कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

के विश्वकै धेरै जनसंख्या भएको मुलुक बनिसक्यो भारत ?

राष्ट्र संघले अप्रिल मध्यमा भारतको जनसंख्या चीनको भन्दा बढी हुने प्रक्षेपण गरे पनि भारतमा जनगणना नहुँदा अलमल, सरकारको कमजोरी देखिने डरले मोदी सरकारले जनगणना नगरेको आरोप

काठमाडौँ — गत फेब्रुअरीमै संयुक्त राष्ट्र संघको जनसंख्या विभागले अप्रिल मध्यमा छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने प्रक्षेपण गरेको थियो । अप्रिलको मध्यसम्ममा भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी हुने अनुमान उक्त प्रक्षेपणमा गरिएको थियो । 

के विश्वकै धेरै जनसंख्या भएको मुलुक बनिसक्यो भारत ?

भारतमा सन् २०२१ मै जनगणना हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भारतमा ठ्याक्कै कति जनसंख्या छ छ भनेर एक वर्षसम्म पनि थाहा नहुने सम्भावना रहेको बताएको छ ।

आगामी अप्रिल १४ मा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने राष्ट्र संघले प्रक्षेपण गरेको छ । सन् २०२१ मा भएको चीनको सातौँ राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड रहेको छ ।

सन् २०११ को जनगणनाअनुसार भारतको जनसंख्या १ अर्ब २१ करोड रहेको छ । त्यसयता भारतको जनसंख्या २१ करोड थपिएको छ जुन संख्या ब्राजिलको जनसंख्याबराबर हो । भारतीय विशिष्ट पहिचान प्राधिकरण(यूआईडीएआई) का अनुसार २०२२ को डिसेम्बर ३१ सम्म १ अर्ब ३० करोड मानिस आधार कार्डका लागि दर्ता भएका छन् ।

त्यसो भए कति छ त भारतको जनसंख्या ?

भारतले चीनलाई जनसंख्यामा उछिन्दै गर्दा वासिंटन पोस्टमा गेरी सी र करिष्मा मेहरोत्राले एउटा खोजमूलक समाचार लेखेका छन् । चीनलाई जनसंख्यामा उछिने पनि उक्त संख्यापछाडि ठूलो कथा रहेको उनीहरूको रिपोर्टिङमा उल्लेख छ । भारतमा उत्तर र दक्षिण भेगमा सामाजिक, आर्थिक तथा लैंगिक अवस्था निकै फरक रहेको रिपोर्टमा उल्लेख छ । तमिलनाडु र बिहारका २ महिलाका कथा समेट्दै गरिएको उक्त रिपोर्टिङमा शिक्षा, स्वास्थ्य संस्थाको पहुँच तथा गर्भनिरोधक साधनको उपलब्धताका कुरामा अझै पनि भारतको ठूलो हिस्सा पछाडि रहेको उल्लेख छ ।

सन् १९५० देखि लगातार सबैभन्दा बढी जनसंख्या भएको देश हो चीन । भारतको जनसंख्या करिब १ अर्ब ४३ करोड पुगेको अनुमान गरिएको छ । राष्ट्रसंघले सन् १९५० देखि जनगणना गर्न लागेको हो । त्यतिबेला विश्वको जनसंख्या २ अर्ब ५० करोड थियो भने त्यो अहिले ८ अर्ब नाघिसकेको छ । राष्ट्र संघका अनुसार आगामी ३० वर्षमा विश्वको जनसंख्या २ अर्ब बढ्ने छ । सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब ७० करोड पुग्ने अनुमान छ । गत नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुगेको थियो ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्दै भारत

विभिन्न रिपोर्टहरूमा भारतले चीनको जनसंख्यालाई उछिनेको उल्लेख भए पनि भारतले आधिकारिक रूपमा भने पुष्टि गरेको छैन । विज्ञहरूले रोजगारी, घर, साक्षरता दर, बसाइसराइँको प्रवृत्ति, शिशुमृत्युदरलगायतका तथ्यांक अद्यावधिक नभएकाले पनि जनगणनाको अन्तिम तथ्यांक आउन समय लाग्ने बताएका छन् । वास्तविक तथ्यांक थाहा नहुँदा एसियाली अर्थतन्त्रमा प्रभावशाली मुलुकका रूपमा रहेको भारतको सामाजिक तथा आर्थिक योजना तथा रणनीति तयारीमा समेत असर पुग्ने रोयटर्सले जनाएको छ। अहिले पनि सन् २०११ मा भएको जनगणनाको तथ्यांकअनुसार नै सरकारी नीति बन्ने गरेको सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका अधिकारी बताउँछन् ।

विपक्षी दल कंग्रेसले सरकारले आफ्ना असक्षमतालाई लुकाउन पनि जनगणनामा ढिलाइ गरेको आरोप लगाएको छ । बेरोजगारीजस्ता राजनीतिक रूपमा संवेदनशील मानिएका विषयवस्तुका तथ्यांक सन् २०२४ को लोकसभा चुनावअघि बाहिर नआओस् भन्ने सत्तारुढ बीजेपीको चाहना रहेको कंग्रेसको आरोप छ ।

कंग्रेस प्रवक्ता पवन खेराले रोयटर्ससँगको कुराकानीमा भनेका छन्, 'यो सरकारले प्राय: तथ्यांकसँग दुस्मनी अपनाइरहेको छ, महत्त्वपूर्ण विषयहरू कोरोनाका कारण भएका मृत्युका विषयमा । हामीले मोदी सरकारले तथ्यांक लुकाउने कुरालाई कसरी प्राथमिकता दिइरहेको छ भन्ने देखिरहेका छौं ।'

जनसंख्याविद्हरू भने भारतको वास्तविक जनसंख्या कहिलेसम्म आउँछ भन्नेमा निश्चित छैनन् । बेल्जियमको क्याथोलिक दु लुभाँ विश्वविद्यालयका जनसंख्याविद् ब्रुनो सुमेकर समाचार संस्था एपीसँगको कुराकानीमा भन्छन्, 'भारतले चीनलाई कहिले उछिन्छ भन्ने कुरा थाहा पाउन हामीलाई गाह्रो छ । भारत मात्र होइन चीनकै जनसंख्याका बारेमा पनि केही अनिश्चितता छन् ।'

विभिन्न सर्भेबाट आएका गणितीय लेखाजोखा, जन्म र मृत्युका अभिलेखलगायतको सहायतामा यही अप्रिलको मध्यसम्ममा भारतले चीनलाई उछिन्ने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ । 'यो एक मोटामोटी अनुमान हो, एउटा उत्कृष्ट आकलन,' राष्ट्र संघको जनसंख्या अनुमान तथा प्रक्षेपण शाखाका प्रमुख प्याट्रिक जेर्लान्डले एपीसँगको कुराकानीमा भनेका छन् ।

केही वर्षअघिसम्म भारतले चीनको जनसंख्या उछिन्छ भन्ने अनुमान नगरिए पनि चीनमा विगतमा रहेको 'एक सन्तान' नीति र प्रजनन दर घट्दो क्रममा रहेकाले भारत अगाडि आएको हो । अघिल्लो वर्ष मात्र चीनले एक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो ।

भारतमा युवाहरूको संख्या बढी रहेको, प्रजनन दर उच्च रहको र ३ दशकयता शिशु मृत्युदर घटिरहेकाले पनि जनसंख्या बढिरहेको तथ्यांकले देखाउँछ । जनसंख्या कुनै पनि मुलुकको समग्र आर्थिक विकासको आधार हो । काम गर्न सक्ने उमेरको मानिसको संख्या बढी भएकाले पनि भारत श्रमशक्ति र आर्थिक वृद्धिमा अघि बढ्ने अनुमान गरिएको छ । भारतको कुल जनसंख्याको करिब २५ प्रतिशत २५ वर्षमुनि रहेको छ । युवाहरूको संख्या बढी भए पनि सबैलाई रोजगार दिनु भने भारतसामुख चुनौती रहेको छ ।

सहरी जनघनत्व बढ्दै

भारतको राजधानी दिल्लीकै जनसंख्या नेपालको भन्दा बढी रहेको छ । दिल्लीको जनसंख्या करिब ३ करोड रहेको छ । सन् १९८४ मा करिब ७० लाख जनसंख्या रहेको दिल्लीको संख्या तीव्र रूपमा बढेको हो । दिल्लीको विकाससँगै बसाइँसराइँ गर्नेको संख्या बढेकाले पनि जनसंख्या बढेको देखिन्छ ।

त्यस्तै आर्थिक राजधानीका रूपमा रहेको मुम्बई भारतको सबैभन्दा बढी जनसंख्या हुने सहरमा दोस्रो स्थानमा आउँछन् । मुम्बईमा करिब २ करोड मानिस बसोबास गर्छन् । करिब ४० वर्षमा ९० लाखबाट दोब्बरको संख्यामा मुम्बईको जनसंख्या बढेको छ ।

त्यस्तै कोलकाताको जनसंख्या करिब १ करोड ५० लाख रहँदा बेंगलुरुको जनसंख्या १ करोड २० लाख रहेको छ ।

त्यस्तै चीनका पनि राजधानी बेइजिङ, सांघाईलगायतका सहरमा तीव्र रूपमा जनसंख्या बढिरहेको छ । याङ्त्सी नदीकिनारमा रहेको सांघाईको जनसंख्या करिब २ करोड ७० लाख रहेको छ । सन् १९८४ मा सांघाईमा ७० लाख हाराहारीमा मानिसको बसोबास रहेको थियो । सांघाई चीनको आर्थिक कारोबारको केन्द्र मात्र नभई विश्वकै सबैभन्दा ठूलो सिपिङ हबसमेत हो ।

त्यस्तै राजधानी बेइजिङको जनसंख्या पनि करिब २ करोड रहेको छ । ठूलो संख्यामा ग्रामीण जनसंख्यासमेत रहेको चोङकिङमा १ करोड ६० लाख मानिस रहेका छन् ।

प्रकाशित : वैशाख २, २०८० १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?