१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

युट्युबबाटै धनाढ्य

दिनेश यादव

विज्ञानका अविष्कारहरूलाई सही रूपमा उपयोग गरे लोकप्रियतासँगै फाइदा पनि हुन्छ । यो भनाइलाई केही यूट्युब प्रयोगकर्ताले पुष्टि गरिदिएका छन् ।

युट्युबबाटै धनाढ्य

सामाजिक सञ्जालमा बढी समय खर्चिनेहरूका लागि यो राम्रो उदाहरण बन्न सक्छ, बन्नुपर्छ । खासगरी युट्युब मानिसका लागि मनग्य धनार्जन गर्ने माध्यम बन्न सक्छ भन्ने कुरो धेरैलाई थाहा नहुन सक्छ । तर, केही युवाले आफ्नो नेम, फेम र इन्कमको स्रोत यसैलाई बनाएका छन् । तिनीहरू यसमा सफलसमेत भएका छन् ।

युट्युबबाटै धनाढ्य बनेकाहरूबारे अमेरिकी अखबार फोब्र्सले हालै एउटा सूची जारी गरेको छ । उक्त सूचीमा युट्यबबाट सबैभन्दा बढी धन कमाउने ‘टप टेन’ युवाहरूका नाम समेटिएका छन् । 

युट्युबको व्यवस्थापन शुल्क र कर कटाएर बाँकी रहेको कमाइको आधारमा सूची तयार पारिएको हो । अखबारले सूचीलाई थप विश्वसनीय र प्रामाणिक बनाउन विभिन्न मानक संस्थालाई आफ्ना आधार बनाएको छ । तीमध्ये निएल्सेन र आईएमडीबी पनि हो । निएल्सन कम्पनी पुस्तक, संगीत र हास्यव्यंग्यलगायत सामग्रीको लोकप्रियतालाई आफ्नो मानक बनाएर तथ्यांकहरू सार्वजनिक गर्ने अमेरिकी संस्था हो । ‘आईएमडीबी’ भने चलचित्र, टिभी कार्यक्रम, च्यानल, सेलिब्रेटीहरूबारे तथ्य सार्वजनिक गर्ने विश्वकै लोकप्रिय संस्थाका रूपमा परिचित छ । यसैगरी अखबारले अन्य स्रोतहरूमा विभिन्न संस्थाका अधिकारीहरूसँग अन्तर्वार्ता, वकिल, उद्योगी र स्टार्स बनेकालाई समेत सूची प्रमाणित गर्ने आधारका रूपमा उपयोग गरेको जनाएको छ । 

पाँच वर्षअघि रोमान एटवुडले पहिलोपटक युट्युब भिडियो, ‘इपिक कुलर प्रान्क’ अपलोड गरेका थिए । मात्र तीन मिनेटको उक्त क्लिपमा जोनी नक्सिभाइलेले सडकमा एउटा ठूलो पानीकुलर बोकेर गइरहेका मानिसहरूलाई बडो रोचक शैलीमा प्रस्तुत गरेका छन् । त्यसमा तिनीहरूलाई केही टिप्सहरू दिइरहेको देखाइएको थियो । 

वास्तवमा त्यो कुलर खाली थियो, मानिसलाई मूर्ख बनाएर हँसाउनका लागि यसो गरिएको रहेछ । तर, त्यही भिडियो हिट भएपछि उनी एकाएक चर्चामा आए । एडवुड भन्छन्, ‘उक्त क्लिप मेरा लागि पैसा कमाउने माध्यम बन्न सक्छ भनेर मैले त्यो युट्युबमा राखेको होइन । तर, त्यसले मलाई चर्चित मात्रै बनाएन, रातारात म सेलिब्रेटी पो बन्न पुगेछु ।’ 

फोर्ब्सले दोस्रोपटक युट्युबबाट सबैभन्दा बढी धन कमाउनेहरूको वार्षिक सूचीमा एडवुडसमेत परेका छन् । 

युट्युबले १० वटा च्यानलका १२ जनालाई इन्टरनेट सेलिब्रेटी नै बनाएको अखबारको रिपोर्टमा उल्लेख छ । यसरी सेलिब्रेटी बनेकाहरूको कुल सम्पत्ति अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढेर १२ महिनामा ७० दशमलव ५ मिलियन अमेरिकी डलर पुगेको छ । सूचीमा र्‍यापर, प्रांकस्टर, नर्डी ब्याकर र सिउडोनिमस ग्यामर्सका जोडीसहित सबैका कुल सम्पत्ति ५ मिलियन अमेरिकी डलर रहेको थियो । 

अघिल्लो वर्षमा झैं यो वर्ष पनि स्विडेनका यूट्युबर प्युडिपाईलाई कसैले उछिन्न सकेन । उनी १५ मिलियन अमेरिकी डलरका साथ पहिलो स्थानमा छन् । प्युडिपाईले विश्वकै सबैभन्दा धनी युट्युबरको ‘उपाधि’ पाएका हुन् । उनी ‘प्लेइङ भिडियो गेम्स विथ योर ब्रोज’ नामको च्यानल चलाउँछन्, उनको वास्तविक नाम ‘फेलिक्स अभरिड उल्फ क्जेलबर्ग’ हो । उनका युट्युब च्यानलका ५० मिलियन (५ करोड) सदस्य छन्, त्यसबापत उनले १५ मिलियनको ‘पे चेक’ पाएका छन् । अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले उनको कमाइ बढेको छ । उनको युट्युब रेड शृंखला र बुक ‘दिस बुक लभ्स यु’ ले पनि यसमा निकै योगदान पुर्‍याएको छ । निल्सेन बुक स्क्यानका अनुसार उनको पुस्तक १ लाख १२ हजारभन्दा बढी प्रति बिक्री भइसकेको छ । 

सूचीमा प्युडिपाईलाई रोमान एटवडले पछ्याएका छन् । दोस्रो स्थानमा रहेका उनले अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले आम्दानी बढाउन सफल भएका छन् । उनको आम्दानी ८ मिलियन (८० लाख) अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ । ‘प्रांक्ड’ नामक एटवुडको युट्युब च्यानलमा सात मिलिनय (७० लाख) फ्लोअर्स छन् । उनले बनाएको फिचर फिल्म ‘न्याचुरल बर्न प्रांकस्टर्स’ 
युट्युबमा चर्चित छ । उनको बैंक खातामा १ दशमलव ५ मिलियन (१५ लाख) अमेरिकी डलर रहेको छ । सर्वाधिक कमाइ गर्ने युट्युबरहरूमा भारतीय मूलकी क्यानेडेली नागरिक लिली सिंह ७५ लाख अमेरिकी डलरका साथ तेस्रो स्थानमा छिन् । लिलीको च्यानलको नाम हो ‘सुपरवुमन’ । उनी कमेडियन हुन्, मानिसलाई हँसाउनेमा बिस्तारै ख्याति कमाउँदै आएकी छन् । यो वर्ष उनको लोकप्रियतामा उल्लेख्य वृद्धि भएको छ । जुन अब पूरै विश्वमा तहल्का मचाएको स्थितिमा पुगेको छ ।

यसैगरी दुई बालसखा तथा चर्चित युट्युबरद्वय इयान हेकान्स र एन्थोनी पेडिला ७० लाख अमेरिकी डलरका साथ चौथो स्थानमा छन् । दुवै मिलेर ५ वटा युट्यूब च्यानल चलाउँछन्, जसमा ‘स्मोस’ पनि एक हो । यो अत्यन्तै लोकप्रिय र चर्चित छ । यी जोडीले एउटा चलचित्रसमेत बनाइसकेका छन् । 

सूचीमा परेका अन्यमा क्रमश: रोजाना प्यान्सिनो, टाइलर ओकली, मार्किप्लियर, जर्मन जर्मेन्डिया, रेट एन्ड लिंक र कोलिन ब्यालिंगर छन् । जहाँसम्म रोजानाको कुरो छ, उनी युट्युबमा खाना बनाएर देखाउँछिन् र मानिसलाई नयाँ परिकार बनाउनसमेत सिकाउँछिन् । उनले बडो आकर्षक शैलीमा खानाभित्र लुकेको विज्ञानबारे पनि जानकारी दिने भएकाले धेरैको रोजाइमा उनले चलाउने युट्युब बन्न पुगेको हो । रोजानाले युट्युबबाटै ६० लाख अमेरिकी डलर कमाइ गरिसकेकी छन् । उनका कयौं पुस्तकसमेत प्रकाशित भइसकेका छन् । छैठौं स्थानमा आफूलाई सूचीकृत गराउन सफल ओकली एलजीबीटी एक्टिभिस्टसमेत हुन । सन् २०१५ मा टाइलरले ‘बिन्ज’ नामको पुस्तक लेखेका थिए, जुन ‘न्युयोर्क टाइम्स’ अखबारको बेस्टसेलर बन्न पुग्यो । 

हाल उनको डायरीजस्तै भिडियो युट्युबमा हिट भएको छ । यसैबाट उनको आम्दानी ६० लाख अमेरिकी डलर पुगेको छ । अर्का युट्युबर मार्किप्लियर ५५ लाख अमेरिकी डलरका साथ सातौं स्थानमा छन् । उनको वास्तविक नाम मार्क फिसबाख हो । उनले चलाएको युट्युब च्यानलको एक वर्षमै १५ लाख सदस्य थपियो । जर्मेन्डिया ५५ लाख डलरका साथ आठांै सर्वाधिक कमाउने युट्युबर बनेका छन् । 

ल्याटिन अमेरिकाको सबैभन्दा हिट उनका युट्युब च्यानल ‘द चिलियन कमेडियन’ का ४८ लाख फलोअर्स छन् । उनले ‘चीन’ च्यानल पनि चलाउँछन् । फोब्र्सको सूचीमा रेट एन्ड लिंक ५० लाख डलरका साथ नवौं स्थानमा परेका छन् । रेट मेक्लागलिन र चाल्र्स लिंकन निल इन्जिनियर बन्न हिँडेका थिए तर कमेडियन बन्न पुगे । यसले उनलाई धनाढ्यनै बनाइ छाड्यो । उनको सो ‘गुड मिथिकल मनिङ’ युट्यबका पारखीमाझ अत्यन्तै लोकप्रिय बन्दै गएको छ । दसौं स्थानमा कोलिन ब्यालिंगर परेकी छन् । ५० लाख डलर उनले युट्यबबाटै कमाएकी छन् । उनी आफ्नो चुट्किलाबाट मानिसलाई हँसाएरै यति कमाएकी हुन् । उनको किताब ‘सेल्फ हेल्प’ पनि खुबै चर्चित बनेको छ । 
(एजेन्सीहरूको सहयोग) 

प्रकाशित : पुस २, २०७३ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?