‘लोक सेवामा मेधावी मानिएका कर्मचारीहरू पाएसम्म राजस्वमा जान्छन्’

‘पर्सनल ग्रिड’लाई सामाजिक परिवेशले दुत्कारेन भने व्यक्ति घुस्याहा हुँदै जान्छ, हाम्रोमा भएको यही हो

वैशाख १०, २०८१

कान्तिपुर संवाददाता, तस्बिर : हेमन्त श्रेष्ठ

”Employees who are considered meritorious in public service will go to the revenue as long as they get them”

काठमाडौँ — खरिदार पदबाट लोक सेवामा प्रवेश गरेका उमेशप्रसाद मैनालीले मुख्य सचिवको दाबेदार रहेका बेला आफूभन्दा कनिष्ठलाई प्रधानमन्त्री माधवकुमार नेपालले छनोट गरेपछि गृह सचिवबाट राजीनामा दिएका थिए ।

संविधान जारी हुनुअघि प्रधानमन्त्री सुशील कोइरालाले लोक सेवा आयोगमा अध्यक्ष नियुक्त गरेपछिका ६ वर्ष सार्वजनिक प्रशासनलाई चाहिने मेधावीहरूलाई छान्न र योग्यतातन्त्रलाई बढी मजबुत पार्न आवश्यक सुधार गरेकामा उनी प्रशंसित छन् । अचेल कर्मचारीतन्त्रका बारेमा अध्ययन गरिरहेका मैनालीसाग लोक सेवाको आजको स्तम्भमा कान्तिपुरका घनश्याम खड्काले गरेको कुराकानीको सारसंक्षेप :

सार्वजनिक क्षेत्रमा चार दशकको लामो सक्रियतापछि अहिले तपाईं पूर्ण अवकाशको जीवन बाँचिरहनुभएको छ । केमा व्यस्त हुनुहुन्छ ? 

संवैधानिक निकायका पदाधिकारीले अन्यत्र काम गर्न पाइन्न भनेर संविधानले बार लगाएको छ । राज्यलाई निर्देशन दिने हुनाले संवैधानिक पदाधिकारीमा आस र त्रास नहोस् भनेर यसो गरिएको हो । त्यसो हुनाले म लोक सेवाको कक्षामा गएर पढाउने वा परामर्शदाता हुनेजस्ता कुनै पनि काम गरिरहेको छैन । कर्मचारी वा विद्यार्थीलाई प्रेरणा दिनका लागि बोलाइएका ठाउँमा जान्छु र बोल्छु । अन्य समयमा म लेखपढ गरेर बस्छु । खास गरी, म हाम्रो कर्मचारी प्रशासनको इतिहास उधिन्दैछु । 

कस्तो रहेछ त त्यो इतिहास ?

अनेकन् रोचकताले भरिएको छ । राणा शासनका पालामा चाकडी गरेर जागिर खाने चलन थियो । त्यतिबेला चाकडीलाई नराम्रो मानिँदैनथ्यो । समयअनुसार शब्दहरूको अर्थ बदलिने रहेछ । जस्तो, लिच्छविकालमा सामन्त भनेको राम्रो शब्द थियो, मन्त्रीहरू सामन्त भनिन्थे र प्रधानमन्त्री महासामन्त कहलाइन्थे । त्यस्तै, राणाकालमा चाकडी वैधानिक थियो । बाआमाले नै छोरालाई अब तेरो जागिर खाने बेला भो, चाकडी गर्न जा भन्थे । 

कसरी गरिन्थ्यो चाकडी ?

राणाहरूकोमा दिनहुँ जाने अनि वरिपरि झुम्मिएर नमस्कार गर्ने हो चाकडी भनेको । यसरी जाँदाजाँदा कुनै दिन हाकिमको आँखामा पर्थे चाकडीवाजहरू, अनि जागिर पाउँथे । यो जनताका छोराछोरीका लागि हो । भारदारका छोराछोरीले त सिधै नियुक्ति लिन्थे । 

यो चाकरी प्रथा राणा शासनपछि गयो कि रहिरह्यो ?

राणा शासनपछि पनि गएन । २००७ सालमा प्रजातन्त्र आयो र २००८ सालमा लोक सेवा आयोगको स्थापना भयो । तर, आयोग पुनर्गठन गरेबमोजिम हुने भनेर राजा र नेताहरूले आफ्ना मान्छेलाई सिधै हाकिम बनाउन थाले । प्रजातन्त्र आएपछि २०१५ सालमा चुनाव नहुन्जेलको आठ वर्ष यति अस्थिर भयो कि ६ वटा सरकार बने र सबैले लोक सेवालाई बाइपास गरेर कर्मचारी भर्ती गरे । ०१५ को चुनावलगत्तै आयोगका तत्कालीन अध्यक्ष अनिरुद्रप्रसाद सिंह र नवनिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबीच एउटा सम्झौता भयो– यसअघि जेजति नियुक्ति भएको छ, त्यसलाई लोक सेवाले जाँच लिएर पास हुनेलाई पुनर्नियुक्ति दिने । भयो के भने, दुई बडाहाकिम मात्रै पास भए जाँचमा । अरू फेल भए र घर पठाइए । कोइरालाको यो लोकतान्त्रिक कदमले योग्यतातन्त्रको पहिलो पाइलो हालेको थियो नेपालमा । तर, दुई वर्ष नपुग्दै महेन्द्रले कु गरे अनि आफ्ना मान्छेलाई सचिव बनाउन लोक सेवा आयोगलाई तीन महिना निलम्बन गरे । क्षेत्रविक्रम राणा, पदमबहादुर खत्री, भेषबहादुर थापाहरूले सिधै नियुक्ति पाएको यही अवधिमा हो । त्यसपछि, पञ्चायतभरि नै भूमिसुधार अधिकारीहरू र अञ्चलाधीशहरूलाई दरबारले नियुक्ति गर्थ्यो सिधै । तिनलाई लोक सेवाले अन्तर्वार्ता लिएर स्थायी गरिदिनुपर्थ्यो । यो चाकरी प्रथाकै निरन्तरता थियो खासमा । 

”Employees who are considered meritorious in public service will go to the revenue as long as they get them”

यहाँले पनि पञ्चायतमै जागिर खानुभएको थियो, होइन ? 

हो, तर जाँचै दिएर । म काभ्रेको एउटा गाउँमा मध्यम वर्गीय परिवारमा जन्मेको मानिस हुँ । मेरा बूढीफुपूका छोरा विचारी थिए पञ्चायतमा । सबै जना उनलाई जागिर खाएको मान्छे भन्थे । सानोमा मैले एक पटक सोधेछु, ‘भान्दाइ, यो जागिर कस्तो हुन्छ ?’ उनले मलाई मरीच झिकेर दिए । त्यो खाँदा पिरो भयो । जागिर त पिरो रहेछ, खान्न म त भनेको थिएँ त्यतिबेला । म २० वर्षको भएपछि देखेको एउटा घटनाले चाहिँ जागिर त खानुपर्ने रहेछ भन्ने गरायो फेरि । 

कस्तो घटना ?

बुबा केदारनाथ मैनाली प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँलाई सबले आदर गर्थे । एक दिन गाउँमा सीडीओ अगाडिपछाडि पुलिसको लर्कोसाथ घोडा चढेर आए । गाउँका सबले गएर अनेक बिन्तीपत्र चढाए र ढोगे । यो देखेपछि जागिर त सीडीओको पो खान पर्ने रहेछ भन्ने भयो । अनि म काठमाडौं आएँ र लोक सेवाका लागि तयारी गरें । 

अनि कहिले जागिर पाउनुभयो ?

आईए पास गरिसकेको थिएँ । बीए पढ्दै गर्दा मैले २०३४ मा नन गजेटेडमा नाम निकालें । पहिलो वर्ष खरिदार भएर सर्वोच्च अदालतमा बित्यो । दोस्रो वर्ष अन्तःशुल्क विभागमा नायब सुब्बा भएँ । तेस्रो वर्षमा त मैले शाखा अधिकृतमा नाम निकाली हालें । मैले सहसचिवसम्मको पद जाँचै दिएर पास गरें । योग्यतातन्त्र नै मेरा लागि एउटा मात्रै भर्‍याङ थियो । 

अचेलचाहिँ चाकडी प्रथा छ कि छैन ?

छ । राणाहरूको ठाउँमा अहिले नेताहरू छन्, फरक त्यति मात्रै हो । राणाहरूको पालामा पाँडे पजनी हुन्थ्यो । अहिले पार्टी पजनी हुन्छ । 

पाँडे पजनीको खास अर्थ के हो ?

भीमशमशेरकी एक जना भित्रिनी थिइन् दिलकुमारी ब्लोन । दरबार भित्रिएपछि उनको नाम सीता महारानी भयो । अहिलेको बालमन्दिरको परिसरमा सीता महारानीकै दरबार थियो । ससुराली खलकका भदाहरूलाई बोलाएर एक दिन उनले आजबाट तिमीहरू पाँडे भयौ भनेर जात उकासिदिए । ती नब पाँडेहरू भीमशमशेरका पालामा यति शक्तिशाली भए कि रिस उठेकाहरूको जागिर खाइदिने र खुस उठेकाहरूलाई मनपरी जागिर दिने गर्न थाले । यसलाई व्यंग्य गर्न पाँडे पजनी भनिएको हो र यो पदावलीले उस्तै प्रवृत्तिको सबै कामलाई समेट्छ । यसरी, पहिले राणा र राजा हुँदा चाकरीका भरमा पाँडे पजनी हुन्थ्यो । अहिले पार्टी पजनी हुन्छ । फरक यत्ति हो । अहिले कम्तीमा लोक सेवा छ, प्रशासन संयन्त्रमा जागिर खुवाउने मामिलामा पाँडे पजनी गर्न सक्दैनन् । तर, जागिर खाइसकेपछि सरुवा इत्यादिमा यसो गर्छन् । 

लोक सेवा आयोगले एक तहमा योग्यतातन्त्र चाहिँ कायम गरेकै छ, त्यसो भए ?

हो, गरेको छ । हामीले योग्यतम्लाई छानेर प्रशासन सेवामा पठाउने विधिलाई परिस्कृत गर्दै आएका छौं । यो थिएन भने मेधावीहरूलाई प्रशासनतन्त्रमा ल्याउने बाटो नै हुने थिएन । 

आयोगले ल्याएका मेधावीहरू जागिर खाइसकेपछि सदाचारिताको मामिलामा चाहिँ कत्तिको मेधावी छन् ? 

यसमा चाहिँ बर्बादै छ । जागिर खानेबित्तिकै रातारात जीवन परिवर्तन गर्नुपर्ने रहरले हाम्रो राज्य संयन्त्रमा भ्रष्टाचार ओपन सेक्रेट जत्तिकै भइसक्यो । लोक सेवाले योग्य मान्छे आउन् भनेर कोर्स डिजाइन गर्छ । संज्ञानात्मक परीक्षा लिन्छ र उसको ज्ञान जाँच्छ । त्यसपछि सीप विकासको तालिम दिन्छ । संज्ञानात्मक परीक्षा र अन्तर्वार्ताले व्यक्तित्व परीक्षण गर्ने हो । साइको म्याट्रिक टेस्ट त हुन्छ । तर सबै उपकरण र सबै तहको गुणवत्ता परीक्षण गर्न समय लाग्छ । लोक सेवालाई वर्षमा सात सयभन्दा बढी कर्मचारी छान्नुपर्ने दबाब हुनाले यो सबै गर्ने समय छैन । गर्न सके कुन मानिस कति नैतिक हो, कति बदमास हो भन्ने एउटा तहमा पत्ता लाग्छ । तर, पूरै पत्ता लाग्दैन । किनभने, भ्रष्टाचार व्यक्तिको नितान्त लोभले गर्दा हुन्छ । र, भ्रष्टाचारको पनि नेगेटिभ इन्सेन्टिभ हुन्छ, ‘पर्सनल ग्रिड’लाई सामाजिक परिवेशले दुत्कारेन भने व्यक्ति घुस्याहा हुँदै जान्छ । हाम्रोमा भएको यही हो । सोमरसेट मोम भन्ने लेखक छन् एक जना । उनी भ्रष्ट मानसिकतालाई उडाउन भन्ने गर्थे, पैसा छैटौं इन्द्रीय हो, त्यो नभई अरू पाँचले काम गर्दैन । चाणक्यले भन्थे, पानीभित्र भएको माछाले एकै पटक मुख र कान चलाउँछ, पानी खाएको कि सास फेरेको थाहा हुन्न । त्यस्तै सरकारी रकमकलम चौबीसै घण्टा चलाउने कर्मचारीले कतिखेर घूस खान्छन्, थाहा हुन्न । यसमा रोक्ने भनेको व्यक्तिको आफूभित्र भएको नैतिक र आदर्श जीवनप्रतिको झुकावले मात्रै हो । 

एक–दुईमा नैतिक र आदर्श जीवनको लगाव नहुनु एउटा कुरा हो । यहाँ त सबका सबमा आदर्श छैन र भ्रष्टाचारले पूरै राज्य व्यवस्थै धराशायी हुने स्थितिमा पुगेको छ भन्ने आमअनुभूति छ नि ? 

ठीक हो । यसमा समाजकै समस्या छ । हाम्रो समाज नैतिक भएन । हामीले नैतिक जीवन सिक्ने चार ठाउँ छन्– परिवार, शिक्षा प्रणाली, संगठन र संगत । परिवारमै नैतिक जीवन सिकाइन्न अचेल । बाआमाले छोराछोरीले जसरी हुन्छ, कमाओस् भन्ने ठान्छन् । पत्नी पतिलाई धेरै कमाउन दबाब दिन्छे । शिक्षा प्रणालीमा नैतिकता नै पढाइन्न । कर्मचारी संगठनमा नैतिकताको कहीं उच्चारणै हुँदैन । अनि, साथीभाइहरू सबै कमाइरहेका हुनाले कमाउनै पर्ने रहेछ भन्ने निष्कर्षमा व्यक्ति पुग्छ । यो आदर्शको सामूहिक स्खलन हो । 

”Employees who are considered meritorious in public service will go to the revenue as long as they get them”

नयाँ पुस्ताको कर्मचारी पनि यहाँले देख्नुभयो । केही पुस्तान्तर पाउनुभयो ?

अहिले ‘ब्युरोक्रेसीमा मिलेनियम जेनेरेसन’ आउन थालेको छ । सदाचारिताको मामिलामा यो पुस्ताले झन् कम स्कोर गरिरहेको छ भन्दा मलाई ज्यादै पीडा हुन्छ । कम्तीमा पहिले–पहिले त कर्मचारीहरू आखिर यही देशमा बस्ने हो भन्ने सोच्थे । अनि, केही देश र समाजका लागि गर्न पर्छ भन्ने ठान्थे । यो पुस्ता पूराका पूरा व्यक्तिवादी छ । चित्त नबुझे ऊ समाज र देश छाडेर युरोप–अमेरिका जान जतिखेर पनि तयार छ । त्यसैले, राज्यसंयन्त्रलाई सुधारौं र यो सुधारको म संवाहक बनौं भन्ने पुरानो पुस्तामा बचेखुचेको चेत पनि यो पुस्तामा छैन । म यो कुरा तालिमहरूमा उनीहरूकै अघिल्तिर भन्ने गर्छु । उनीहरू हाँस्छन् कुरा सुनेर, होइन भन्दैनन् । यस्तो छ अवस्था । 

तुलनात्मक रूपले पहिलेका कर्मचारी सदाचारी थिए ?

डरले पनि सदाचारी हुनुपर्ने अवस्था थियो । किनभने, पञ्चायतमा पर्चाको तरबार थियो । दरबारमा कसैले उजुरी गर्‍यो भने राजाले पर्चा निकालेर जागिर खाइदिन्थे । त्यसैले दरबारियाबाहेक अरूले घूस खाने आँटै गर्न सक्दैनथे । खाए पनि डराइडराइ सानो स्कलेमा खान्थे । अहिले कसैसँग कसैको डर छैन । घूस खुलेआम छ । पैसा नखुवाइ काम हुन्न कहीं पनि । यस्तो पनि हुन्छ त ? यत्रो राजनीतिक फड्को मारिसक्दा पनि नागरिकले त्यसको मूल्य भने राज्यसंयन्त्रमा देख्न पाएका छैनन् । हाम्रो कर्मचारीतन्त्रले भ्रष्टाचारको विश्वव्यापी स्कोरमा ३४ अंक ल्यायो । यो भनेको त फेल हो नि । देशले यत्रो फड्को मार्दा भ्रष्टाचार चाहिँ झन् बढ्ने भनेको लाजमर्दो कुरा हो । 

यो 'लाज’लाई कसरी हटाउने त ?

पहिले त, आदर्श ‘रोल मोडल’हरू तयार हुनुपर्‍यो । म त्यो ‘मोडल’ हुन्छु भन्ने भाव कम्तीमा केही प्रतिशतमा त आउनुपर्‍यो नि । नैतिक संगठन बनाउनुपर्‍यो सरकारी अफिसहरूमा । नैतिक पूर्वाधार खडा गर्नु पर्‍यो । त्यो भनेको के भने, नैतिक निर्णयहरू गर्ने । एउटाको आचारविचार अर्काले जाँच्ने र त्यसलाई खुला छलफलको विषय बनाउने । समाजमा पनि आदर्श र सदाचारी जीवनलाई प्रोत्साहन दिने संयन्त्रहरू बनाउने । यसो गर्दा सच्चिन्छ । 

एकले अर्कालाई हेर्ने संयन्त्र के अहिले छैन र ? 

छ तर मिलिभगत छ अहिले । कानुनी मिलिभगत छ । लेनदेनमा मिलिभगत छ । अब व्यवहारमा देखिएको तडकभडक, उरलधुरल खर्च र अपत्यारिलो जीवनशैलीलाई समाजले प्रश्न उठाउने, एकअर्कालाई प्रश्न गर्ने र साथीभाइहरूले यसलाई औंल्याउने परिपाटीको सुरुवात गर्न पर्‍यो भनेको हो मैले । हो, यसो गर्दा समय लाग्ला । तर, संस्कार बसाल्न आजको आज सम्भव कहाँ हुन्छ र ? हात्तीको बच्चालाई साङ्लाले बाँधिन्छ सानोमा । पछि ठूलो भएपछि एक लात्ताले भाँच्न सक्छ साङ्लो बाँधेको खाँबोलाई । तर, सानोदेखि बस्दै आएकाले उसमा खाँबोमा बाँधिएको प्रति विरोधी भावले छुँदैन र एउटा परिधिमा बस्ने बानीको ऊ अभ्यासी हुन्छ । नैतिक जीवन पनि यस्तै हो । सानोदेखि प्रयास र अभ्यास दुवै गर्दा पछि बानी पर्छ । तर, समय त लाग्ने नै भयो । हाम्रो समाज अहिले नैतिक छैन । यही समाजबाट आएको कर्मचारी घूस खान्छ, नेता फटाहा कुरा गर्छ र झन् धेरै भ्रष्टाचार गर्छ । व्यापारी कालोबजारी गर्छ । अनि, यी सब मिलेका छन् । यो हुन दिन भएन । अब शिक्षा प्रणालीमा पनि नैतिक पाठ राख्नुपर्छ । हाम्रो पालामा हितोपदेश, मित्रलाभ, पञ्चतन्त्र इत्यादि पढाइन्थ्यो, जसले कलिलो मस्तिष्कमा नैतिक जीवनप्रतिको गहिरो लगाव सिर्जना गर्थ्यो । त्यसले केही न केही प्रभाव पार्छ पछि गएर । अहिलेका नानीबाबुलाई यो सिकाइएन, ज्यादै ठूलो भूल भइरहेको छ । 

तपाईं लोक सेवामा गएपछि नैतिक परीक्षा लिन सुरु गर्नुभएको थियो, त्यसले केही प्रभाव पार्‍यो ?

पारेन । लोक सेवामा मैले ‘इथिकल भ्यालुज’ भन्ने एउटा सय पूर्णाङ्कको पेपर नै राखें सहसचिवका लागि । यसमा जाँच दिँदा साह्रै राम्रो लेख्नेहरूले नियुक्ति भएको भोलिपल्टदेखि घूस खान थालेको पाएँ । साह्रै नमज्जा लाग्यो । मेधावी भनिएकाहरू पाएसम्म राजस्वमा जान्छन्, त्यसपछि गृह रोज्छन् । हुलाकमा त कोही पनि जान चाहँदैनन् । यो त्यही कमाउन पाइन्छ भन्ने लालसाले हो । तर, यसो भन्दैमा प्रशासन संयन्त्रमा असल मानिसै छैनन् भन्ने बुझिएला । त्यो भनेको होइन, केही राम्रा मानिस अझै छन् । तर ती कुनामा छन् । अल्पमतमा परेका छन् । यो पढ्दा तिनको चित्त नदुखोस् । पहिले अफिसर लेभल, नायब सुब्बा इत्यादिका लागि मालपोत, यातायात, वैदेशिक रोजगार, अध्यागमन आदि रोजा ठाउँ थिए । त्यहाँ ठूलो स्केलमा अप्रेसन भएर मुद्दा चल्न थालेपछि अचेल कोही जानै मान्दैनन्, किनभने रिस्क बढी भयो । जबकि, सदाचारी मान्छेलाई यस्तो कुनै रिस्क भन्ने नै हुँदैन । 

”Employees who are considered meritorious in public service will go to the revenue as long as they get them”

सदाचारी बनून् भनेर यहाँहरूले लोक सेवा पास गर्नेहरूलाई विपश्यना ध्यान गर्न पनि पठाउन थाल्नुभएको थियो क्यार एक पटक, केही सुधार भयो ?

 पठाउन थालेको त हो । तर, ध्यान गर्न छाडेर भागेछन् । पछि स्टाफ तालिम केन्द्रमै बिहान–बिहान योग गर्न सिकाउन थालिएको छ । 

निजी क्षेत्रको सेवा प्रवाहमा ज्यादै चुस्तता छ, तर कर्मचारीतन्त्र सधैं उस्तै सुस्त छ । किन हो ?

यसमा धेरै कारण छन् । यसको निराकरण भनेको सकेसम्म ‘डिजिटाइजेसन’ गर्ने हो, संयन्त्र र सेवा प्रवाहलाई । यसो भयो भने सेवा दिने र लिनेको भेटै हुन्न । भेटै नभएपछि घूसको दायरा घट्छ वा हराउँछ । तर समस्या के भने, कर्मचारीतन्त्रमा ‘लुडाइट्स’हरू छन् । यो भनेको नवीन प्रविधिको विरोध गर्नेहरू हुन् । नवीन प्रविधि हाकिमले जानेका हुन्नन् । त्यसैले ती आफूले नजानेको प्रविधि भित्र्याउन अनिच्छुक हुन्छन् । बेलायतमा वाष्प इन्जिनको विकास हुँदा हाते तानले कपडा बुन्ने बुनाउने त्यहाँको कर्मचारीतन्त्रले यसको विरोध गरेको थियो र वाष्प इन्जिन जलाएको थियो । तर, प्रविधि र नयाँ प्रयोग समयको माग हो । कसैले ढिलाइसम्म गर्ला, त्यसलाई रोक्न सक्दैन । अर्को, कारण चाहिँ उही खाइपाइ आएको स्रोत हराउँछ भनेर हो । ई–भेइकलहरू चलाउन सरकारी चालकले मानेनन्, ट्रायल सेन्टरका कर्मचारीले सीसीटीभी बिगारिदिए भन्ने घटनाहरू यदाकदा बाहिर आउँछन् । यो अति हो । यस्तो अतिले चल्न सक्दैन प्रशासन । प्रविधिको विकास र नैतिक प्रशिक्षण दुवैलाई सँगै अघि बढाउँदै लगे हाम्रो अवस्था सुधारिन्छ । अर्कोतिर, राम्रो अभ्यासलाई पनि फैलाउँदै लानु पर्छ । जस्तो : लोक सेवा आयोगको कुरा गरौं । हाम्रोजस्तो निराशाजनक अवस्थामा यो निकाय चाहिँ शतप्रतिशत निष्पक्ष छ । यस्तो संस्थालाई जोगाउन पर्छ र अन्यत्र पनि यस्तै बनाउन पर्छ । 

यहाँ लोक सेवा आयोगमा गएपछि के गर्नु भयो ?

पहिलो दिनमै हामीले अनलाइन दरखास्त लिने निर्णय गर्‍यौं । त्यसले लोक सेवा कार्यालयमा दसौं हजारको लाइन लाग्ने अवस्थाको अन्त्य गर्‍यो । त्यहाँ कपी जाँच्न कपी घरघर पठाउने चलन रहेछ । जसले गर्दा श्रीमतीको र छोरीको कपी जाँचमा पास गराउने एउटा गलत चलखेल बाहिर आएको थियो । त्यसलाई रोक्न हामीले लोक सेवा कार्यालयभित्रै जाँच्ने व्यवस्था गर्‍यौं । त्यसमा पनि कपीको परीक्षण दुई जनाले गर्ने र औसत स्कोरलाई आधार मान्ने व्यवस्था मिलायौं । यसले सकेसम्म योग्यतातन्त्रलाई थप बलियो र मजबुत बनाएको छ ।

कर्मचारी संयन्त्रको कुरा गर्दा छिमेकी र अन्य देशको तुलानामा हामी कहाँ छौं ?

अन्यत्र पनि कर्मचारीको आलोचना हुन्छ । धेरैथरी जिम्मेवारीहरू लिने र भूमिका बदलिइरहने हुनाले यिनीहरू बहुटाउके जीव हुन् भन्छन् कतै । जागिर खाएपछि अवकाशबाट मात्रै हट्ने हुनाले टाउको नभएका किला हुन् भन्छन् कतै । किनभने, टाउको नभएको किला एकपटक ठोकेपछि निकाल्न मिल्दैन । कतै अनिर्वाचित सिनेट हुन् भन्छन्, किनभने सांसदहरूझैं कर्मचारी पनि शक्तिशाली छन् र जनताप्रति उत्तरदायी हुनुपर्छ यिनले पनि । यस्तो आलोचना भए पनि काम भने गरेकै छन् अन्यत्र । हाम्रोमा अलिक भद्रगोल नै छ । भनिहाले नि, करप्सनमा ३४ मात्रै स्कोर छ । त्यो पास मार्क पनि होइन । राजनीतिज्ञ र कर्मचारीको मिलिभगत छ । नत्र ग्रिज मनीबाहेक ठूलो भ्रष्टाचार सम्भव नै हुँदैन । 

एउटा बिन्दुबाट मानिस आवश्यकताबाट मुक्त भइसक्छ । तर पनि घूस त खाइरहन्छ नि ?

घूस र भ्रष्टाचार नशा हो, जुवाजत्तिकै हो । त्यसैले ऊ आवश्यकै नपर्ने पैसाहरू संग्रह गर्ने अवस्थामा पुग्छ र आफूलाई पनि बर्बाद पार्छ अनि देशलाई पनि । जीवनको एउटा कालखण्डमा गएर अब म घूस खान्न भनेर कसैले काम गरेछ भने पनि एकदम ठूलो कुरा हुने थियो । यसलाई मास्लोले सेल्फ एक्चुएलाइजेसनको तह भनेका छन् । यो तहमा त केही अपवादबाहेक हामीकहाँ कोही पुग्दै नपुग्ने भयो । 

भन्नाले, कहाँ पुगेपछि 'सेल्फ एक्चुएलाइजेसन’को तहमा पुग्नुपर्ने हो ?

सुरुवाती अवस्थामा त अनेक आवश्यकता होलान्, मानिस सिक्दै पनि जान्छ । तर सहसचिव, सचिव, मुख्य सचिव भइसकेपछि पनि उही बानी हुनु भनेको मानसिक तह नबढ्नु हो । आन्तरिक विकास नहुनु हो र जीवन फराकिलो दायरामा नपुग्नु हो । 

मुख्य सचिवलाई नै यत्रो आरोप लागिरहेको छ, के भन्नुहुन्छ ?

त्यही त म भनिरहेको छु । यो दुःखद हो । एउटा मात्रै होइन, बारबार अरू केसमा पनि जोडेर नाम आएपछि मान्छेलाई शंका भयो । यस्तो अवस्थामा उहाँलाई धेरै बेर राख्न हुँदैन । तुरुन्त यसलाई अख्तियारले टुंग्याउनुपर्छ । कर्मर्चारीको माउलाई यो आरोप लागेपछि सबको मनोबल गिर्छ । अनि नैतिकता सामूहिक रूपमा स्खलन हुन्छ । जेजस्तो भए पनि, मुख्य सचिवलाई यस्तो सिधासिधा भ्रष्टाचारको आरोप लागेको थिएन यसअघि । यति प्रश्न उठिसकेपछि उहाँले निष्पक्ष छानबिन गर्न मार्ग प्रशस्त गर्नुपर्छ । प्रश्नको निरूपण नहुन्जेल अरूलाई नैतिक बल दिन सक्नु हुन्न उहाँले । नैतिक बल दिन नसक्नेले नेतृत्व गर्न सक्दैन र मिल्दैन । अन्तरआत्माप्रतिको उत्तरदायित्व भन्ने पनि हुन्छ । त्यसमा ठेस लागेपछि देवेन्द्रराज पाण्डेले राजीनामा दिनुभएकै थियो । रामेश्वर खनालले मन्त्रीले सामान्य गोपनीयता भंग गर्दासमेत पद छोडेकै हो । यो अहिलेका मुख्य सचिवले पनि भुल्नु हुँदैन । राति निद्रा लाग्छ कि लाग्दैन मलाई भनेर सोच्नुपर्छ कतिपय अवस्थामा । कुनै काम गर्दा र ढिट भएर टाँस्सिरहँदा त्यसले झन् असर पार्छ । त्यो बुझ्नुपर्छ । एक–दुईलाई छाडेर भन्दा मुख्य सचिवहरू रोलमोडल हुन सकेनन् । सामूहिक पतनको एउटा कारण यो पनि हो । ”Employees who are considered meritorious in public service will go to the revenue as long as they get them”

म्यागेजिन

कान्तिपुर

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully