काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको अर्थतन्त्रलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने वा ‘ड्राइभिङ सिट’ भनेर प्रशंसा गरिने निजी क्षेत्रको इन्जिन भने बिग्रिँदै गएको बताएका छन् । संकुचित नीतिहरूका कारण निजी क्षेत्र र समग्र अर्थतन्त्र शिथिल बनेको उनको टिप्पणी छ ।
आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनमिक सम्मिट २०२४’ को पहिलो सत्र ‘बजेटमा निजी क्षेत्रका मुद्दा, नीति निर्माताका योजना’ मा बोल्दै अध्यक्ष अग्रवालले उत्पादनमूलक क्षेत्र, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्रका संकुचन आउनु चिन्तनीय विषय भएको उल्लेख गरे
। भूकम्प, नाकाबन्दी, कोरोना महामारी र रुस-युक्रेन युद्धजस्ता आन्तरिक र बाह्य संकटले आपूर्ति शृंखलामा असर गर्दासमेत सरकारको उचित नीतिका कारण त्यो बेला निजी क्षेत्र उत्साहित रहँदा आर्थिक वृद्धि हासिल भएको स्मरण गर्दै अध्यक्ष अग्रवालले अहिले संकुचित नीतिले गर्दा शिथिलता छाएको भनाइ राखे ।
‘आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म भूकम्प, ६-६ महिनाको लकडाउन, कोरोना महामारीका कारण काम गर्न नसक्ने वातावरण नहुँदा समेत त्यो बेला नियामक निकायका नीति, मौद्रिक र वित्त नीतिले सहुलियत प्रदान गर्दा निजी क्षेत्र उत्साहित भएर अघि बढेको थियो,’ उनले भने, ‘आव २०७७/७८ मा नेगेटिभ गएको जीडीपी ग्रोथलाई पनि हामीले ३.९ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्यौं । ७८/७९ मा पनि ५.८ प्रतिशतको आर्थिक वृद्धि दर थियो, हामी लगभग पुरानै लयमा फर्किने अवस्थामा पुगेका थियौं तर २०७८/७९ मा संकुचित नीति आएपछि त्यसको फलस्वरूप आव ७९/८० मा आर्थिक वृद्धि दर १.८६ प्रतिशत मात्रै भयो ।’
अन्य प्रभावभन्दा राज्यका निकायले लगानीमैत्री नीति प्रवर्द्धन नगर्ने संकुचित नीति ल्याएमा अर्थतन्त्र अगाडि बढ्न नसक्ने अग्रवालको विश्लेषण थियो ।
अध्यक्ष अग्रवालका अनुसार आगामी आवको नीति तथा कार्यक्रम र बजेटको पहिलो प्राथमिकता नै आर्थिक शिथिलता अन्त्य गर्ने र निजी क्षेत्रलाई नितिगत संरक्षण गर्ने खालको हुनुपर्छ । ‘निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सिट भनिन्छ तर अहिले निजी क्षेत्रको इन्जिन खटारा भइसक्यो,’ उनले भने, ‘यसलाई लुब्रिकेसन, मर्मत सम्भार चाहिएको छ । अर्थतन्त्रको मुहान यसरी क्षतिग्रस्त हुँदै गए थप संकट आउन सक्छ ।’
