कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेस–पहाडको दुरी बढाउने एमाले विखण्डनकारी : गृहमन्त्री

सुदीप कैनी

गोरखा — उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले मधेस पहाडबीचको दुरी बढाउने काम गरेको आरोप लगाएका छन् । शनिबार सदरमुकाममा नवौं गोरखा महोत्सवको समापन गर्दै उनले भने, ‘एमालेले संविधान संशोधन गर्न नदिएर मधेस पहाडको दुरी बढाएर विखण्डन गर्न खोज्यो ।’

मधेस–पहाडको दुरी बढाउने एमाले विखण्डनकारी : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले मधेस पहाडबीचको दुरी बढाउने काम गरेको आरोप लगाएका छन् ।

शनिबार सदरमुकाममा नवौं गोरखा महोत्सवको समापन गर्दै उनले भने, ‘एमालेले संविधान संशोधन गर्न नदिएर मधेस पहाडको दुरी बढाएर विखण्डन गर्न खोज्यो ।’ आफू सरकारमा हुँदा राष्ट्रवादी र नहुँदा राष्ट्रघातीको आरोप लगाएर एमालेले दोहोरो चरित्र देखाएको उनको भनाई थियो ।

‘केपी ओलीले सत्ताबाट हट्नुपरेको आवेशमा संविधान संशोधन गर्न हुँदैन भनेर संशोधनको पक्षमा रहेकालाई राष्ट्रघाती भन्नु भएको हो,’ उनले भने । संविधान जारी गर्ने बेला ओलीले समेत संविधान संशोधन गर्ने भनेर हस्ताक्षर गरेको उनले बताए । ‘म एमालेलाई चुनौति दिन्छु, केपी ओलीले पानापानामा हस्ताक्षर गर्नुभएको छ,’ हस्ताक्षर गरेको संवैधानिक राजनीतिक समितिको प्रतिवेदन देखाउँदै उनले भने, ‘सरकारमा नहुँदा कुरा फेरेर हुन्छ ?’

अज्ञानता र ईष्यापूर्वक संविधानको विपक्षमा लागेर प्रतिपक्षि एमालेले संसद अवरुद्ध पारेको उनले बताए । ‘संसद चल्न नदिनु मुढेबल हो,’ उनले भने, ‘संविधानमा क्रुटि छ, संशोधन भएमात्रै संविधान कार्यान्वयन गरेर चुनाव गर्न सकिन्छ ।’ सरकारले संशोधन गरेर चैत्रमा चुनाव गर्ने तयारी गरेको उनले जानकारी दिए ।

‘मधेस पनि नेपाल नै हो । मधेसी पनि नेपाली नै हुन्,’ उनले भने, ‘मधेसीलाई विदेशी, भारतीय भन्ने अधिकार कसैलाई छैन, उचित मागको सम्बोधन हुन्छ ।’ चुनाव गराउन नदिएर संघियता समाप्त पार्ने षडयन्त्र भई रहेको उनले बताए । संसद अवरोध गरेर संसदिय, संवैधानिक र लोकतान्त्रिक प्रक्रियाको उल्लंघन भएको गृहमन्त्री निधिले बताए ।

पहिलो महिला डोजर चालक सम्मानित
महोत्सवको अवसरमा नेपालकै पहिलो महिला डोजर चालकलाई सम्मानित गरिएको छ । गृहमन्त्री निधिले गोरखा बोर्लाङ निवासी चालक मुना घिमिरे श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

त्यस्तै जिल्लाकै पहिलो उद्यमी तुलसीप्रसाद देवकोटा, गायक रामचन्द्र अर्याल र गीत लेखक काजीबावु थापा पनि सम्मानित भएका छन् ।

लोकगीतमा स्याङजा पहिलो, गुरुङ गोरखा तारा
गोरखा महोत्सवमा भएको पश्चिमाञ्चल स्तरीय लोकदोहोरी प्रतियोगितामा स्याङजा जिल्लाको टिम पहिलो भएको छ । ८ जिल्लाको टोली बिच राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानले प्रतियोगिता गराएको थियो । प्रतियोगितामा लम्जुङ दोस्रो र गोरखा जिल्ला तेस्रो भएको छ । पहिलो, दोस्रो र तेस्रो टिमलाई नगद ३०, २० र १० हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै दोस्रो गोरखा तारामा मनराज गुरुङ छनौट भएका छन् । जिल्लाका सांगितिक क्षेत्रका प्रतिभा खोज्ने उद्देश्यले १६ जना विच प्रतियोगिता भएको थियो ।

प्रकाशित : पुस १६, २०७३ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?