ग्रिसमा डढेलो, कम्तीमा ६० को मृत्यु

बीबीसी

एथेन्स — ग्रिसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्र एट्टिकामा फैलिएको डढेलोले कम्तीमा ६० जनाको मृत्यु भएको छ । राजधानी एथेन्सको पूर्वमा पर्ने माटी गाउँको तटीय क्षेत्रमा आगलागी फैलिएको आगलागी एक दशकयताकै भीषण हो । 

उद्धारकर्मीहरुले बालबालिकासहित २६ शव एकअर्कालाई अँगालेको अवस्थामा फेला पारेको जनाएका छन् । उद्धार निकायहरुमा कतिपय मानिसले पटकपटक टेलिफोन गरेको बीबीसीले जनाएको छ । कतिपयको शव घर तथा गाडीमा भेटिएका थिए ।

टेलिभिजनमा प्रसारित दृश्यहरुमा खरानी रंगको धुवाँको बाक्लो मुस्लो आवासीय क्षेत्र हुँदै आकाशमा फैलिएको देखिन्थ्यो । अग्नि नियन्त्रकहरूले डढेलो नियन्त्रण गर्न कठिन भएको बताएका छन् । अधिकारीहरुले डढेलोको चपेटामा परेकाको उद्धार गर्न नसकिएको जनाएका छन् ।

कतिपय मानिसले नजिकैको समुद्री क्षेत्रमा भागेर ज्यान जोगाएका हुन् । सयौं अग्नि नियन्त्रकहरु डढेलो नियन्त्रणमा खटिइरहँदा अधिकारीहरुले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ग्रिसले युरोपेली संघलाई डढेलो नियन्त्रणका लागि हेलिकोप्टर तथा थप अग्नि नियन्त्रक उपलब्ध गराउन सहयोग मागेको छ । इटली, जर्मनी, पोल्यान्ड र फ्रान्सले गाडी तथा अग्नि नियन्त्रक उपलब्ध गराएका छन् ।

एकै स्थानमा २६ शव भेटिएपछि ग्रिस रेडक्रसका प्रमुख निकोस इकोनोमोपोउलसले ‘उनीहरुले ज्यान जोगाउन कोसिस गरे पनि बालबालिकाका कारण असम्भव भएको देखिन्छ ।’

मन्त्रिपरिषदको आपतकालीन बैठकपछि बोल्दै ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले भने, ‘डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेका छन् । ग्रिसका लागि यो कठिन रात हो ।’ उनले सन् २००७ यताको भीषण आगलागी भएको जनाए ।

सिप्रासले ६ सयभन्दा बढी अग्नि नियन्त्रक तथा ३ सय दमकल तथा गाडीहरू डढेलो नियन्त्रणका लागि परिचालन गरिएको जनाए । सिप्रासले देशमा ३ दिने राष्ट्रिय शोकको घोषणासमेत गरेका छन् ।

अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई घर छाडी अन्यत्र जान आग्रह गरेका छन् । डढेलो लागेसँगै उक्त क्षेत्रमा सडक यातायात अवरुद्ध भएको छ । रेल सेवा पनि आंशिक रूपमा रद्द गरिएको जनाइएको छ ।
धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माटी गाउँस्थित समुद्री क्षेत्रको रिजोर्टमा गएका पर्यटकहरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । डढेलोका कारण १ सय जनाभन्दा बढी घाइते भएका छन् । ती मध्ये ११ जना गम्भीर छन् । घाइतेमध्ये १६ बालबालिका छन् ।

प्रकाशित : श्रावण ८, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली महिला बन्धक प्रकरणः वनारसमा पाँच पक्राउ

कमल पन्थी

वनारस(भारत) — दलालले बन्धक बनाएको नेपाली महिलाको उद्धारका लागि वनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले घरमा छापा मारेको छ ।

भारतको उत्तरप्रदेश राज्य वनारसस्थित शिवपुर प्रहरी कार्यालय । नेपाली महिला बन्धक बनाइएको घरका मालिक समेत दलाल भएको आरोपमा पक्राउ गरिएकालाई यसै प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ । तस्बिरःकमल पन्थी/कान्तिपुर

वनारसस्थित नटकनियादाईमा सोमबार राति जयसिंहको घरमा छापा मार्दै दुई महिला तीन पुरुषसहित पाँच जनालाई पक्राउ गरेको छ ।

यस अघि १ सय ५० महिला भने पनि घरका मालिकले ८० जना नेपाली महिला रहेको प्रहरीलाई बताए । छापा मार्नु पूर्व बन्धक बनाइएकी नेपाली महिलालाई दलालले दिल्ली पुराएको आशंका गरिएको एसएसपी कुलकर्णीले बताए ।

पक्राउ गरिएका जयसिंहले दलालका बारे केही महत्वपुर्ण सुराक प्रहरीलाई दिएका छन् । प्रहरीले नेपाली महिला बन्धक बनाइएको घरबाट ल्यापटप र डेस्कटप बरामद गरेको छ । प्रहरीले घरभित्र बरामद गरेको सुत्ने ओछ्यान,जर्किनको पानी, मदिरा र सुकुटी, तरकारी काटेको अवस्थामा फेला पारेको थियो ।

छापा मार्नु पूर्व सुराकी पाएकाले उनीहरु अन्यत्रै सिफ्ट भएको एसएसपी कुलकर्णीले बताए । करिब सय जना सुरक्षाकर्मीले राती एघार बजेदेखि विहान २ बजेसम्म सर्च अप्रेशन गरेका थिए । प्रहरीले केही महत्वपूर्ण सूचना पाएका कारण ती महिलाको उद्धारका लागि सादा पोशाकका प्रहरी परिचालित गरिएको जनाएको छ ।

उनीहरु विरुद्ध कारबाहीका लागि दबाब दिन भारतस्थित नेपाली दूतावास दिल्लीका काउन्सिलर एसएसपी पुरुषोत्तम कँडेल, बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्का, प्रशासकीय अधिकृत अर्जुन सुवेदी, मधुवन नगरपालिकाका मेयर कृष्ण केसी र बन्धक बनाई घर फर्केकी मधुवन नगरपालिकाका दम्पत्ती पुगेका थिए ।

स्थानीय अधिकारकर्मी राजिव सिंहसहितको टोलीले एसएसपी कुलकर्णीलाई नेपाली महिलाको उद्धारका लागि पहल गर्न आग्रह गरेका थिए । शिवपुरका प्रहरी निरीक्षक विजय कुमारले महिला अन्यत्र स्थान्तरण भएको सुराक थाहा भइसकेकाले चाडै पक्राउ हुने बताए ।

प्रकाशित : श्रावण ८, २०७५ १९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्