कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राजधानीमा थपियो ४० मेगावाट

राजधानीलाई लोडसेडिङमुक्त राख्न सकिन्छ : प्राधिकरण
फेब्रुअरी १ देखि राजधानीमा भारतको ९० मेगावाट बिजुली
भारतबाट ६०० मेगावाट बिजुली आयात गरिने
बलराम बानियाँ

काठमाडौं — विद्युत् प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्न थालेको छ ।

सुक्खायामसँगै पानीको लेभल घट्दै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन कम हुँदै गएकाले राजधानीलाई लोडसेडिङमुक्त राख्न भारतबाट थप बिजुली आयात गरिएको हो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मस्र्याङ्दी कोरिडोरबाट हेटौंडामा पठाइने ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ ।

अधिकारीले अंग्रेजी नयाँ वर्षसँगै राजधानीमा ४० मेगावाट बिजुली थपिएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेललगायतका स्थानलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी दिए । प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) मा भारतीय कम्पनी एनभीभीएनसित खरिद गरेको हो ।

अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो । तर, ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण गर्न बाँकी एउटा मात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो । उक्त टावर निर्माण भएपछि भारतबाट आयात हुने बिजुली खिम्ती–ढल्केबर प्रसारण लाइन हुँदै राजधानी ल्याइनेछ । प्राधिकरणले आगामी फेब्रुअरी १ देखि थप ४० मेगावाट बिजुली भारतबाट आयात गर्न थाल्नेछ । मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट प्राधिकरणले ८० मेगावाट आयात गरिरहेको थियो । शनिबार रातिदेखि उक्त प्रसारण लाइनबाट प्राधिकरणले १२० मेगावाट आयात गर्न थालेको छ । फेब्रुअरी १ देखि भने त्यहाँबाट प्राधिकरणले १६० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।

अधिकारीका अनुसार फेब्रुअरी १ देखि ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली राजधानी ल्याइनेछ । नदीमा पानीको प्रवाह घटेर सबभन्दा कम विद्युत् उत्पादन हुने समयमा भारतबाट आयातीत बिजुलीमध्ये ९० मेगावाट राजधानी ल्याएपछि माघको तेस्रो सातादेखि फागुन, चैत, वैशाख र जेठमा समेत काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लोडसेडिङमुक्त राख्न सकिने प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन् ।

प्राधिकरण र एनभीभीएनबीच दुई साताअघि थप विद्युत् खरिदबिक्री सम्झौता भएको हो । सम्झौताअनुसार शनिबार रातिदेखि थप ४० मेगावाट बिजुली आउन थालेको हो । प्राधिकरण र एनभीभीएनबीच २०१७ जनवरी १ देखि मेसम्मका लागि विद्युत् खरिद सम्झौता भएको हो । वर्षायाममा भारतबाट धेरै बिजुली आयात गर्नुनपर्ने भएकाले हिउँद र सुक्खायामका लागिमात्र विद्युत् खरिद सम्झौता भएको हो ।

ढल्केबरमा निर्माणाधीन सबस्टेसन निर्माणमा ढिलाइ भएकाले नेपालको अनुरोधमा भारतको पावर ग्रिड कर्पोरेसनले मुजफ्फरपुरमा १०० मेगावाटको ट्रान्सफर्मर जडान गरिदिएकाले शनिबार रातिदेखि थप ४० र फेब्रुअरी १ देखि थप ८० मेगावाट ल्याउन सम्भव भएको हो ।

प्राधिकरणले राजधानी उपत्यकाबाहेक मुलुकका सबै ठाउँलाई समेत लोडसेडिमुक्त बनाउन तथा घटाउन भारतबाट थप १४० मेगावाट बिजुली आयात गर्नेछ । भारतबाट थप बिजुली ल्याउने नाका कटैया–कुसाहा (विराटनगर) र रक्सौल–परवानीपुर (वीरगन्ज) मा प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ती प्रसारण लाइन अबको एक/डेढ सातामा सकिने जानकारी भारतीय पक्षले प्राधिकरणले दिएको छ । राजधानीबाहिर लोडसेडिङ हुन नदिन यी दुई विद्युत् नाका हुँदै भारतबाट ५०/५० गरी एक सय मेगावाट बिजुली अबको एक/डेढ साताभित्रै ल्याउने योजना प्राधिकरणको छ ।

टनकपुर विद्युत् नाकाबाट समेत प्राधिकरणले एक महिनाभित्रै थप ४० मेगावाट बिजुली ल्याउने भएको छ । टनकपुरमा ५० एमबीएको ट्रान्सफर्मरको सट्टा १ सय एमबीएको ट्रान्सफर्मर जडान गरी थप ४० मेगावाट ल्याउन लागिएको हो । एक महिनाभित्रै नयाँ ट्रान्सफर्मर जडान गरी थप ४० मेगावाट बिजुली टनकपुरबाट आयात गरिनेछ । 

प्राधिकरणले भारतबाट ३०० मेगावाट बिजुली आयात गरिरहेको थियो । शनिबार रातिदेखि ३४० मेगावाट बिजुली आयात गर्न थालेको छ । अघिल्लो वर्ष हिउँदमा प्राधिकरणले भारतबाट ३४७ मेगावाट आयात गरेको थियो भने यस वर्ष ६ सय मेगावाट बिजुली आयात गरिरहेको छ । दुई महिनायता मुलुकका विभिन्न निर्माणाधीन आयोजना सम्पन्न भई केन्द्रीय प्रसारण लाइनमा १२५ मेगावाट बिजुली थप भइसकेको छ ।

प्राधिकरणले हाल कटैया–कुसाहाबाट १३०, ढल्केबर–मुजफ्फरपुरबाट १२०, गण्डक आयोजनाको प्रसारण लाइनबाट २५, टनकपुर विद्युत् नाकाबाट ३० देखि ३५, टनकपुर आयोजनाबाट १२ तथा अरू साना नाकाबाट गरी ३४० मेगावाट आयात गरिरहेको छ । हाल मुलुकमा साँझको समयमा बिजुलीको माग १ हजार २ सय ५० मेगावाटको हाराहारीमा छ । अरू बेला मुलुकको आधारभूत बिजुलीको माग (बेस लोड) ७ सय मेगावाटको हाराहारीमा छ । साँझको समयमा ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना चलाइने र पिकिङ रन अफ प्रकृति (दिनभरको पानी जम्मा गरेर बढी बिजुली आवश्यक हुने समयमा चलाउन मिल्ने) ६९ मेगावाटको मस्र्याङ्दी र ७० मेगावाटको मध्य मस्र्याङ्दीलगायतका आयोजना दिउँसो कम चलाई साँझमा बढी चलाउने गरिएकाले माग व्यवस्थापन भइरहेको प्राधिकरणका अधिकारी बताउँछन् ।

प्राधिकरणले विद्युत्को बढी माग हुने साँझको समयमा औद्योगिक कोरिडोरहरूमा लोडसेडिङ गरी घरायसी उपभोक्तालाई बिजुली निरन्तर दिने प्रयास गरिरहेको छ । उपत्यकाबाहिरका धेरै ठाउँमा हाल ४ घन्टाको हाराहारीमा लोडसेडिङ छ । 

प्रकाशित : पुस १६, २०७३ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?