कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्दै भारत

आगामी अप्रिल १४ मा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख ७५ हजार ८ सय ५० पुग्ने राष्ट्र संघले प्रक्षेपण गरेको छ ।
एजेन्सी

काठमाडौँ — अबको दुई महिनामा छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने प्रक्षेपण गरिएको छ । आगामी २ महिनामा भारतको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्दै भारत

भारतमा सन् २०२१ मै जनगणना हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भारतमा ठ्याक्कै कति जनसंख्या छ छ भनेर एक वर्षसम्म पनि थाहा नहुने सम्भावना रहेको बताएको छ ।

विज्ञहरूले रोजगारी, घर, साक्षरता दर, बसाइसराइँको प्रवृत्ति, शिशुमृत्युदरलगायतका तथ्यांक अद्यावधिक नभएकाले पनि जनगणनाको अन्तिम तथ्यांक आउन समय लाग्ने बताइएको छ । वास्तविक तथ्यांक थाहा नहुँदा एसियाली अर्थतन्त्रमा प्रभावशाली मुलुकका रूपमा रहेको भारतको सामाजिक तथा आर्थिक योजना तथा रणनीति तयारीमा समेत असर पुग्ने रोयटर्सले जनाएको छ। अहिले पनि सन् २०११ मा भएको जनगणनाको तथ्यांकअनुसार नै सरकारी नीति बन्ने गरेको सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका अधिकारी बताउँछन् ।

विपक्षी दल कंग्रेसले सरकारले आफ्ना असक्षमतालाई लुकाउन पनि जनगणनामा ढिलाइ गरेको आरोप लगाएको छ । बेरोजगारीजस्ता राजनीतिक रूपमा संवेदनशील मानिएका विषयवस्तुका तथ्यांक सन् २०२४ को लोकसभा चुनावअघि बाहिर नआओस् भन्ने सत्तारुढ बीजेपीको चाहना रहेको कंग्रेसको आरोप छ ।

कंग्रेस प्रवक्ता पवन खेराले रोयटर्ससँगको कुराकानीमा भनेका छन्, 'यो सरकारले प्राय: तथ्यांकसँग दुस्मनी अपनाइरहेको छ, महत्त्वपूर्ण विषयहरू कोरोनाका कारण भएका मृत्युका विषयमा । हामीले मोदी सरकारले तथ्यांक लुकाउने कुरालाई कसरी प्राथमिकता दिइरहेको छ भन्ने देखिरहेका छौं ।' सत्तारुढ दल बीजेपी प्रवक्ता गोपालकृष्ण अग्रवालले भने उक्त आरोपको खण्डन गर्छन् ।

आगामी अप्रिल १४ मा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने राष्ट्र संघले प्रक्षेपण गरेको छ । सन् २०२१ मा भएको चीनको सातौँ राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड रहेको छ ।

सन् २०११ को जनगणनाअनुसार भारतको जनसंख्या १ अर्ब २१ करोड रहेको छ । त्यसयता भारतको जनसंख्या २१ करोड थपिएको छ जुन संख्या ब्राजिलको जनसंख्याबराबर हो । भारतीय विशिष्ट पहिचान प्राधिकरण(यूआईडीएआई) का अनुसार २०२२ को डिसेम्बर ३१ सम्म १ अर्ब ३० करोड मानिस आधार कार्डका लागि दर्ता भएका छन् ।

भारतको जनगणना ३ लाख ३० हजार सरकारी शिक्षकहरूले घर-घर प्रश्नावली लिएर गइरहेका छन् । १६ भाषामा तयार भएको प्रश्नावलीमा २ दर्जनभन्दा बढी प्रश्न राखिएका छन् । जनगणनाका लागि ८७ अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?