'पार्टीको मति र राष्ट्रिय राजनीतिको गतिअनुसार मेरा पाइला चल्छन्'- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

'पार्टीको मति र राष्ट्रिय राजनीतिको गतिअनुसार मेरा पाइला चल्छन्'

'राष्ट्रिय राजनीति विकृत मार्गमा छ । सिद्धान्त, नीति र गन्तव्यहीन बाटोमा धकेलिँदै छ, यो देशका लागि शुभ लक्षण होइन ।'
'एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका वामपन्थीहरूले आजसम्म भएका गल्ती,कमीकमजोरी सच्याउँदै जान्छौँ भने सहयोग हुन्छ ।'
'नेकपा एमालेका प्रदेश, जिल्लास्तरका साथीहरूसँग कुराकानी छ । शीर्ष नेताहरूसँग कुनै सम्पर्क छैन ।'
मणि दाहाल

काठमाडौँ — प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि संघ र प्रदेशसम्म सरकार निर्माणको प्रक्रिया जारी रहेको छ । चुनावअघिको गठबन्धन भत्केर अहिले नयाँ सत्तागठबन्धन बनेको छ । चुनावअघि र पछि बन्ने यस्ता सत्ता गठबन्धप्रति आलोचनात्मक दृष्टिकोण राख्ने नेता हुन्- भीम रावल ।

पार्टीको पूर्वउपाध्यक्षसमेत रहेका रावलको नाम अछाम १ बाट सर्वसम्मत रूपमा सिफारिस भए पनि नेकपा एमालेले प्रतिनिधिसभाको टिकट दिएन । निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बनाउनका लागि प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी र अछाम जिल्ला कमिटीले रावलको नाम एकल सिफारिस गरेर पठाएको थियो । रावलको स्थानमा एमालेले झपट बोहोरालाई टिकट दिएको थियो। अछाम-१ मा बोहोरालाई नेकपा एकीकृत समाजवादी पार्टीका शेरबहादुर कुँवरले पराजित गरेका थिए ।

पार्टीबाट अहिले किनारामा रहेका रावल के गर्दैछन् ? अब उनको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ? यसै सन्दर्भमा इकान्तिपुरका मणि दाहालले नेता रावलसँग गरेको कुराकानी :

राजनीतिबाहिर हुनुहुन्छ । चुनावी प्रक्रियामा पनि संलग्नता रहेन । यो अवस्था कहिलेसम्म ?

राष्ट्रिय राजनीतिबाट बाहिर छैन । पार्टीको पदीय राजनीतिबाट मात्रै बाहिर हो । यो देशको स्वाधिनता, स्वतन्त्रता, सर्वोपरी राष्ट्रिय हित, विधिको शासन तथा सुशासनको पक्षमा जुन मान्यता राख्दै आएको छु त्यसमा अहिले पनि दृढतापूर्वक कायम छु । मैले आफ्ना विचार निरन्तर रूपमा प्रवाह गरी नै रहेको छु ।

पदीय राजनीतिको भूमिका छैन । अहिलेको एमालेको सदस्य मात्रै हुँ । तर राष्ट्रिय राजनीति कुन दिशामा गइरहेको छ ? देशभित्रका पात्रहरू के गर्दैछन् ? बाह्य प्रभाव के भइरहेको छ ? त्यसलाई अन्यन्त निकटबाट अध्ययन र विश्लेषण गरिरहेको छु ।

राष्ट्रिय राजनीतिका पात्रहरू कसरी गइरहेका छन्, के देखिरहनुभएको छ ?

जति बेला निर्वाचन भएको थियो । त्यस समयमा यो गठबन्धन भनेका संविधानको दृष्टिकोणबाट संविधानविरोधी, धारा २७९ को व्यवस्थाको विरुद्धमा सिद्धान्तहीन, नीतिहीन, आदर्शहीन हो यसले देशको हित गर्दैन, राजनीतिक स्थायित्व दिँदैन भनेर भनेको थिएँ । विपरीतसिद्धान्त भएका मानिसहरूले लोकप्रिय मतका लागि यस्तो गठबन्धन संसारमा कहीँ पनि गर्दैनन् । कसैले देखेको छ भने मलाई देखाऊ भनेर चुनौतीका साथ भनेको थिएँ । त्यस समयमा उठाएको कुरा अहिले परिणामले देखायो । यसको सबैभन्दा ताजा र जनताले राम्रोसँग बुझ्ने उदाहरण के हो भने नेपाली कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्पकमल दाहाललगायतको गठबन्धन थियो । परिणाम आएपछि कता गयो त्यो गठबन्धन ? त्यसैले घोर अवसरवादी गठबन्धन भनेको थिएँ । कांग्रेस र माओवादी मात्रै नभएर एमाले र जसपाको गठबन्धनलाई पनि त्यस्तै भनेको थिएँ । यो संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत हो भनेको थिएँ । अहिले त्यही प्रस्ट भयो ।

अहिलको सरकारको निर्माणको सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक आधार के ? यो कुरा उठाएँ भने विरोध गरेको अर्थ लाग्छ तर पनि कुनै पनि इमान्दार नागरिकले विश्लेषण गर्दा यही निष्कर्षमा पुग्छन् । यसको सिद्धान्त, आदर्श र गन्तव्य के हो र यसले यो देशमा ल्याउँछ के ? कसैले यो सरकारले पहिलेका भन्दा केही बढी विकास गर्ला भन्लान् तर २००७ देखि नेपाली जनताले जुन परिवर्तन जे खोजेका थिए, के त्यो दिशामा केही काम गर्छ ?

नेपाल असमान सन्धिसम्झौतामा किचिएको छ, त्यसमा केही परिवर्तन हुन्छ ? असमानताको खाडल दिनदिनै बढ्दो छ, बेरोजगारीले सिर्जना गरेको विकराल अवस्थाले नयाँ दास प्रथाको अवस्थामा पुर्‍याएको छ । पहिलेको दास प्रथा निर्मम हुन्थ्यो त्यो बेग्लै हो तर प्रकारान्तरले अहिले पनि त्यही हो । पैसाका लागि आफ्ना नागरिकलाई विदेश निकासी गर्ने गरिएको छ । त्यसलाई राम्रो सुनिन अंग्रेजी नाम प्रयोग गर्ने गरिएको छ । 'केयरगिभर' भनेको सुसारे त हो नि सुसारे भन्दा राम्रो नसुनिने भएका अंग्रेजी नाम दिइएको हो ।

संविधानले गरेका विभिन्न व्यवस्थाअनुसार यो सरकार जान्छ ? त्यो हेर्न बाँकी छ । सरकारको स्वरूप हेर्दा राजतन्त्र ल्याउनु पर्छदेखि गणतन्त्र ल्याउनुपर्छ भन्नेहरू एकै ठाउँमा छन् । संघीयता काम लाग्दैन भन्नेदेखि नभई भात पनि निल्न सकिँदैन भन्ने पनि एकै ठाउँमा छन् । त्यसैले यो सरकारको जाने ठाउँ कहाँ हो त ?

कार्यदलमा सदस्यहरूले एउटै पार्टीको बहुमत नल्याएकाले सबैलाई मान्य हुने कुरा ल्याउँछु भन्लान् तर सबैलाई मान्य हुने राखेपछि त्यो निर्दल भएन ? किन बहुदल चाहियो ? माओवादी केन्द्रको मार्क्सवाद, लेनिनवाद र माओवाद तथा राप्रपाको हिन्दुवाद र राजतन्त्रवादले मान्य मान्य राखेर राजनीति गर्ने हो भने पञ्चायतको निर्दल र अहिले आएको बहुदलमा के फरक भयो त ?

एमालेले २०४९ सालमा जबज (जनताको बहुदलीय जनवाद) ल्यायो, त्यसअन्तर्गत राष्ट्रियता, जनजीविका, शिक्षा, स्वास्थ्य, समाज लोककल्याणकारी जे-जे मान्यता थिए ती मान्यता र त्यसको ठीकविपरीत मान्यता बोकेको कुनै दलसँग तेरो र मेरो जे-जे मिल्छ त्यो मात्रै गर्ने भनेपछि दल किन चाहियो र ? राजनीतिशास्त्रको विद्यार्थी भएकाले पनि चुनौतीका साथ भन्छु राजनीतिक दल निश्चित मूल्य मान्यतामा मात्रै गठन हुन्छ । तर कसैको बहुमत आएन मेरो मूल्य मान्यता के गर्ने, स्थितिको यो बाध्यता हो, म अरुले जे-जे भन्छन् त्यसमा जान्छु भने पार्टी किन गठन गर्ने ? व्यक्तिव्यक्ति ज-जसको स्वार्थ हुन्छ, ज-जसको समाजमा प्रभाव छ एउटा पार्टी खोलिदिने मन्त्री हुनु छ, जित्नु छ भन्ने पार्टी किन खोलिरहनु पर्‍यो । पार्टी भनेकै एउटा सिद्धान्त, आदर्श मार्गले अर्को सिद्धान्त, आदर्श र मार्गलाई पराजित गरेर आफ्नो विषय राज्यबाट लागू गर्ने हो ।

संक्षेपमा भनेको हो भने राष्ट्रिय राजनीति विकृतिको मार्गमा छ । सिद्धान्त, नीति र गन्तव्यहीन बाटोमा धकेलिँदै छ र यो देशका लागि शुभ लक्षण होइन ।

एमालेको सदस्य मात्रै हो भन्नु भयो यो अवस्था कहिलेसम्म हो ?

जबसम्म एमालेले मूलभूत रूपमा देश, जनता र यसले लिएको सिद्धान्त मार्क्सवाद लेनिनवाद पूर्ण रूपमा परित्याग गर्‍यो भन्ने मलाई लाग्दैन वा यसले देशका लागि धेरै बोल्यो, यसले बोलिरहन्छ हामीलाई अफ्ठ्यारोमा पारिरहन्छ यसलाई निकालिदिए भने एमालेले त्यो गर्दैन । त्यो दुई वटा स्थितिसम्म शायद नेकपा एमालेमा सदस्य रहिरहन्छु कि ?

चुनावपछि नयाँ गठबन्धन निर्माण भएको छ । एमाले र माओवादी एकै स्थानमा आएका छन् । दुवैको विचारमा धेरै समानता छ यसलाई कसरी लिनु भएको छ ?

२००६ सालदेखि नेकपा जुन बाटोमा हिँडेको छ त्यसको पृष्ठभूमिमा राखेर हेर्नुपर्छ । यसलाई तत्कालको विषय मात्रै हेरियो भने ठिक निष्कर्षमा पुग्न सकिँदैन । उदाहरणका लागि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भयो स्थायी कमिटीको बैठकमा दुई जना अध्यक्षहरूको बीचमा प्रधानमन्त्री आधा आधा बाँढ्ने विषयमा भएको सहमति प्रस्तुत पनि भएनन्, हामीलाई थाहा पनि भएन । त्यस समयको एकताको मूल अन्तर्य मार्क्सवाद लेनिनवाद र माओवाद भनिएको थियो ।तर त्यसको आधारमा नभई पदको बाँडफाँटमा केन्द्रित रहेछ । पछि त्यही कुरामा तँ कि म भन्ने हुँदा पार्टी नै रहेन । अहिले पनि संयुक्त सरकार छ, यसमा एमाले र माओवादीबीचमा केही सैद्धान्तिक कुरामा पनि यसै फरक छ ।

एमाले मार्क्सवाद लेनिनवाद मात्रै भन्छ र अर्कोले माओवाद भन्छ । यसको विषयमा बहस अहिले पनि भएको देखिँदैन । अहिले के मात्रै बाहिर आएको छ भने सरकार बनाउनुपर्ने भयो बहुमत कसैको भएन, यो सिद्धान्तको कुरा छाडिदिउँ, जो-जो हामीलाई समर्थन गर्छन् तिनीलाई पनि लिउँ, सबैलाई लिउँ सबै संवैधानिक निकायको पददेखि लिएर प्रधानमन्त्री हुने कुराको भागबन्डा गरौं भन्नेमा आधारित भएर गठबन्धन गरेको देखिन्छ । सञ्चारमाध्यममा आएका कुरा यिनै हुन् । भित्र सिद्धान्तको विषयमा विषद् व्याख्या भएको मलाई थाहा छैन । यसरी पदमा केन्द्रित भएर गरिने एकता वामपन्थी एकता र कम्युनिस्ट एकताको आधार नै होइन ।

एकताको आधारमा हुन्थ्यो भने पहिलो काम आफ्नो घोषित सिद्धान्त छन् ती विषय स्पष्ट रूपमा दस्तावेजको रूपमा अघि आउनु पर्‍यो, त्यसमा सहमति हुनुपर्‍यो, दोस्रो निकै लामो समयसम्म लडेर राष्ट्रिय हितका लागि जे-जे कुरा उल्लेख गरिएको छ । जसको विषयमा माथि नै चर्चा गरिएको छ । त्यसमा धारा ५१ बमोजिम संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील, विश्व शान्तिमा आधारित स्वतन्त्र परराष्ट्र नीति, विगतका सबै सम्झौताको पुनरावलोकन गर्ने, असमान सम्झौता नगर्ने जस्ता राष्ट्रहितको विषयमा संविधानमा भएको व्यवस्था छ त्यो स्पष्ट रूपमा उहाँहरूको साझा कुराको त्यस दिशामा जान्छौँ भनेर आयो भने अब समाजवादउन्मुख प्रणालीमा हुन्छ भने, बिचौलिया र दलाल पुँजीपति वर्गको विरुद्धमा उभिन्छौैं, राज्यले त्यो गर्न दिँदैनौं भन्ने विषय आउँछ कि आउँदैन ।

यसरी आयो भने सो दस्तावेज वा नाममा मात्र भए पनि वामपन्थी काममा रुपान्तरित हुनका लागि यो सरकारको साझा न्यूनतम कार्यक्रम वा त्यसमा अन्य दस्तावेजमा स्पष्ट रूपमा आएर अब हामी यो बाटोमा जान्छौं भन्ने स्थिति हुन्छ कि हुँदैन ? यो भन्ने हो भने वामपन्थी एकताको एउटा आधार बन्ने रहेछ । अन्य चरणको वार्तामा यो जाला भन्ने विषयमा अलिकति सोच्न सकिएला । होइन सरकार बनाउने, बिग्रने, भत्काउने यति मात्रै कुरा गरेपछि कम्युनिस्ट पार्टीबीचको एकताको दिशा होइन, राज्यका विभिन्न पदमा पुगेर सत्ताभोग गर्ने विषय मात्रै हुन्छ । यो कांग्रेससँग भए पनि उही हो, कम्युनिस्ट कम्युनिस्ट बीचमा भए पनि उही हो, राष्ट्रिय स्वतन्त्र पार्टी र सीके राउतजी जो-जोसँग गरे पनि उही हो, त्यसको खासै तात्विक भिन्नता हुन्छ र ? त्यसको नेतृत्व गर्ने व्यक्तिको प्रस्तुति, शैली, उसले बोल्ने कुराले केही नयाँ कुरा आयो कि ? जस्तो होला । उदाहरणका लागि रवि लामिछानेज्यूलाई लिन सकिन्छ । कस्ता-कस्ता कुरा गर्नु भएको छ विगतमा उहाँलाई नागरिक र राहदानीको मुद्दा सर्वोच्च अदालतमा चलेको छ, तालुकदार मन्त्रालय भनेको गृह मन्त्रालय हो । उहाँ त्यही मन्त्रालयको मन्त्री नभई हुँदैन भन्नुहुन्छ भने आशय के हो भन्ने कुरा अनुसन्धान गर्नु नै पर्छ र ? विडम्बनापूर्ण र अन्तरविरोधी कुराहरू हामीले सुरुबाटै देखिरहेका छौं ।

एमाले र माओवादी केन्द्र अहिले एकै स्थानमा आउनु कोर्स करेक्सन होइन भन्ने भनाई हो ?

जबसम्म यो दस्तावेजीकरण गरेर सैद्धान्तिक विश्लेषण गरेर विगतको घटनाहरूलाई केलाएर नेताहरूले प्रस्ट रूपमा बाहिर बोलेको देख्दिनँ, त्यो विघटन र विभाजन र अब कहिले नेकपा वा कम्युनिस्ट आन्दोलनलाई एक बनाउने कुरामा मार्ग परिवर्तन (कोर्स करेक्सन) होइन । माथि भनिएको पूरा भएन कोर्स करेक्सन परको कुरा अनुमान पनि गर्न मिल्दैन । के मात्रै भन्न मिल्छ भने यो सत्ताका लागि गरिएको साँठगाँठ हो ।

तपाईंको योजना के अहिले जस्तो स्थिति छ त्यसमै बसिरहनु हुन्छ ?

भर्खरै आमनिर्वाचन सम्पन्न भएको छ । हतार गर्नुपर्ने केही पनि कारण छैन । नेकपा एमालेको सदस्य हो । राष्ट्रका लागि नेपालको संविधानले जुन मार्गनिर्देश गरेको छ, एमालेको महाधिवेशनले पारित गरेको दस्तावेज जे लेखेको छ, त्यही मान्ने हो । त्यो विषयको वकालत गरी नै रहन्छु, संविधान, राष्ट्रको हित, लोकतन्त्र र सुशासनको विपरितको काम हुन्छन् त्यहाँ एउटा नागरिक भएर, पार्टीको सदस्य भएर आवाज उठाइरहन्छु ।

भर्खरै चुनाव सकिएको हुनाले सामान्य रूपमा रहन्छु । आउने दिनहरूमा कसो होला भन्ने विषयमा पहिले पनि भनेको थिएँ - पार्टीको मति र राष्ट्रिय राजनीतिको गतिअनुसार मेरो पाइला चल्ने छन् ।

माधवकुमार नेपालले घनश्याम भूसाल र तपाईंसहितका नेताहरूसँग कुराकानी भइरहेको छ भन्नु भएको थियो । नेकपा एकीकृत समाजवादीसँग सम्बन्ध खास के हो ?

उहाँले (माधवकुमार नेपाल) भनेको कुरा पत्रिकामा पढेँ । पढ्नेबित्तिकै प्रतिक्रिया दिएको थिएँ । उहाँसँग मेरो फोनमा सामान्य रूपमा कुरा भएको हो । फोनमा राजनीतिक रूपमा जोसँग पनि कुरा हुन्छ । खासगरी दलीय दृष्टिकोणबाट कसरी जाने भन्ने विषयमा कुरा भएको छैन । कतिपय साथीहरू घरमै आएर कुराकानी गर्नु भएको छ । एकीकृत समाजवादी मात्रै नभएर अन्य दलका नेताहरूले पनि । त्यसमा अहिले राष्ट्रिय राजनीति के हो कसो हो ? भन्ने मात्रै सामान्य कुरा गरेको छु । सबैलाई भनेको म एमालेको सदस्य हुँ । विभिन्न राजनीतिक विषयमा छलफल हुने गरेको छ । तर दल के गर्ने कस्तो गर्ने भन्ने विषयमा राजनीतिक कुराकानी कसैसँग भएको छैन ।

'राष्ट्रिय राजनीतिको गति र पार्टीको मति' भन्नुभयो त्यो ठीक ठाउँमा छ कि छैन ?

घटनाक्रमले कुनै सुखद दिशा समातेको देखाउँदैनन् तर चुनाव भएर सरकारले समेत पूर्णता नपाएको बेला यस्तो हो भनेर भन्दा हतारो हुन्छ ।

एमालेका नेताहरुसँग सम्पर्क छ कि छैन ?

छैन । नेकपा एमाले तल्लो पंक्तिका प्रदेश, जिल्लास्तरका साथीहरुसँग कुराकानी सम्पर्क छ । तर निर्णायक भएर निर्णय गरिरहनुभएको छ, उहाँहरुसँग कुनै सम्पर्क छैन ।

'पर्ख र हेर' कै अवस्था हो ?

अहिले जे छ यही स्थिति छ, त्यसबाहेक मैले सूत्र भनिसकेको छु ।

'मति र गति' दुवै हेर्दा के देखिन्छ ?

पाँच दशकअघि विद्यार्थी हुँदा राजनीति सुरुवात गरे । मेरा तीनवटा मान्यता थिए । पहिलो देशभक्त भएर देशको सर्वोपरी हितमा काम गर्ने, दोस्रो मैले जुन राजनीतिक दलको निर्माण, विकास र विस्तार यति धेरै पसिना बगाए त्यो संस्था बचोस् र राम्रो बाटो जाओस् देशको हितमा काम गरोस्, आफ्नो घोषित लक्ष्यबाट विचलित नहोस्, तीन समाजवादउन्मुख प्रणाली भनेको संविधान लेख्यौ‌ं त्यसभन्दा अघिदेखि समाजवादी आउनुपर्छ भनेर भन्दै हिँडेका हौं । यो लक्षित उद्देश्य छ यसका लागि जो-जो मानिस साँच्चिकै इमान्दार छ । ती एक ठाउँमा आउन र चीन तथा भारतजस्तो दुई वटा छिमेकी भएको अन्त्यन्त संवेदनशील भूराजनीतिक अविस्थितिमा रहेको नेपालमा हामीले आफ्नो शीर ठाडो गरेर हिँड्न सक्नुका लागि सबै जना एक भएर जाने परिवेश बनोस् भन्ने चाहना हो । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी अरु जो-जो वामपन्थीहरुले आजसम्म जे-जे गल्ती,कमिकमजोरी भयो अब सच्चिँदै जान्छौं भनेर प्रतिबद्धता साथ घोषित उद्देश्यसहित विश्वसनीय रूपमा आयो भने त्यस्तोलाई सहयोग हुन्छ ।

करिब ५० वर्षदेखि जुन दलमा काम गर्नु भएको थियो त्यसले कुन बाटो हिँडेजस्तो लाग्दछ ?

प्रारम्भिक दिनहरूदेखि हिजोको पञ्चायतकाल, त्यसपछिको बहुदलीय प्रणाली जे कुरा गर्‍यौं, त्यस समयमा राजनीतिक नेतृत्व तहमा मैले जे काम गरेँ, त्यो तहमा हाम्रो महाधिवेशनहरूमा जे परिकल्पना गर्‍यौं र जे लक्ष्य, उद्देश्य राख्यौं त्यो बाटोमा राजनीति हिँडेको देख्दिनँ, त्यो देख्दा धेरै दु:ख लाग्छ ।

प्रकाशित : पुस २५, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ९० पुग्यो

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई तीन दिनदेखि दादुराको खोप लगाउन थालेका छन् ।

सोमबारसम्म २१ सय १९ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा एक सातायता दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप प्रदान गर्न सुरु गरिएको हो । उपमहानगरको १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा दादुरा देखिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने बालकको पुस १३ मा मृत्यु भएको थियो  ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण र व्यवस्थापनका लागि कार्ययोजनासहित प्रभावकारी ढंगले अगाडि बढ्न सरोकारवाला निकायहरुबीच छलफल भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखीकरणसमेत गरिएको छ । दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसँगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजगता अपनाउने विषयमा गहन छलफल भएको छ ।

त्यस क्रममा भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डे र कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रोमा बोराले दादुरा–रुबेला विरुद्धको खोप लगाउने तरिका, भिटामिन 'ए' खुवाउने तरिका, दादुराका बेला देखिने जटिलता समाधानार्थ खुवाउनुपर्ने लक्षण अनुसारका औषधि लगायत विषयमा उपस्थित स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरेका थिए ।

दादुरा प्रभावित अधिकांशले खोप नै नलगाएको अवस्था देखिएकाले खोप अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनुको विकल्प नरहेको सरोकारवालाको बुझाइ छ । खजुरामा पनि थप दुई केस भेटिएका छन् एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।उपमहानगरका वडा नम्बर ५, ७, ८, १०, १५ र २२ का बालबालिकामा दादुरा धेरै देखिएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।

प्रकाशित : पुस २५, २०७९ २०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×