राष्ट्रिय एकताबाटै संविधान कार्यान्वयन: प्रधानमन्त्री दाहाल


पोखरा — प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलबीचको राष्ट्रिय एकताबाट नै संविधान कार्यान्वयन हुन सक्ने दृढता व्यक्त गरेका छन् ।

सामूहिक तमु ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्वारा शनिबार आयोजित सामूहिक तमु ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दै उनले एकताबिना संविधान कार्यान्वयन असम्भव भएकाले एकताका लागि त्याग गर्न सबैसँग आग्रह गरे ।
'त्याग गर्दा केही पाउन र केही गुमाउन पनि सकिन्छ,' उनले भने, 'संविधान कार्यान्वयनपछि देश आर्थिक समृद्धिको बाटोमा लाग्ने र सबै नेपाली जनताले सुख र शान्ति पाउने छन् ।'
प्रधानमन्त्री दाहालले तमु (गुरुङ) हरुले प्रदर्शन गर्दै आएको वीरता र बलिदानप्रति सराहना गर्दै तमुहरुले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे।
तमुहरुको एकता प्रदर्शनले भाषा, संस्कृति र परम्पराको जगेर्ना हुने धारणा राख्दै उनले तमु युवा–युवतीले अहिले देश तथा विदेशमा इन्जिनियरिङ तथा विज्ञानको क्षेत्रमा सबै जनजातिलाई उछिनेर अग्रणी भूमिका निभाएको विचार पनि व्यक्त गरे।
यसअघि कास्कीमा रहेका तमुहरुका १८ वटा सङ्घसंस्था पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गामा भेला भई आ–आफ्नो भेषभूषा, नाचगान, बाजागाजा र झाँकीका साथ निस्केको ल्होछार शुभकामना र्याली नगर परिक्रमा गरी पोखरा प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।
प्रकाशित : पुस १६, २०७३ १८:१५