राष्ट्रिय खेलकुदले व्यापार बढ्यो


काठमाडौं — सातौं राष्ट्रिय खेलकुदको सबैभन्दा बढी इभेन्ट भएको इटहरीमा खेलमात्र भएन । अतिरिक्त व्यापार गर्ने अवसर पनि जुर्यो । साता दिनमा होटलहरूले खाना र आवासमा मात्रै करिब डेढ करोडको कारोबार गरे ।
एथलेटिक्स, भलिबल, महिला क्रिकेट र तेक्वान्दोका विभिन्न ५२ स्वर्णपदकका लागि प्रतिस्पर्धा भएको थियो । लामो समय टिकेका टिम बसेका होटलवालाले अलि बढी कारोबार गरे ।
समग्रमा इटहरीका होटलले खेलाडी, अम्पायर, अफिसियल र कर्मचारीसमेत राखेर झन्डै डेढ करोडको कारोबार गरेको होटल संघ अध्यक्ष अनुरोध थापाले बताए ।
होटल मितेरीका सञ्चालक गोविन्द थापाले अरू बेलाभन्दा खेलकुद आयोजनाले होटल भरिभराउ भएकाले एक सातामै झन्डै एक महिनाको आम्दानी हुन सकेको बताए । उनको होटलका १२ वटा रुम भरिए ।
गुराँस होटलका सञ्चालक कृष्ण निरौलाले सुरुमा होटल बुक गरे पनि बीचमा व्यवस्थापनको कमजोरीका कारण पाहुना आउने या नआउने टुंगो नभएपछि आफैं सोधिखोजीमा लाग्नुपरेको थियो । तर आफूलाई एपीएफ राम्रो टिम परेकाले अरूको होटलभन्दा बढी समय उनीहरू बसेकामा खुसी लागेको बताए ।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलिम बस्नेतले इटहरीमा राष्ट्रियस्तरको खेल आयोजना हुनु गौरवको विषय भएको बताए । यसले यहाँका स्थानीयस्तरको व्यापार व्यवसायलाईसमेत टेवा पुगेको बताए । तर उनले सातौं राष्ट्रिय खेलकुद आयोजना भए पनि स्थानीयस्तरका उद्योग वाणिज्य संघ, राजनीतिक दल र सामाजिक संघसंस्थालाई नबोलाइएकामा भने दु:ख व्यक्त गरे ।
जुनसुकै आयोजनामा पनि स्थानीयस्तरका दलहरू, संघसंस्थालाई प्राथमिकता दिने चलन भए पनि राखेपको आयोजनामा भएको खेलकुदमा भने सबैलाई बेवास्ता गरिएकामा दु:ख लागेको बस्नेतले बताए । होटल संघ इटहरीका अनुसार करिब ८ सय खेलाडी, अफिसियल र अम्पायर इटहरीका ७० भन्दा बढी होटलमा बसेका थिए ।
जसले न्यूनतम पनि एक हजार खर्च गर्दा दैनिक ८ लाख खर्च गरे । जुन कुल जोडदा एक सातामा एक करोड हुन आउँछ । त्यस्तै प्रत्येक खेलका क्षेत्रीय, जिल्लास्तरका प्रशिक्षक, अम्पायर र समर्थक संघसंस्थाका प्रतिनिधिसमेत गरेर एक सातामा डेढ करोडको खर्च गरेको संघले बतायो ।
प्रकाशित : पुस १६, २०७३ २०:३०