वार्षिक ३-४ खर्बको आयात गरेर हामी आत्मनिर्भर बन्न सक्दैनौं : अर्थसचिव मरासिनी

वैशाख ३०, २०८१

कान्तिपुर संवाददाता

We cannot become self-sufficient by importing 3-4 trillion annually: Finance Secretary Marasini

काठमाडौँ — अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हरेक वर्ष ३-४ खर्बको आयात गरेर नेपाल आर्थिक रूपमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । खुला अर्थतन्त्रको नीति अँगालेको सानो देशका रूपमा नेपालबाहिर घटनाहरूले धेरै तरंगित हुने गरेको भन्दै उनले यसलाई प्रतिकार गर्न आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्नुपर्ने औंल्याए ।

आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनमिक समिट २०२४’ को पहिलो सत्र ‘बजेटमा निजी क्षेत्रका मुद्दा, नीति निर्माताका योजना’ मा बोल्दै अर्थ सचिव मरासिनीले स्थानीय उत्पादन पर्याप्त नभएकाले हामी अन्तर्राष्ट्रिय घटनाले तरंगित हुनुपरेको दोहोर्‍याए । ‘कोभिड महामारीपछि नेपालमा आयात झ्याप्पै बढ्यो,’ उनले भने, ‘रुस-युक्रेन युद्धले गर्दा आपूर्ति श्रृंखला अवरुद्ध हुँदा विश्वभर पेट्रोलियम पदार्थको भाउ बढ्यो । त्यसको आयातमा हामीले उल्लेय डलर खर्च गर्‍यौं । हाम्रो अर्थतन्त्रमा त्यसले तरंग ल्यायो ।’

यस्ता बाह्य प्रभावबाट कम प्रभावित हुन वा त्यसको प्रतिकारका लागि कसरी आफ्नो आर्थिक रेजिलियन्स बढाउने भन्नेबारे बहस हुनुपर्ने अर्थसचिव मरासिनीको विचार छ ।  नेपाललाई आभारभूत स्तरमा आत्मनिर्भर बनाउन भुईंतहबाटै पहल थाल्नुपर्ने पनि उनले बताए । ‘निजी क्षेत्रलाई मेरो के आग्रह छ भने तपाईंहरू इन्जिन अफ ग्रोथ भएकाले यो ग्रोथको इन्जिनलाई ग्रामीण क्षेत्रमा पनि जोड्नुहोस्,’ उनले भने, ‘प्रदेश र पालिकालाई पनि विकासको इन्जिनमा आबद्ध गर्नुपर्‍यो ।’

कान्तिपुर

Link copied successfully