१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

थोरै सफलता र धेरै विवाद

विजय तिमल्सिना

सूचना प्रविधि क्षेत्रमा भएका उल्लेखनीय काम र घटनाहरूको समीक्षा गर्ने हो भने वर्ष २०१६ लाई थोरै सफलता र धेरै विवादको वर्षका रूपमा उल्लेख गर्न सकिन्छ ।

थोरै सफलता र धेरै विवाद

यो वर्ष नयाँ कुराको आविष्कारभन्दा बढी पुरानै प्रविधि परिस्कृत भए तर प्रविधि र यससँग जोडिएका केही आयामका कारण वर्षभरि विवाद चलिरहयो । 

सोसल मिडियाका नयाँ फिचर, केही विवाद र नयाँ डिभाइसको आगमन वर्षभरि चर्चाको विषय रहे । सामसुङ नोट सेभेनको दु:खद् अन्त्य, आइफोन सेभेनको आगमन, आईओएस टेन, सिरी, फेसबुकको विवादजस्ता विषयले यो वर्ष धेरै चर्चा पाए । साथै, यो वर्ष एन्ड्रोइड नुगटको आगमन, विन्डोज १० टेनको अपग्रेड चर्चा पनि उत्कर्षमा थिए ।

तर, चर्चाको हिसाबले हेर्दा यो वर्षलाई पोकेमन गोको वर्षभन्दा पनि फरक नपर्ला किनकि यो वर्ष पोकेमन गोको चर्चाले ब्राजिलमा भएको रियो ओलम्पिकलाई समेत पछि पार्‍यो । रिलिज भएको केही दिनमै नेपालमा पोकेमन खोज्नेको संख्या बढे पनि यो धेरै दिन टिकेन । आधिकारिक रूपमा रिलिज नभएको देशमा पोकेमन गो अहिले चल्दैन तर रिलिज भएका देशहरूमा यसको चर्चा सायद अन्य सबै विषयभन्दा बढी भएका थिए । यसअघि सायदै मोबाइलमा खेलिने खेलको चर्चा त्यति भएको थियो होला जति यो वर्ष पोकेमन गोको भयो । 
सूचना प्रविधिको ट्रेन्डको कुरा गर्दा लाइभ भिडियोको लोकप्रियता यो वर्ष चर्चामा रह्यो । सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया साइट फेसबुकले सबै प्रयोगकर्ताका लागि यो वर्ष लाइभ भिडियो फिचर सुरु गर्‍यो । यसबाहेक माइक्रो ब्लगगिङ साइट ट्वीटरले पनि आफ्नो छुट्टै एप पेरिस्कोपको सट्टा सिधै एपबाट लाइभ गर्न सकिने फिचर सुरु गर्‍यो । फेसबुकमा दैनिक लाइभ हुने संख्यालाई हेर्दा लाइभ भिडियोमा प्रयोगकर्ताको आकर्षण बढेको दाबी गर्न गाह्रो हुन्न । साथै, म्यासेजिङ एपमा पनि प्रयोगकर्ताले भिडियो कल रुचाउन थालेको वर्षका रूपमा यसलाई लिन सकिन्छ । यो वर्ष ह्वाट्सएपसहितका म्यासेजिङ एपहरूले लाइभ भिडियोको सुविधा सुरु गरेका थिए ।

भ्वाइस रिकग्निसन टेक्नोलोजी यो वर्ष धेरै चर्चा भएको विषयमा पर्छ । आइफोन सेभेनसँग ताररहित एयरपोडको आगमन, विभिन्न टेक्नोलोजी कम्पनीको भ्वाइसमा केन्द्रित अनुसन्धानका कारण पनि यसको चर्चा बढी भयो । एप्पलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स सिरीलाई सुधारेको घोषणा यही वर्ष गरेको थियो भने गुगलले पनि आफ्नो पछिल्लो अपरेटिङ सिस्टममा यो प्रविधि सुधारेको दाबी गरेको छ । यही बीचमा गुगलले यो वर्ष आफ्नो भिडियो कलिङ एप डुओ र भ्वाइस म्यासेजिङ एप एल्लो सार्वजनिक गरेको छ । 
अप्रिलमा फेसबुकले आफ्नो म्यासेन्जरमा च्याटबट फिचर सुरु गरेपछि त्यसको पनि खुबै चर्चा भयो किनकि यो प्रयोगकर्ताका लागि नयाँ फिचर थियो र यसलाई प्रयोग गर्नेहरूका लागि पनि केही नयाँ । च्याटबटले मानिसको सहाराबिना प्रयोगकर्तालाई रिप्लाई गर्न सक्छ । अहिले फेसबुकबाट हुने धेरै सम्पर्क र व्यवसायका लागि च्याटबट प्रयोग भइरहेको छ । समयसँगै यसमा हुने सुधार र प्रयोगकर्ताको रुचिको आधारमा यसको भविष्यको निर्धारण हुनेछ ।

आफ्नो दुई दशक लामो मोबाइल उत्पादन यात्रालाई अन्त्य गर्दै ब्ल्याकबेरीले आफ्नो फोनको डिजाइन र बिक्रीको जिम्मा अन्य कम्पनीलाई दिने निर्णय पनि यो वर्षभरि चर्चाको विषय रह्यो । स्मार्टफोन बजारमा आफ्नो आधिपत्य नगन्य भइसकेको र आफ्नो पछिल्ला डिजाइनलाई पनि प्रयोगकर्ताले नरुचाएपछि ब्ल्याकबेरीले खाएको हार सायद अन्य स्मार्टफोन निर्माताका लागि पाठ सावित भयो किनकि ब्ल्याकबेरी यस्तो कम्पनी हो जुन बजारमा कुनै बेला एप्पलको आइफोन र एन्ड्रोइड डिभाइसभन्दा अगाडि थियो, बिक्रीमा र ब्रान्ड भ्यालुमा पनि ।
आईओएस टेनको आगमन र म्याकबुकमा अपरेटिङ सिस्टम सियराको आगमन यो वर्षको एउटा महत्त्वपूर्ण घटना थियो भन्दा फरक नपर्ला । धेरै नयाँ कुरा नअटाए पनि आईओएस टेनमा केही फिचरलाई एप्पलले सुधारेको छ र यसमा भएको भर्चुअल असिस्टेन्ट सिरीलाई सुधारेको छ । साथै, सिरीले एप्पलबाट अन्य केही एपलाई पनि सपोर्ट गर्छ । यही सुविधा पहिलो पटक म्याकबुक प्रयोगकर्ताहरूले पनि यही वर्षदेखि पाउन थालेका छन् । अहिले म्याकमा सियरा प्रयोग गर्नेहरूले सिरीको सहयोग लिन सक्छन् ।

अहिलेका अधिकांश स्मार्टफोनमा प्रयोग भइरहेको गोरिल्ला स्क्रिनको पाँचौं जेनेरेसन सार्वजनिक हुनु यो वर्षको अर्को सुखद पक्ष हो । उत्पादकको दाबीअनुसार यो यसअघिका स्क्रिनभन्दा बढी बलियो र प्रभावशाली हुनेछ जसका कारण अबका केही समयपछि स्मार्टफोनको स्क्रिन बलियो हुनेछ ।
पछिल्लो केही वर्षयता चालकरहित कारको चर्चा भई नै रहेको छ । तर, यो वर्ष भने सिंगापुरले आफ्नो सडकमा चालकरहित कारलाई ट्याक्सीका रूपमा परीक्षण नै सुरु गर्‍यो । सन् २०२० भित्र सिंगापुरका सबै ट्याक्सीलाई चालकरहित बनाउने सरकारको योजना छ । साथै, इन्टेल र बीएमडब्लूजस्ता ठूला कम्पनीबीच चालकरहित कार बनाउने सम्झौता हुनु, चिनियाँ कम्पनीले आफ्नो चालकरहित कारको परीक्षण गर्नु र एप्पलले समेत चालकरहित कार बनाउने योजना रहेको सार्वजनिक गर्नुले यो वर्ष बढी चर्चा पाएको छ । यस्ता बहसहरू प्राय: भविष्यमा सबै कारहरू चालकरहित बनाउन मिल्लान कि नमिल्लान भन्ने विषयमा केन्द्रित थिए ।
माइक्रोसफ्टले नोकियासँग किनेर आफ्नो ब्रान्डमा उत्पादन गरिरहेको मोबाइल युनिट यो वर्षदेखि बन्द भएको घोषणा गरेको छ । कुनै बेलाको सबैभन्दा सफल ब्रान्ड नोकियाको फोन युनिट किनेको माइक्रोसफ्टले मोबाइल फोनको सट्टा सफ्टवेयरमा आफूलाई केन्द्रित राख्ने घोषणा गरेको छ ।
यो वर्ष केही विवादका घटना पनि भए । आइफोन उत्पादक एप्पल र अमेरिकी अनुसन्धान निकाय एफबीआईबीचको विवादले धेरैको ध्यान खिच्यो र यसले डाटा सेक्युरिटीको बहस पनि जन्मायो । अमेरिकाको सान बर्नार्डिनोमा अन्धाधुन्ध गोली प्रहार गर्नेमध्ये एक जनाको आइफोन एफबीआईले हात पारेपछि एप्पलले त्यसलाई अनलक गर्न अस्वीकार गरेको थियो । जसका कारण फोन उत्पादकहरू सरकारी निकायले भन्दैमा यस्तो काम गर्न बाध्य हुने कि नहुने भन्ने ठूलो विवाद जन्मियो । अनि त्यसले डाटा सेक्युरिटीसम्बन्धी बहस सघन भयो । यद्यपि यो मुद्दामा एप्पलले एफबीआईको भनाइ अस्वीकार गरिरह्यो । बरु यसबाट पाठ सिकेर म्यासेजिङ एपहरूले आफ्नो प्रयोगकर्ताको च्याट कन्भर्सेसन बीचमा कसैगरी ह्याक भए पनि पढ्न नमिल्ने गरी इन्क्रिप्सन फिचर सुरु गरे ।

सोसल मिडिया साइटहरू मिडिया हुन् कि होइनन् र यसलाई कुनै कानुनी दायरामा राख्ने कि नराख्ने भन्ने विवादले पनि यो वर्षको अन्तिम दुई महिना संसारभरि चासोको विषय बनिरह्यो । फेसबुकमा सेयर भएको नक्कली समाचारले अमेरिकी मतदान प्रभावित भएको अनुसन्धानपछि यस्तो बहस जन्मिएको थियो । यसले के पनि देखाउँछ भने सोसल मिडियाहरू यति प्रभावशाली भएका छन् कि यसले मानिसको विचारसमेत तत्काल बदल्न सक्ने हैसियत राख्न थालेका छन् । फेसबुकमा सेयर हुने यस्ता गलत जानकारी अहिले धेरैका लागि टाउको दुखाइको विषय हुन थालेको छ ।
प्रविधि क्षेत्रमा केही उपलब्धि, केही विवाद र केही बहसका बीच यो वर्ष बित्यो । सायद, आगामी वर्ष केही यस्ता उपलब्धि परिस्कृत हुनेछन् र विवादहरू समाधानतिर लाग्नेछन् । 
–एजेन्सीको सहयोगमा

प्रकाशित : पुस १५, २०७३ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?