कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लक्ष्य’ का सारंगी सारथि

अनिश भट्टराई

गण्डकी — पोखरा–१६ बाटुलेचौरका समीर गायक हालै विवाह बन्धनमा बाँधिए । आफ्नो जीवनशैली फेरिने र केही आर्थिक जोहो पनि हुने भएकाले बेलायत जाने सोच बनाएका थिए उनले । तर विद्यार्थी भिसामा बेलायत जानबाट उनलाई रोक्ने घरको आर्थिक अवस्था त थियो नै ।

‘लक्ष्य’ का सारंगी सारथि

त्योसँगै अर्को कारण थियो, उनको बाला प्रेम । सारंगी उनको बाला प्रेम हो । २ कक्षाबाटै सारंगी चलाउन सिकेका समीर अहिले पनि सारंगीमै आश्रित छन् । उनको जीविको सारंगीबाटै चल्छ । उनी स्थानीय दीप हाउजिङमा दैनिक सारंगी बजाउन पुग्छन्, स्थानीय युवाले खोलेको ब्यान्ड ‘लक्ष्य’ मा सारंगी बजाउँछन् । सारंगी सिकाउन कास्कीको लेखनाथदेखि छिमेकी जिल्लामा पनि सांगीतिक कार्यक्रमका लागि पुग्छन् । उनी अरू कुनै पनि क्षेत्रमा लागेका छैनन् । सारंगी नै उनको व्यस्तता र फुर्सद हो ।

लोकसंगीतका हस्ती झलकमान गन्धर्वका पनाति पुस्ता हुन्, समीर । झलकमानझैं सारंगी रेट्दै घर–घर, आँगन–आँगन नपुगे पनि समीर पनि सारंगीकै भरमा बाँचेका छन् । बाटुलेचौरको गन्धर्व बस्तीका धेरैले अहिले सारंगी रेट्दै, गाउँदै हिँड्न छाडिसके । तर समीरले छाडेका छैनन् । समीरका अनुसार केही वर्षअघिसम्म गाडीमा सारंगी रेटेर गीत गाउँदै पैसा उठाउने प्रशस्तै भेटिन्थे । अहिले त्यस्तो छैन । सारंगी रेट्न जान्ने गन्धर्व कम छन् । गाउँमै गन्धर्व भाका गाउन जान्नेहरू औंलामा गन्न सकिने रहेका छन् ।

समीरको एउटै आशा छ(– सारंगीका तार बजिरहुन्, पुस्तौंपुस्ता । सारंगी घन्किरहोस्, घरघर । यसकै लागि उनले बाटुलेचौरमा ‘एक घर एक सारंगी’ कार्यक्रम नै चलाए । कोभिडपछि उनले चलाएको यो कार्यक्रममा ५० बढीलाई सिकाए पनि । उनले सारंगी बजाउन सिकेको काठमाडौंमा हो । समीर २ कक्षामा हुँदा उनी पढ्न काठमाडौं गएका थिए । बेल्जियमबाट आएकी एक महिलाले उनीलगायत २० जनालाई काठमाडौंमा पढ्न ‘स्पोन्सर’ गरिदिएकी थिइन् । अहिले सोही समूहले उनीहरूलाई सारंगी सिकाउन र सारंगीलगायतका वाद्यवादक किन्न लगानी गरिदिने गरेको समीर बताउँछन् । ‘काठमाडौं गएपछि नै त्यहाँका शिक्षकले बजाउने, गाउने सिकाइदिनुभयो, संगीत सिक्ने मेसो त्यहीँ पाएँ,’ समीर सम्झन्छन् ।

समीर आफ्नो बुबा पुस्ताले सारंगी नबजाइदिँदा नयाँ पुस्तालाई धौ भएको बताउँछन् । ‘सारंगीमा जेनेरेसन ग्याप रह्यो, बुबाहरूले बजाइदिनुभएन, हामी त आफ्नो चिनारी हो भनेर मात्र बजाएका हौं,’ समीरले भने । उनका बुबा पुस्ताले नगरपालिकामा जागिर पाएका थिए । पोखरामा कृष्ण थापा मेयर भएपछि उनले बाटुलेचौरका स्थानीयलाई सरसफाइ शाखामा जागिरे बनाइदिएका थिए । जागिर पाएपछि उनीहरू सारंगीमा आश्रित रहनुपरेन ।

समीर अहिले झलकमान पाठशालामा पनि सारंगी सिकाउँछन् । नेपाल गन्धर्व सामुदायिक विकास केन्द्रबाट चलाइएको उक्त पाठशालामा उनले निःशुल्क सारंगी सिकाउँछन् । सारंगी सिकाएबापत केन्द्रबाट पाउने पारिश्रमिकबारे भने उनले बताउन चाहेनन् ।

समीर कतिपय स्कुलमा सारंगी सिकाउन पुग्छन् । विन्ध्यवासिनी मन्दिरको संगीत पाठशालामा पनि सारंगी सिकाउँछन् । ‘सारंगी देख्दा गितार जस्तो रहेछ, के हो ? भनेर सोध्छन् । कसैले भायोलिन पनि भन्छन्,’ नयाँ पुस्ताले सारंगी चिन्नै छाडेको समीरको दाबी छ । उनले विद्यालय, दीप हाउजिङ, विन्ध्यवासिनी मन्दिरमा सारंगी सिकाएर नै आफ्नो जीविका चलाएका छन् । यसबाहेक उनले धेरै पारिश्रमिक लक्ष्य व्यान्डबाट पाउँछन् । लक्ष्य ब्यान्ड बाटुलेचौरकै स्थानीयले बनाएको हो । यस ब्यान्डमा झलकमान गन्धर्वका पनाति सुदीप गायकले बाँसुरी बजाउँछन् । लक्ष्य ब्यान्डले महिनामा ३ वटा शो गर्छ, कम्तीमा । विद्यालय, मेलामा धेरै लक्ष्य ब्यान्ड नै बोलाइन्छ । पोखराभित्रै भए ४० हजार र बाहिर भए ९० हजारसम्म लक्ष्य ब्यान्डले पैसा लिन्छ । यसबाट ब्यान्ड पनि फैलिएको छ । ब्यान्डका सदस्यको जीविको पनि धानिएको छ ।

समीरलगायत बाटुलेचौरका स्थानीयसँग खेतीकिसानी गर्न जमिन छैन । कृषि गर्न सक्दैनन्, नगरपालिकाबाट सरसफाइ शाखाको जागिर खाने हो भने अरू पेसामा आश्रित हुन सक्ने अवस्था पनि छैन । समीरको अघिल्लो पुस्ताले सारंगी छाडिसक्यो । समीर जस्ता युवाले अहिले त्यही सारंगी र पुराना बाजालाई जीविकोको स्रोत बनाएका छन् । ‘बस्तीमा ७०–७५ जहान छन्, धेरै सरसफाइ शाखामा हुनुहुन्छ, सारंगी नै बजाएर हिँड्ने त अहिले औंलामा गन्न सकिने छन्,’ समीर भन्छन् ।

प्रकाशित : माघ १८, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?