पाकिस्तानको मस्जिदमा विस्फोट, २८ जनाको मृत्यु- विश्व - कान्तिपुर समाचार

पाकिस्तानको मस्जिदमा विस्फोट, २८ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा बम विस्फोट गरिँदा २८ जना मारिएका छन् । साथै १ सयभन्दा धेरै घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोमबार दिउँसोको उक्त घटनामा घाइते हुनेहरूको संख्या यकिन भएको छैन । अलजजिराको समाचार अनुसार पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि ल्याइएको छ ।

पेशावर प्रहरी अधिकारीहरूले १५० जना जति मानिस घाइते भएको बताएका छन् । साथै विस्फोटका कारण मस्जिदको केही भाग भत्किएको बताइएको छ । तर कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको हुनसक्ने आशंका गरिएको छ ।

३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएको पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिएका छन् । यद्यपि उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १६, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

राहुलको ४ महिना लामो पैदल यात्रा पूरा

कंग्रेसका नेता राहुल गान्धीले कन्याकुमारीदेखि कश्मीरसम्म ३५७० किलोमिटरको यात्रा १३६ दिनमा पूरा गरे ।
कान्तिपुर संवाददाता

नयाँ दिल्ली — भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ सोमबार पूरा भएको छ । गान्धीले कन्याकुमारीदेखि कश्मीरसम्म ३५७० किलोमिटरको यात्रा १३६ दिनमा पूरा गरे ।

श्रीनगरमा आफ्नो यात्राको समापन कार्यक्रममा बोल्दै उनले सिंगो भारतलाई एकजुट गर्ने र एकसाथ भएर देशलाई बलियो बनाउने आफ्नो यात्राको उद्देश्य रहेको बताए । उनले भारतीय जनता पार्टी र आरएसएसले विद्वेष फैलाएर देशलाई तोड्ने काम गरेको पनि आरोप लगाएका थिए ।

यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहका गतिविधिमाथि उनले कडा प्रश्न उठाएका थिए । राहुलकी हजुरआमा समेत रहेकी भारतीय नेतृ इन्दिरा गान्धी र राजीव गान्धीको हत्याको प्रसंग निकाल्दै उनले आफूले हिंसा सहेकाले त्यसको पीडा आफूलाई थाह भएको उल्लेख गरे ।

‘हिंसाको पीडा मोदी र शाहले बुझ्न सक्दैनन्,’ उनले भने ‘कश्मीरमा म चार दिन पैदर हिँडेको छु । तर, भाजपाका कोही नेता यहाँ पैदल हिँड्ने साहस राख्ने छैनन् । किनकि उनीहरु डराउँछन् ।’

७ सेप्टेम्बर २०२२ बाट उनले पैदल यात्रा सुरु गरेका थिए । यस क्रममा उनले १४ राज्य र ७५ जिल्लाको यात्रा सम्पन्न गरे । हरेक दिन २५ किलोमिटरका दरले उनले पैदल हिँडेका थिए । कुल १३६ दिनको अवधिमा ११६ दिन उनले यात्रा गरेका थिए । बाँकी दिनमा कार्यक्रम तथा विश्राम गरेका थिए । यात्राका क्रममा उनले विभिन्न कार्यक्रममा बोल्दा भारतभित्र बढेको सामुदायिक र धार्मिक वैमनस्यता, बेरोजगारी र महँगीविरुद्ध प्रधानमन्त्री मोदी सरकारमाथि प्रश्न उठाउँदै आएका थिए ।

चार महिनाभन्दा लामो यात्रामा उनले देशैभर आम मानिससँग अन्तरक्रिया गरेका छन् । जनतामाझ बनेको उनको नकारात्मक छवि यसै यात्राले रुपान्तरण गरिदिएको विश्लेषण पनि हुने गरेको छ ।

प्रकाशित : माघ १६, २०७९ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×