कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक भत्किए एपमार्फत सन्देश

पहिलो चरणमा पूर्वपश्चिम, पृथ्वी र अरनिको राजमार्गमा कार्यान्वयन गरिने
दीपेन्द्र विष्ट

काठमाडौं — तपाईंको टोलमा सडक भत्किएको छ ? सडकका खाल्डाखुल्डीले तपार्इंको यात्रा असहज बनाएको छ ? छ भने अब तपाईं एपमार्फत सडकसम्बन्धी उजुरी र गुनासो गर्न सक्नु हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसका लागि ‘मेरो सडक’ नामक एप तयार पारेको छ ।

सडक भत्किए एपमार्फत सन्देश

मन्त्रालयले ‘जनतासँग सडक बोर्ड’ नामक कार्यक्रमद्वारा तत्काल सडक मर्मतसम्भार कार्यक्रमलाई अघि बढाउने तयारी पनि गरेको छ । 

एपमा पठाइएको सन्देश तत्काल सडक बोर्ड नेपालको कार्यालयलाई प्राप्त हुनेछ । त्यसपछि बोर्डले सम्बन्धित डिभिजन कार्यालयलाई सन्देश पठाउनेछ । ‘सडक डिभिजन कार्यालयलाई सन्देश प्राप्त हुनेबित्तिकै प्राविधिकलगायत अन्य कामदार खटाई मर्मत गर्छौं,’ सडक बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले भने, ‘त्यसपछि हामीकहाँ मर्मत सम्भार गरेको सन्देश पनि प्राप्त हुनेछ ।’ 

पहिलो चरणमा पूर्वपश्चिम, पृथ्वी र अरनिको राजमार्गमा मर्मत सम्भारका लागि सन्देश वाहकले पठाएको सन्देशको कार्यान्वयन गरिने उनले बताए । ‘रणनीतिक हिसाबले यी अति महत्त्वपूर्ण सडक हुन्, यसैले पहिलो चरण यहीं लागू गर्न खोजिएको हो,’ उनले भने । 

 बिस्तारै अन्य सडकका गुनासो र उजुरी पनि एपमार्फत गर्न सकिने व्यवस्था मिलाइने बस्नेतले बताए । सडकको मर्मत सम्भारका लागि १५ वर्षअघि बोर्ड स्थापना गरिएको भए पनि हालसम्म प्रभावकारी रूपमा काम गर्न नसकेको मन्त्रालयका अधिकारी बताउँछन् । 

‘मर्मत सम्भारकै लागि बोर्ड गठन भएको हो, तर उद्देश्यअनुसार काम गर्न सकेन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अब काम गर्ला हेरौं ।’ समयमै सडक मर्मत नहुँदा अधिकांश गाडी दुर्घटना हुने गरेको ती अधिकारीको भनाइ छ । 

‘मन्त्रीज्यूले यात्रुले साह्रै सास्ती पाए, खाल्डाखुल्डीरहित सडक कसरी बनाउन सकिन्छ भनेर सोध्नुभयो ? त्यसपछि हामीले एपमार्फत सन्देश प्राप्त गरेर समस्या समाधान गर्ने जुक्ति निकाल्यौं,’ बस्नेतले भने । समयमा सन्देश पाए सडक पूरै भत्किनबाट जोगिने उनले बताए । बोर्डका अनुसार २१७ नगरपालिका, ७३ जिविस र ६१ सडक कार्यालयमार्फत सडक मर्मतसम्भार गरिनेछ । सरकारले सडक मर्मत सम्भारका लागि ९ अर्ब रुपैयाँ छुट्याएको छ । 

प्रकाशित : पुस १४, २०७३ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?