कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

'नेपालको रक ब्यान्ड १९७४ एडीका संगीत आनन्दमयी लाग्छन्'

काठमाडौँ — नेपाल र अस्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध दिन प्रतिदिन घनिष्ठ बन्दै गइरहेको छ । पछिल्लो आँकडाअनुसार अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या १ लाख ३० हजारभन्दा बढी पुगिसकेको छ ।

'नेपालको रक ब्यान्ड १९७४ एडीका संगीत आनन्दमयी लाग्छन्'

नेपालीको बलियो ‘डायस्पोरा’ मध्येको एक अस्ट्रेलियाको नेपालस्थित राजदूतमा फेलिसिटी भोल्क रहेकी छन् । आख्यानकारसमेत रहेकी राजदूत भोल्कले विगत तीन वर्षदेखि दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउने काम गरिरहेकी छन् । उनै राजदूत भोल्कसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलो पटक कहिले नेपाल आउनुभयो ? यहाँको भौगोलिक अवस्था कस्तो लाग्छ ?

म अस्ट्रेलियाको राजदूतका रूपमा कोभिड–१९ कै दौरान २०२१ जनवरीमा नेपाल आएकी हुँ । तर, त्यो मेरो पहिलो भ्रमण भने थिएन । म पहिलो पटक नेपाल सन् १९८६ मा आएकी थिएँ । त्यस बेला म एक युवा पर्यटकका रूपमा विश्वविद्यालय अध्ययनका क्रममा आएकी हुँ । धेरै विदेशीजस्तै नेपाल र यहाँका मानिसको मायामा म पनि परें । त्यसैले कूटनीतिक रूपमा जिम्मेवारी सम्हाल्न आउनुअघि नै व्यक्तिगत रूपमा मैले तीन पटक नेपाल भ्रमण गरेर फर्किसकेकी थिएँ ।

नेपालको आन्तरिक भूगोल गज्जबकै छ । यहाँ सबैका लागि केही न केही छ । हिउँले ढाकिएको हिमालयको विशेष महिमा छ । पहाडहरूमा पैदल यात्रा गर्न सकिन्छ । न्याना मैदानहरूमा सफारी र तीर्थयात्राहरू गर्न सकिन्छ । क्षेत्रीय भूगोलको अवस्था हेर्दा नेपाल विभिन्न विशेषतासहित दुई ठूला शक्ति राष्ट्र (भारत र चीन) सँग भूपरिवेष्टित र भूजडित अवस्थामा छ । नेपाल भूरणनीतिक मामिलामा रुचि राख्नेहरूका लागि पनि निकै आकर्षक छ । नेपालको अन्तरिक र बाह्य भूगोलले अवसर र चुनौती दुवैलाई आकार दिन्छ ।

नेपालमा काम गर्दा तपाईंले धेरै मानिससँग भेटघाट गर्नुभयो । त्यस दौरान नेपालीलाई कस्तो पाउनुभयो ?

सन् २०२१ को जनगणनाअनुसार नेपालमा १ सय ४० भन्दा बढी जातिको प्रतिनिधित्व छ र यहाँ १ सय २० भन्दा बढी भाषा नै बोल्ने मानिस बस्छन् । नेपालको जस्तो जनसंख्याको विविधिता मैले सायद अर्को देशमा अनुभव गरेकी भनेको आफ्नै मुलुक अस्ट्रेलियामा मात्रै हो । अस्ट्रेलियाको आदिवासी जनजातिमा लगभग ८ सय भाषा बोल्ने २ सय ५० भन्दा बढी जनजाति छन् । र, अस्ट्रेलियाको आप्रवासी जनसंख्यामा विश्वभरका लगभग हरेक देशको प्रतिनिधित्व छ । जसमा नेपालीहरू पनि छन्, जो हाम्रो सबैभन्दा छिटो बढिरहेको आप्रवासी समुदाय हुन् । मैले अस्ट्रेलियाको एक कुनादेखि अर्को कुनासम्मका नेपाली देखेकी छु । पाहुनालाई भगवान्को दर्जा दिने नेपालीको आतिथ्यता विश्वमै सबैभन्दा महत्त्वपूर्ण छ । दोस्रो, औपचारिक रूपमा निर्वाचित होस् वा नहोस्, संसारको जुनसुकै ठाउँमा भए पनि लगभग हरेक नेपाली राजनीतिज्ञ छन् । नेपाली साथीहरूको आध्यात्मिक, सहनशीलता र आफ्नो संस्कृतिप्रति गर्व गर्ने व्यवहारलाई अत्यन्तै कदर गर्छु ।


नेपालको मौसमबारे तपाईंको धारणा के छ ?

नेपाल वातावरणीय दृष्टिले अब्बल र जोखिमयुक्त दुवै रहेको छ । १.६ विलियन (१ अर्ब ६० करोड) भन्दा बढी जनता हिमालयबाट तल बगेको पानीमा निर्भर छन् । हामीलाई थाहा छ, ती नदीहरू जलविद्युत्का लागि हुन् । साथै, तिब्बती घना जंगली क्षेत्रले सौर्य ऊर्जाका लागि पनि काम गर्छ । जलविद्युत्बाट उत्पादित ऊर्जाले यो क्षेत्रकै शक्ति केन्द्रका रूपमा काम गर्न सक्छ, जसले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन सक्छ । हिमाली क्षेत्रको संरक्षकका रूपमा यो क्षेत्र नेपाल र विश्वकै लागि महत्त्वपूर्ण छ । यस विषयमा नेपालका प्रधानमन्त्री (पुष्पकमल दाहाल) ले पनि कोप–२८ मा जोड दिनु भएको छ । विश्वले सुनेको छ र त्यसका बारेमा एक्सन लिएको छ । पर्यटनको क्षेत्रमा, नेपालको ब्रान्ड भनेको उच्च हिमालय हुन् । म त्यसमा विविधता देख्न चाहन्छु । नेपाल अझ बढी आध्यात्मिक पर्यटनका नाममा चिनिएको हेर्न चाहन्छु । साथसाथै खाना र सेवादायी पर्यटकका रूपमा बढी चिनिएको हेर्न चाहन्छु । जसले गर्दा नेपालको कमजोर हिमाली वातावरणीय बोझलाई हटाउनेछ र देशलाई नयाँ रोजगारी र व्यावसायिक अवसर प्रदान गर्नेछ ।

तपाईंले नेपालको खाना कस्तो पाउनुभयो ? र, तपाईंलाई मन पर्ने खानाचाहिँ कुन हो ?

जाडो मौसम भएकाले त्यही वातावरणमा शरीरलाई सहज हुने खानाका परिकार मनमा आउँछ । जाडो महिनाको चिसो रातका लागि शरीरलाई आनन्ददायी हुने र पोषणयुक्त परिकार क्वाटीभन्दा अरू कुनै हुन सक्दैन । मैले रोहिणी राणाको शिष्टाचारमा खाएको क्याटी सम्भवतः उत्कृष्ट थियो । म एक दिन बेलुकी उहाँसँग खाना पकाउन सहभागी भएँ । र, मैले उनको खानाको परिकार बनाउने पुस्तक हेरेर केही परिकार बनाएँ पनि । मेरो अर्को अनुभव भनेको कान्तिपुर टेलिभिजनको पहिलो ‘सेफ नेपाल’ कार्यक्रममा अतिथिका रूपमा सहभागी भएकी थिएँ । म उक्त कार्यक्रमको भाग १४ मा सहभागीमध्येको एक अतिथि थिएँ । हामीले अन्तिम चरणमा पुगेका १० प्रतिस्पर्धीले पारम्परिक सामग्रीहरू प्रयोग गरेर आधुनिक तरिकाले बनाएका परिकारको मज्जा लियौं । मलाई मन पर्ने परिकार चाहिं सबैभन्दा अप्रत्याशित थियो । प्रायः धेरैलाई मन नपर्ने इस्कुसलाई प्रतिस्पर्धी विपिन बस्नेतले उत्कृष्ट मिठाई (डेजर्ट) का रूपमा परिणत गरेका थिए ।


नेपालको चालचलन र रीति–रिवाजप्रति तपाईंको धारणा के छ ?

तीन वर्षपछि पनि मलाई नेपालमा गरिने अभिवादन ‘नमस्ते’ ले एकदमै मन छुन्छ । ‘म तिम्रो सामुन्ने सम्मानका साथ झुक्छु’ भन्ने एकदमै सुन्दर र महत्त्वपूर्ण शैली हो । एकअर्कासँगको हाम्रो सहकार्य व्यवहारमा लागू गर्‍यौं भने संसार निश्चित रूपमा दयालु र एकदमै आनन्दित आउने ठाउँ हुन्छ ।

नेपाली चाडपर्वहरू मनाउनुहुन्छ ? तपाईंलाई मन पर्ने पर्व कुन हो ?

मैले नेपालमा सबै मुख्य चाडपर्व मनाउने कोसिस गरेकी छु । तर, मुख्यतया काठमाडौंमा बस्दा विभिन्न क्षेत्रका जातजातिका बीचमा मनाउने पर्वहरूलाई भने छुटाएकी छु । सम्पदा संरक्षणकर्ता रवीन्द्र पुरीको आग्रहमा भक्तपुरका चाडपर्वहरूको अनुभव लिन पाउँदा म आफूलाई असाध्यै भाग्यमानी ठान्छु । नेवारी चाडहरूमध्ये इन्द्रजात्रा मलाई मन पर्ने एक विशेष चाड हो । किनभने, सन् २०२३ मा गद्दी बैठकको उत्सवमा सामेल हुँदा मैले ‘इसाबेला ट्रज’ (जीवित देवी) पढेकी थिएँ । उक्त पढाइले पनि चाडलाई जीवन्त बनायो र त्यसको ठीक विपरीत जीवनलाई चाडमय बन्न मद्दत गर्‍यो । लक्ष्मी पूजाको साँझको सौन्दर्य र प्रिय साथीहरूले म्हः पूजाको पारिवारिक उत्सवमा मलाई न्यानो स्वागत गरेको हुँदा तिहार व्यक्तिगत रूपमा मलाई धेरै महत्त्वपूर्ण लाग्छ । तिब्बती लोसार सबैभन्दा पुरानो र गहन आध्यात्मिक संस्कृतिको एक विशेष उत्सव हो । जावलाखेलमा तिब्बती समुदायले हरेक वर्ष आयोजना गर्ने समारोहमा सहभागी हुन पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु ।

तपाईं नेपाली भाषा बोल्न सक्नुहुन्छ ?

म लज्जित र दुःखका साथ स्वीकार गर्छु कि म यहाँ हुँदा नेपालका १ सय २० भन्दा बढी भाषामध्ये कुनै पनि सिकेकी छैन । सानो र निकै व्यस्त कूटनीतिक नियोगमा नेपाली भाषा सिक्ने मेरो योजना एकातिर रह्यो । मैले आफ्नो पोस्टिङ पूरा गरेपछि अवकाश हुने र वर्षमा केही महिना नेपाल आउने सोच बनाएकी छु । त्यो अवधिमा नेपाली सिक्ने मेरो योजना छ । यसलाई मैले कहिल्यै नहुनुभन्दा ढिला हुनु राम्रो भन्ने ढंगले ग्रहण गरेकी छु ।

नेपाली गीत सुन्नुहुन्छ ? तपाईंलाई मन पर्ने कुनै नेपाली गीत छ ?

नेपाली संगीत र संगीतकारहरूसँगको मेरो भावना यहाँ रहँदाको अवधिभर रमाइलो रहेको छ । रेशम फिरिरीजस्ता लोकगीतदेखि लिएर नेपालको मुख्य रक ब्यान्ड–१९७४ एडीका हरेक संगीत आनन्दायी लाग्छन् । अस्ट्रेलियन दूतावास रक ब्यान्ड १९७४ एडी र अटिजमकेयर नेपाली सोसाइटीसँग मिलेर इम्ब्रेस अटिजमको ब्यानरमा सन् २०२३ को मार्चमा टुँडिखेलमा निःशुल्क कन्सर्ट गर्न पाउँदा खुसी छ । कन्सर्टको उद्देश्य सबै जनताका लागि सामाजिक समावेशीकरणको प्रवर्द्धन गर्ने थियो । काठमान्डु ज्याज कन्जर्भेटरी कोइर र १९७४ एडीसँग सहभागी भएर विविधताका लागि गाना गाउनु एकदमै खुसीको क्षण थियो । १९७४ एडीले उनीहरूको ३० औं वार्षिक उत्सवका लागि यस वर्ष अस्ट्रेलिया भ्रमण गर्दैछन् । म उनीहरूलाई मेरो गृहनगरमा प्रस्तुत गरेको हेर्न चाहन्छु । २०२३ मा अर्को उत्कृष्ट सहकार्यमा स्वप्नील शर्मा, रोहित शाक्य र गौतम तन्डुकार तथा सिड्नीको एक्सेलसिया कलेजको अर्केस्ट्राबीच थियो । ‘बिस्तारै’ नामक प्रेम गीतको म्युजिक भिडियो नेपाल र सिड्नीमा छायांकन गरिएको छ ।


के तपाईं नेपाली साहित्यबारे जानकार हुनुहुन्छ ? तपाईंलाई सबैभन्दा मन पर्ने त्यस्तो कुनै साहित्यिक कृति छ र किन ?

म आफैं आख्यानकार भएको हैसियतमा नेपाली साहित्यमा रमाइरहेकी छु । मलाई सम्राट् उपाध्यायको लघुकथा संग्रह ‘अरेस्टिङ गर्ड इन काठमाडौं’ मन पर्छ । म हाल नेपाली–भारतीय लेखिका स्मृति रवीन्द्रको ‘द वुमन हु क्लाइम्बेड ट्रिज’ पढ्दै छु । दुवै लेखकबाट म एकदमै खुसी छु । यसले नेपालको जादुयी यथार्थतर्फ झुकाव दिने र नेपालको मान्यता दिँदै तराईदेखि काठमाडौंको जीवनशैलीसँग म परिचित छु ।

के तपाईंले नेपाली चलचित्र हेर्नुभएको छ ?

मलाई जोङ्गसार खिन्से रिम्पोछेको ‘लुकिङ फर अ लेडी विथ फ्याग्स् एन्ड अ मुस्टाज’ अर्थात् डाकिनी फिल्मको स्क्रिनिङमा निमन्त्रणा गरिएको थियो । साथमा रिन्पोछेसँग प्रश्नोत्तरको सत्र पनि थियो । उक्त फिल्म मैले अहिलेसम्म हेरेका फिल्ममध्ये सबैभन्दा उल्लेखनीय थियो । यसमा सपनारूपी अवास्तविक कथालाई नेवारी गल्लीहरूको पृष्ठभूमिमा एक वास्तविक कथाको माध्यमबाट देखाउन खोजिएको छ । यो फिल्मले मलाई नेपालका बारेमा मन पर्ने सबै कुरालाई छर्लङ्ग बनाएको छ । पाँच ‘एम’ अर्थात् म्याजिक (जादु), मिस्टिसिजन (रहस्यवाद), मिथोलोजी (पौराणिक कथा), मेहेम (विकार) र थोरै म्याडनेस (पागलपन) छन् । जब म सिनेमा र रिन्पोछेको प्रस्तुतिबाट बाहिरिएँ, मलाई यस्तो लाग्यो कि एउटा झक्की कविको दिमागमा म चिरध्यानमा बसेको जस्तो अनुभव भयो । म रवीन्द्र पुरीसँग पनौतीमा थिएँ । उनले फिल्मका लागि स्थान औंल्याउँदै थिए । मलाई लाग्छ, डाकिनीले पुरानो काठमाडौं उपत्यकाको सुन्दरताको परिचय गराएको छ । डाकिनी हेरेपछि दर्शकलाई नेपाल आएर घुम्न मन नलाग्ने भन्ने हुँदैन ।

तपाईंले नेपालमा कति ठाउँको भ्रमण गर्नुभएको छ ? तपाईंलाई मन पर्ने नेपालको कुन गन्तव्य हो ?

म कामका सिलसिलामा र व्यक्तिगत यात्रा गरी २८ जिल्ला घुमेकी छु । साथै, मैले सडकमार्फत नेपालको लामो यात्रा गरेकी छु । म हिमालप्रेमी हुँ । लोमान्थाङ र सोलुखुम्बुजस्ता दुर्गम क्षेत्रले मलाई मोहित पारेको छ । प्राचीन मठहरू र गुम्बाहरू, अनिश्चित ध्यान गर्ने गुफाहरू, उड्ने भिक्षुहरू, पवित्र हिमालहरू, नीलो भेडा (न नीलो हो न भेडा नै हो)– यी दुवै कुरा मिथ्याका भण्डार हुन् । मानव बेचबिखन नियन्त्रण गर्न र पीडितहरूलाई साथ र सहयोग प्रदान गर्न अस्ट्रेलियन अनुदान प्राप्त कार्यक्रमअन्तर्गत काम गरिरहेका हाम्रा विकास साझेदारहरूसँग भेट्ने पछिल्लो समय कामको सिलसिलामा पूर्वी क्षेत्र एउटा सुन्दर स्थल सूर्योदय नगरपालिका पुगेकी थिएँ । मेयर रणबहादुर राईको नेतृत्वमा त्यहाँका स्थानीय सरकारी अधिकारीहरूले आफ्ना युवाहरूलाई सशक्तीकरण गर्न, जोखिममा परेका मानिसलाई बेचबिखनबाट जोगाउन र इलामको सम्भावनालाई महसुस गर्न नयाँ र रचनात्मक प्रयास गरेकामा म प्रशंसा गर्दछु ।


नेपालको कला र संस्कृतिप्रति तपाईंको धारणा के छ ?

नेपाल कला र संस्कृतिमा धनी छ । नेपालबाट हराएर र चोरिएर विश्वभर पुगेका सांस्कृतिक सम्पदाका सामग्री जहाँबाट हराएका हुन्, त्यही समुदायमा फिर्ता भयो भने त्यो खुसीको दिन हुनेछ । विश्वका ठूला सांस्कृतिक संस्थाहरूले नेपालका समकालीन कलाकारहरूको कामलाई खरिद गरेका छन् । हामी सबैलाई थाहा छ, धेरै शताब्दीदेखि नेपालका कालिगढहरू प्रख्यात छन् । उनीहरूले आफ्नो सीप र सिर्जनालाई साझा रूपमा छिमेकका संस्कृति कलाहरूमा समेत प्रभाव पारेका छन् । अहिलेको नयाँ पुस्ताका नेपाली कलाकारहरूले पनि विश्वव्यापी रूपमा मान्यता पाउन योग्य भएकामा म एकदमै खुसी छु । उदाहरणका लागि अस्ट्रेलियाको न्यु साउथ वेल्सको आर्ट ग्यालरीले भर्खरै लोक चित्रकारले निर्माण गरेको ‘गणेश’ को पेन्टिङ खरिद गरेको छ । अस्ट्रेलियाका दर्शकहरू नेपालको उत्कृष्ट कला र सांस्कृतिक परम्परासँग परिचित छन् । यो पनि महत्त्वपूर्ण छ कि अस्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँका सार्वजनिक संस्थाहरूमा आफू र आफ्नो सम्पदा प्रतिविम्बित र सम्मानित भएको अवलोकन गर्न सक्छन् ।


प्रकाशित : पुस २८, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×