अटो मेकानिक्स व्यवसायीहरुको राष्ट्रिय भेला सुरु- समाचार - कान्तिपुर समाचार

अटो मेकानिक्स व्यवसायीहरुको राष्ट्रिय भेला सुरु

सवारी दुर्घटना रोक्न अटो मेकानिक्सहरुको महत्वपूर्ण भूमिका हुने मन्त्री थानीको भनाइ
प्रकाश अधिकारी

सुर्खेत — मुलुकभरका अटो मेकानिक्स व्यवसायीहरुको राष्ट्रिय भेला वीरेन्द्रनगरमा सुरु भएको छ । भेलाले नयाँ नेतृत्व चयन गर्ने भएकाले सबै जिल्लाबाट नेपाल अटो मेकानिक्स व्यवसायी संघसँग आबद्ध ७० भन्दा बढी जिल्लाका प्रतिनिधिहरु सुर्खेतमा भेला भएका छन् ।


 
संघको नवौं साधारणसभा तथा चौथो अधिवेशनको शनिबार गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले उद्‍घाटन गरे । उनले सवारी दुर्घटना रोक्न अटो मेकानिक्सहरुको भूमिका महत्वपूर्ण भएकाले आफूलाई जिम्मेवारीबोध गर्न आग्रह गरे । हरेक सहरमा अटो लेन र अटो भिलेजको माग राखिरहेको संघले राष्ट्रिय अर्थतन्त्रमा आफूहरुको ३० प्रतिशत योगदान पुर्‍याएको दाबी गरेको छ । ‘सवारीसाधन राम्ररी चेकजाँच गरेर मात्र चलाउनुस् । तपाईंहरुको माग राज्यले ढिलोचाँडो पूरा गर्छ’ मन्त्री थानीले ‘तपाईंहरु आफ्नो क्षेत्रको जिम्मेवारी कुशलतापूर्वक वहन गर्नुभयो भने राज्यले माग पूरा नगरी सुखै छैन ।’

पदमा वहाल भएदेखि आफ्नो मन्त्रालय भूमिकाविहीन भएको सार्वजनिक गुनासो गर्दै आएका सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले शनिबार अटो व्यवसायीहरुको राष्ट्रिय भेलामा समेत उही कुरा दोहोर्‍याए । उनले क्याबिनेटदेखि मिडिया र सार्वजनिक मञ्चहरुमा मन्त्रालयलाई कामकाजी बनाउन बहस चलाइरहेको बताए । ‘गरिबी निवारणसँग सम्बन्धित सबै कार्यक्रमहरु छरिएर रहेका छन् । तीनलाई यसै मन्त्रालय मातहत ल्याउन वैधानिक लडाइँ लडिरहेको छु’ थानीले भने, मैले बारम्बार भनिरहेको छु । कि मन्त्रालय विघटन गरौं । नत्र छरिएका ती सबै एकै ठाउँमा ल्याएर मन्त्रालयलाई कामकाजी बनाऔं ।’

उनले प्रधानमन्त्री कार्यालयद्वारा सञ्चालित गरिबी निवारण कोष, अर्थ मन्त्रालयद्वारा सञ्चालित युवा स्वरोजगार कोष र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित गरिबसँग विश्वेश्वर कार्यक्रम गरिबी निवारण तथा सहकारी मन्त्रालय मातहत ल्याउनुपर्नेमा जोड दिए । पुँजी परिचालनमार्फत् गरिबी निवारण गर्न ती कार्यक्रम जरुरी भएको उनको भनाइ थियो ।

 

प्रकाशित : पुस १६, २०७३ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्

मानव अधिकार उल्लंघन गर्नेहरुको नाम सार्वजनिक गर्ने आयोगको तयारी

सरकारले सिफारिस कार्यान्वयन नगर्दा दण्डहिनता बढ्यो : अन्सारी
ठाकुरसिंह थारु

बाँके — राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मानव अधिकार उल्लंघन गर्नेहरुको नाम सार्वजनिक गर्ने तयारी भइरहेको बताएकी छन् । उनले मानव अधिकार उल्लंघनका घटनामा संलग्न व्यक्तिहरुलाई कालोसूचीमा राखिसकेको बताइन् ।


 
आयोगले मानव अधिकार उल्लंघनका घटनाहरुको छानबीन गरी दोषी पाइएका सुरक्षाकर्मीहरुलाई कारबाहीको सिफारिस गरिसकेको छ । तर, सरकारले सिफारिस कार्यान्वन नगरेका कारण कालोसूचीमा परेका मानव अधिकार उल्लघंनकर्ताको नाम सार्वजनिक गर्न थालिएको हो । ‘आयोगले थुप्रै घटनाहरुको छानबीन गरी कारबाहीको लागि सिफारिस गरिसकेको छ । तर, कारबाही गरेको पाइएन,’ शनिबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाटमा प्रवक्ता अन्सारीले भनिन्, ‘सरकारले सिफारिस कार्यान्वयन नगर्दा दण्डहिनता बढेको छ ।’ उनले कालोसूचीमा राखेका व्यक्तिहरुको नाम सार्वजनिक गर्ने कार्य आयोगको योजनामै रहेको जानकारी दिइन् ।

मध्यपश्चिम क्षेत्रमा भएका मानव अधिकार उल्लंघनका १ सय ३३ घटनाको छानबीन गरी आयोगले कारबाहीको सिफारिस गरेको छ । गैर न्यायीक हत्या ४८ मध्ये तत्कालीन माओवादी पक्षबाट ३ र अन्य राज्य पक्षबाट भएका छन् । त्यस्तै, सुरक्षाकर्मीबाट ४९ जना र माओवादी पक्षबाट २ जनाको अपहरणका घटनाको आयोगले अनुसन्धान गरेको छ । भिडन्तको नाममा २ जनाको गैरन्यायीक हत्या, सामाजिक तथा आर्थिक अधिकारका ४, न्याय प्रशासनका २, बम विस्फोटका १ घटनाको अनुसन्धान गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : पुस १६, २०७३ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×