१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चीनमा अब ३ सन्तान नीति 

काठमाडौँ — चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको छ । पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । 

चीनमा अब ३ सन्तान नीति 

समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले उक्त नीति लागू गर्ने निर्णय गरेको हो । उक्त बैठक राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको थियो ।

यसै वर्षको सुरुवातमा सार्वजनिक भएको जनगणनाअनुसार चीनमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो । जुन १९६० को दशकयताकै कम भएको बताइएको छ । चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ ।

यसअघि चीनले सन् २०१६ मा साढे तीन दशक लामो एक सन्तानको नीतिलाई खारेज गर्दै दुई सन्तानको नीति अँगालेको थियो । दोस्रो आर्थिक शक्तिका रूपमा अगाडि आएको चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो ।

चीनले सन् १९८० देखि एक सन्तानको नीति अवलम्बन गरेपछि जनसंख्यालाई कडाइसाथ नियन्त्रण गर्दै आएको थियो । लामो समयसम्म चलेको जापान विरुद्धको युद्ध, दोस्रो विश्वयुद्ध र आन्तरिक गृहयुद्धका कारण बीसौँ शताब्दीमा मात्र चीनले करोडौँ आफ्ना नागरिक गुमाउनुपरेको थियो । त्यसमाथिको भोकमरी र राजनीतिक कोपभाजनका कारण भोगेको आर्थिक नाकाबन्दीले जर्जर बनेको चीनलाई कम्युनिष्ट शासनको सुरुवातसँगै जनसंख्या नियन्त्रण गर्नुपर्ने चुनौती देखिएको थियो ।

सन् १९७० मा चीनको जनसंख्या ८० करोड नाघेपछि चीनले १९७५ मा ‘ढिलो, लामो र थोरै’ (लेट, लङ एन्ड फिउ) भन्ने नारा अगाडि बढायो । यसको अर्थ ढिलो विवाह गर, लामो समयसम्म बच्चा नजन्माऊ र थोरै जन्माऊ भन्ने थियो । त्यतिबेलै दम्पतीलाई एकमात्र सन्तान जन्माउन प्रोत्साहन गर्दै दुईभन्दा बढी सन्तान नजन्माउन भनियो ।

१९८० देखि चीनमा नयाँ वैवाहिक कानुन लागु भयो । यो कानुनमा एकमात्र सन्तान जन्माउन पाउने प्रावधान थियो, जसलाई निकै कडाइसाथ लागू गरिएको थियो । १९८४ मा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सीमित दम्पतीले दोस्रो सन्तान जन्माउन पाउने नीति ल्याइयो । यसमा दम्पती दुवै एक्लो सन्तान हुनुपर्ने सर्त थियो । यसमा केही अल्पसंख्यक जातिलाई पनि दोस्रो सन्तान जन्माउने अधिकार दिइयो ।

उल्लिखित परिधिभित्र नपरेका दम्पतीले दोस्रो सन्तान जन्माएमा कानुनी कारबाही भोग्नुपर्ने थियो । सन् २००१ मा एक सन्तान नीतिको उल्लंघन गरेर बढी सन्तान जन्माउने दम्पतीलाई निकै ठूलो नगद जरिवाना तिर्नुपर्ने प्रावधानसँगै सरकारी जागिरे भएमा जागिर खोसिनेसम्मको नियम बनाइयो । फलस्वरूप थुप्रै दम्पती बारम्बार गर्भपतन गर्न र जन्मिएको दोस्रो सन्तानलाई सरकारी पन्जिकाधिकारीकहाँ दर्ता नगराइकन अवैध बच्चाको रूपमा लुकाएर राख्न बाध्य थिए ।

तर पछिल्लो समय चीनमा प्रजनन् दर घटेकाले नयाँ नीति अपनाइएको हो ।

प्रकाशित : जेष्ठ १७, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?