झापा सेमिफाइनलमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापा सेमिफाइनलमा

काँकडभिट्टा गोल्डकप
पर्वत पोर्तेल

काँकडभिट्टा — रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । उसले शनिबार हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–३ ले पाखा लगायो ।

निर्धारित समयको खेल २–२ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । घरेलु मैदानमा पहिलो चरणबाटै बाहिरिंदै आएको झापाको यो सिजन पहिलो सेमिफाइनल यात्रा हो । हिमालयन शेर्पा र झापा दुवै आक्रामक रूपमा उत्रिएका थिए । चोटका कारण झापाका स्ट्राइकर विशाल राई मैदानमा उत्रिएनन् । योगेश गुरुङ, कर्ण लिम्बू र बुद्ध चेम्जोङले पाएको मौका गुमाए । हिमालयनबाट पनि हेमन गुरुङ, विश्वास श्रेष्ठ, मौसालगायतले अवसर चुकाए ।

पहिलो हाफको ३७ औं मिनेटमा झापाका पूजन उपरकोटीले गोल गरी टिमलाई अगाडि बढाए । उनले विकास लिम्बूको क्रसमा गोल गरेका थिए । दोस्रो हाफको सुरुमै कर्ण लिम्बू गोल गर्न चुके । हिमालयनका हेमनले ६२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । म्यान अफ द म्याच हेमनले झापाका सेगुनको ह्यान्डबलमा फ्रिकिक हानेका थिए । उनको प्रहार क्लियर गर्ने क्रममा रवि थापाले आत्मघाती गोल गरेर हिमालयनलाई एक गोल उपहार दिए ।

झापाका खेलाडीको प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले विफल पारेका थिए । मौसाले डि–एरियाभित्र ह्यान्ड गरेपछि रेफ्री लव खत्रीले झापालाई पेनाल्टीको मौका दिए । झापाका योगेश गुरुङले त्यसलाई सदुपयोग गर्दै खेल २–२ को बराबरी ल्याए ।

टाइब्रेकरमा अफ्रिकन खेलाडी मौसा गोल गर्न चुक्दा झापाले बाजी मार्‍यो । झापाका कर्ण लिम्बू, रजिन धिमाल, बुद्ध चेम्जोङ, रवि थापा र योगेश गुरुङले गोल गरे । हिमालयनका हेमन, रूपेश केसी र भूपाल गुरुङले बललाई पोस्टको दिशा दिए ।

झापाका प्रशिक्षक सञ्जय राईले दुवै टिमको खेल अब्बल रहेको बताए । उनले गोलकिपर अनुभवी नभएकाले सोचे जस्तो खेल प्रदर्शन हुन नसकेको बताए । उनले भने, ‘अन्तिममा भाग्यले साथ दिएकाले जितियो ।’ हिमालयनका प्रशिक्षक विकास गौचनले उत्कृष्ट प्रदर्शनका बावजुद पनि पराजित हुनुपरेको औंल्याउँदै भने, ‘काँकडभिट्टामा पहिलो अनुभव हो, खेल राम्रै खेलेका थियौं, भाग्यले साथ दिएन ।’

आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको ब्लु आर्मी सिलोङबीच आइतबार प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित : पुस १६, २०७३ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्

भैंसी चराउँदै साफ खेलाडी

भरत जर्घामगर

कसहा (सिरहा) — देशको प्रतिनिधित्व गर्दै सातौं दक्षिण एसियाली खेलकुदमा सहभागी भएका सिरहा अयोध्यानगर–९ कसहाका ५४ वर्षे कुस्तीवाज जनक यादव भैंसी चराएर गुजारा चलाउन बाध्य छन् ।

देशको प्रतिनिधित्व गर्दै सातौं दक्षिण एसियाली खेलकुदमा सहभागी भएका सिरहा अयोध्यानगर–९ कसहाका ५४ वर्षे कुस्तीवाज जनक यादव भंैसी चराएर गुजारा चलाउन बाध्य छन् ।

उनको दिनचर्या भैंसी हेरचाहमै बित्छ । अहिले पनि गाउँघरमा हुने कुस्ती प्रतियोगितामा सहभागी हुँदै आएका उनको गुजारा चलाउने सहारा दुई दुहुना भैंसी भएका छन् । सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न दक्षिण एसियाली महासंघीय (साफ) खेलकुदमा ७४ केजी तौल समूहको कुस्तीमा उनी भिडेका थिए । त्यतिबेला सफल हुन सकेनन् ।

प्रथम खेलकुद प्रतियोगितादेखि नै सहभागी भई उनले राष्ट्रिय खेलमा दर्जनौं स्वर्ण, रजत र कांस्य जितेका छन् । आफ्नो जीवनको ऊर्जाशील समय देशको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताए पनि राज्यको बेवास्ताका कारण गुजारा चलाउन भैंसीको सहारा लिनुपरेको उनले दुखेसो पोखे ।

‘तीन वर्षअघि गागन खोलामा गिट्टी चालेर गुजारा चलाएँ,’ सम्पत्तिको नाममा ६ कट्ठा जग्गा मात्र भएका उनले भने, ‘अहिले भैंसी पालेर दूध बिक्रीबाट गुजारा चलाइरहेको छु ।’
उनले भने, ‘दुइटा भैंसीबाट साँझ/बिहान दैनिक १६ लिटर दूध हुन्छ, त्यसमध्ये १० लिटर प्रतिलिटर ६० रुपैयाँका दरले बिक्री गर्छु । बाँकी आफ्नो र परिवारका लागि राख्छु ।’

केही ऋण र गागन खोलामा गिट्टी चालेरै उनले तीन छोरीको विवाह पनि गरिदिए । अहिले उनको साथमा एक छोरा र पत्नी छन् । उनले आफ्नो छोरालाई कुस्ती खेलप्रति कहिल्यै आकर्षित हुन दिएनन् ।

काठमाडौं, विराटनगर, चितवन, नेपालगन्ज, वीरगन्ज र राजविराजलगायत विभिन्न स्थानमा १ वर्ष ३ महिना कुस्ती प्रशिक्षण लिइसकेका उनले राज्यले कुस्ती खेल र खेलाडीलाई उपेक्षा गरेको गुनासो गरे । तीन वर्षअघि सिरहा सदरमुकामस्थित क्याम्पस चौरमा देब्रे खुट्टा मर्किंदा उपचारमा एक लाख रुपैयाँभन्दा बढी खर्च भए पनि कतैबाट सहयोग नपाएको उनले बताए ।

राज्यको उपेक्षाका कारण देशमा कुस्ती खेल र खेलाडीको अवस्था नाजुक बन्दै गएकामा उनले दु:ख व्यक्त गरे । पौराणिक र मौलिक कुस्ती खेल लोकप्रिय भए पनि राज्यकै उपेक्षाका कारण समाप्त हुन लागेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

कुस्ती खेलका जानकारका अनुसार आधुनिक कुस्तीको इतिहास यसको लोकप्रियताको विकाससँगै १९ औं शताब्दीदेखि सुरु भएको हो । नेपाल कुस्ती संघका अनुसार विश्वका २ सय १६ देशमा कुस्ती खेलिन्छ ।

महाभारत, रामायणकालीनदेखि कुस्ती खेलिंदै आए पनि नेपालमा भने आधुनिक कुस्तीको सुरुआत २०४५ सालमा वीरगन्जबाट भएको बताउँछन् सातौं राष्ट्रिय खेलकुदका कुस्ती निर्णायक समितिका प्रमुख संयोजक विद्यासागर पोखरेल ।

कुस्ती संघका महासचिव एवं मुख्य प्रशिक्षक पोखरेलले सरकारी नीति ठीक नहुँदा धेरै खेलाडी पलायन भइसकेको बताए । ‘प्रथम खेलकुददेखि सहभागी, राष्ट्रिय खेलमा दर्जनौं स्वर्णपदक जितेका र सातौं साफ खेलकुदमा भाग लिएका जनक जस्ता पुरानार् अनुभवी खेलाडीलाई राज्य जगेर्ना गर्न नसक्नु खेल जगतो दुर्भाग्य हो,’ उनले भने, ‘मौलिक कुस्ती खेल र खेलाडीलाई राज्यले जगेर्ना गर्नु आवश्यक छ ।’

प्रकाशित : पुस १६, २०७३ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×