पहलकदमीका लागि आग्रह गरेका छौं । त्यसबाहेक जनस्तरका कुराहरु पनि उठाएका छौं । नेपाली नागरिकले भारतमा मोबाईलको सीम कार्ड नपाउने, अस्पताल वा शैक्षिक संस्थामा अतिरिक्त शुल्क तिर्नुपर्ने, अझ डलरमा शुल्क बुझाउनुपर्ने कतिपय प्रावधानले नेपालीलाई समस्या परेको अवगत गराएका छौं । एम्समा अध्ययनरत नपाली चिकित्सकले ‘स्टाईफेन’ नपाएको कुरा पनि उठाएका छौं ।

१९५० को सन्धी अनुसार नेपालीले भारतीय नागरिकसरह नै स्वास्थ्य उपचार वा शिक्षा क्षेत्रमा सुविधा पाउनुपर्छ भन्ने हामीले भनेका छौं । सार्कको श्रेणी वा विदेशी सरह व्यवहार गरेर डलरमा पेमेन्ट गर्नुपर्ने स्थिति नेपालीलाई रहनु हुँदैन भन्ने तर्फ ध्यानाकर्षण गरायौं ।

विदेशमन्त्री एस.जयशंकरको प्रतिक्रिया कस्तो रह्यो ?

बडो सौहार्द्ध ढंगले कुराहरुलाई लिनु भएको पाए । हामी हरेक ढंगले नेपाललाई सहयोग गर्न तत्पर रहेको उहाँको भनाई थियो । प्रधामन्त्री नरेन्द्र मोदी र भारत सरकारले नेपाललाई उच्च प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो । नेपालले भारतमा १० हजार मेगावाट बिजुली बेच्ने सहमतिलाई ‘गेम चेन्जर’ भन्दै उहाँले त्यसले नेपालको विकासमा ठूला टेवा पुर्‍याउने उल्लेख गर्नु भयो । उहाँले आपसी भावको सम्बन्धलाई कायम राख्न दुई देशबीच देखिने कुनै पनि विषयलाई बसरे आपसी छलफल र सम्वादबाटै टुंग्याउनेमा जोड दिनु भएको छ । नेपाललाई कुनै विषयले पीडा हुँदा वा दुख्दा भारतलाई पनि उत्तिकै दुख्ने गरेको उहाँको भनाई थियो ।

अनि संसद्‌मा लोकसभाका अध्यक्ष र अन्यसँग कस्तो कुराकानी भयो ?

लोकसभाका अध्यक्ष(स्पिकर) ओम बिड्लाजीसँग नेपाल र भारतबीच ऐतिहासिक सदियौं देखिको सम्बन्ध छ,त्यो सम्बन्धलाई आजको २१ औं शताब्दीमा अझै कसरी परिणाममुखी र जनतस्तरमा बढाउन सकिन्छ त्यसका लागि दुई तिरको विधायिकाले कसरी भूमिका खेल्न सक्छ, त्यस विषयमा कुराकानी भएको छ । संसद्‌मा जतिलाई भेट्यौं सबैको एउटै धारणा थियो– नेपालसँगको सम्बन्धलाई सधै सुमधुर राख्न चाहन्छौं ।

बिड्लाजीले त, नेपाललाई केही कुरा लागेको छ केहीमा असन्तुष्टि छ भने त्यसलाई भारतले करेक्सन गरेर जानुपर्ने धारणा राख्नुभयो । नराम्रो इन्टेन्सन त्यस्तो केही होइन भन्ने उहाँको कुरा थियो । तपाईंहरुलाई दुख्दा हामीलाई पनि उत्तिकै पीडा हुन्छ भन्ने खालको उहाँको भनाई थियो ।

हाम्रो डेलिगेसनले यहाँको पार्लियामेन्टले कसरी काम गर्छ भन्ने विषयमा बुझ्ने प्रयास गर्यौं । यहाँको अभ्यासबाट नेपालले कसरी लाभ लिने भन्ने कुरा रह्यो । अर्कोतिर समावेशीताको सवालमा नेपालको संविधानले लिएको कदम भारतका लागि अध्ययनको विषय रहेको उहाँको कुरा थियो । यो प्रकारको इन्गेज्मेन्टलाई बढाएर दुई देशबीचको पार्लियामेन्टको सम्बन्धलाई थप घनिभूत बनाउनुपर्छ भन्ने उहाँको मान्यता देखियो ।

उहाँले हरेक प्रकारले नेपाललाई सँगै लैजान र नेपालको जेन्यून कन्सर्नहरुलाई सम्बोधन गर्ने मामिलामा आफूहरू एक कदम अगाडि बढेर काम गर्ने उहाँको भनाई थियो । संसद्को दुईवटै हाउस, पुस्तकालय र संसद्लाई कसरी सुविधा दिइएको रहेछ लगातका कुराहरु हेर्यौं । पुरै पार्लियामेन्टलाई पेपर लेस बनाइएको रहेछ । अर्को, सबै मेम्बर बस्ने सिट पनि फिक्स रहेको देखियो ।

त्यस्तै, इन्टरनेसनल स्ट्यान्डिङ कमिटीका सदस्यहरुसँग समितिको बैठक, निर्णयको प्रक्रिया लगायतका विषयमा जानकारी लियौं । हामीले आफ्नो प्रचलन पनि सुनायौं । स्पिकर देखि सांसदहरुमा एउटा भाव के पाए भने– नेपालसँगको सम्बन्ध विशेष छ । त्यसैले त्यो सम्बन्धमा तलमाथि हुनुहुँदैन । त्यसका लागि हाम्रो तर्फबाट के-के गर्नुपर्छ, त्यसका लागि तयार छौं । नेपाल र नेपालीलाई औधी माया र सम्मान गर्छौं भन्ने उहाँहरुको भाव पाए । दुई देशको सम्बन्धलाई अझ मजबुत, जीवन्त र परिणाममुखी कसरी बनाउने सेरोफेरोमै छलफलहरु केन्द्रित भएका छन् ।

भारतका पर्यटन राज्यमन्त्रीलाई पनि भेट्नु भएको रहेछ । उहाँसँग के कुरा भयो ?

पर्यटन राज्यमन्त्री श्रीपद यसो नायकसँग नेपालमा पर्यटनको सम्भावनाका सन्दर्भमा छलफल भएको छ । भारतीय पर्यटकलाई नेपालजान प्रेरित गर्न आग्रह गरेका छौं । उहाँसँगको भेटमा नेपालले माग्दै आएको एयर रुटको कुरा पनि उठाएका छौं । भारत हुँदै नेपाल प्रवेश गर्ने थप एयर रुट नहुँदा नेपालले पाइरहेका कठिनाई बारे अवगत गराएका छौं ।

दिल्ली बाहिरपनि तपाईंहरुको राजनीतिक र अन्य भेटघाट निर्धारित देखिन्छ । त्यताका एजेन्डा के छन् ?

गोवा, महाराष्ट्र र उत्तर प्रदेश सरकारका मुख्यमन्त्रीहरुसँग भेट्ने कुरा छ । प्रदेशहरुमा शक्तिको बाँडफाँड कसरी भएको छ । केन्द्रसँगको वा स्थानीय निकायसँगको समन्वय कसरी छ । त्यस विषयहरुमा कुराकानी हुनेछ । गोवाको पर्यटन कसरी व्यवस्थित छ, त्योपनि अध्ययनको मौका हुनेछ ।

महाराष्ट्रमा विजनेस कम्युनिटीसँग पनि भेट हुनेछ । नेपालमा इन्भेस्टमेन्ट समिट हुँदैछ । नेपालमा आउनुस भन्ने आग्रह रहनेछ । भारतीय पर्यटकलाई नेपाल ल्याउने विषयका कुराकानी पनि हुनेछन् । अयोध्या आउने पर्यटकको थोरै हिस्सापनि जनकपुर कसरी पुर्‍याउने त्यस विषयमा पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुराकानीको अपेक्षा राखेका छौं ।

प्रकाशित : माघ १९, २०८० १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×