इरानको जेलमा रहेकी नरगिसलाई नोबेल शान्ति

इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीले महिलामाथि भएका थिचोमिचोविरुद्ध पत्रकारितामार्फत आवाज उठाउँदै आएकी थिइन्
उपेन्द्रराज पाण्डेय

काठमाडौँ — यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले शुक्रबार सन् २०२३ को विजेता घोषणा गरेको हो ।

इरानको जेलमा रहेकी नरगिसलाई नोबेल शान्ति

नरगिसलाई इरान सरकारले तेहरानस्थित कुख्यात इभिन कारागारमा राखेको छ । पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी उनलाई यसै वर्ष संयुक्त राष्ट्रसंघले प्रेस स्वतन्त्रता पुरस्कार दिएको थियो । नरगिससहित इरानी पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई गत मेमा प्रेस स्वतन्त्र पुरस्कार प्रदान गरिएको थियो ।

५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणाअघि नै सीएनएनले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको छ ।

विभिन्न मुद्दामा पटक–पटक जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।

उनलाई १३ पटक पक्राउ गरिएको छ भने जम्मा ३१ वर्ष जेल सजाय सुनाइएको छ । पछिल्लो पटक नरगिसलाई १० वर्ष ९ महिना जेल सजाय सुनाइएको छ । थप १५४ कोर्रा सजाय सुनाइए पनि उक्त सजाय अहिलेसम्म दिइएको छैन । उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । नरगिसको साहसिक संघर्षले व्यक्तिगत रूपमा ठूलो क्षति भोग्नुपरेको रोयल स्विडिस एकेडेमीले जनाएको छ ।

सीएनएनका अनुसार नरगिसलाई सार्वजनिक रूपमा मानवअधिकारका पक्षमा आवाज उठाएकै कारण राज्यले यातना दिइरहेको छ । जेलभित्रबाटै जेलमा हुने यौन हिंसाका बारेमा सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको र मानवअधिकारका पक्षमा सक्रियता देखाएकै कारण गत अगस्टमा थप १ वर्ष जेल सजाय थप गरिएको थियो । भौतिकशास्त्रको विद्यार्थी रहेकै बेलादेखि नरगिसले महिला समानता र अधिकारका पक्षमा आवाज उठाउँदै आएकी थिइन् । सन् २०११ मा उनलाई पहिलो पटक पक्राउ गरिएको थियो ।

इरानी जेलमा महिलामाथि हुने गरेको दमनका बारेमा ‘ह्वाइट टर्चर : इन्टरभ्युज विथ इरानियन वुमेन प्रिजनर्स’ शीर्षकमा उनको पुस्तकसमेत प्रकाशित भएको छ ।

नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कारमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।

गत वर्ष बेलारुसका मानवअधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसका दुई संस्थाले नोबेल शान्ति पुरस्कार पाएका थिए । रुस र युक्रेनको मानवअधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई शान्ति तथा प्रजातन्त्रका लागि नागरिक समाजको महत्त्वलाई प्रदर्शित गरेको भन्दै पुरस्कार प्रदान गरिएको थियो ।

पहिलो पटक नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने अक्टोबर ९ मा घोषणा हुनेछ ।

प्रकाशित : आश्विन २०, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?