२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अधिकांश गाविसमा खानेपानी अभाव

विद्या राई

भोजपुर — दक्षिणी दलगाउँ– ४ को पाखलीटोलमा खानेपानीको हाहाकार छ । भूकम्प, सुख्खा खडेरी, मौसम परिवर्तनले गर्दा मुहान सुकेपछि खानेपानीको अभाव भएको हो । सदियौ‌देखिका खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएपछि २५ घरको टोलै विस्थापित हुने अवस्थामा पुगेको छ । दलगाउँ माविमा उस्तै समस्या छ ।

अधिकांश गाविसमा खानेपानी अभाव

खानेपानी अभावले स्थानीयको दैनिकी पानी जोहो गर्नमै बित्छ । घरायसी काममा लादिनुपर्ने महिलाहरुले खानेपानी जोहो गर्न दिनरात कष्ट व्यहोर्छन् । विद्यार्थीले पानी जोहो गर्दै दिन बित्छ । नियमित विद्यालय जान सक्दैनन् । एक गाग्रो पानी थाप्न बिहान ४ बजेदेखि मध्यान्ह १ बजेसम्म मुहानमा लाईन लाग्नुपर्ने समस्या भएको स्थानीय उमा भुजेलले बताइन् ।

'एक गाग्रो पानी थाप्न घण्टौ धाउँछन् । घण्टौसम्म लाइन लाग्छन् । कहिलेकाहीं पालो कुर्दाकुर्दै मुहानकै पानी रित्तिन्छ' रित्तो गाग्रो बोकर घर फर्किनुपर्ने बाध्यता उनले सुनाइन् । १५ वर्षअघि युनिसेफको आयोजनामा पाइप विछ्याएर टोलमा एउटा धारो जोडेको थियो । धारोको मुहान सुकेर थोपै झर्दैन । ‘चैत बैशाखको खडेरीमा त झन् टोल नै सुख्खा हुन्छ, काकाकुल भएर बाँच्नुपर्ने स्थिति छ,’ ७९ वर्षीय रैन्द्रबहादुर भुजेलले भने । सडक खन्ने क्रममा पाइप छरपस्ट भएर मर्मत नगरिएपछि थप समस्या छ । उनीहरु टोलको पुच्छारमा रहेको लाकुरे खोल्सामा खाल्डामा पानी जमाएर खानेपानी जोहो गर्छन् । पाइपमा ६ महिनाको एक पल्ट पानी झदैन ।
 
पछिल्लो समय खुल्ला दिसामुक्त क्षेत्र अभियान गाउँगाउँमा सञ्चालनमा छ । प्रत्येक घरमा व्यवस्थित चर्पीको व्यवस्था  छ । तर खानेपानीको अभावले दुर्गन्ध फैलिएको छ । चर्पी प्रयोग गर्न सकिँदैन । ‘पिउनैका लागि भए पनि आधा रातमा उठेर घण्टौको बाटो लगाएर एक गाग्रो पानी लिएर आउनु पर्छ, सरसफाई, बस्तुभाउलाई खुवाउन एकदिन माया मार्नुपर्छ, सम्भव पनि छैन,’ कुमारी भुजेलले भनिन् ।

जिल्लामा ५ वर्षदेखि खानेपानी अभाव बढ्दै गएको छ । मानेभञ्ज्याङ्ग, रानीवास, होम्ताङ्ग, खैराङ्ग, हसनपुर, जरायोटार लगायत दुई दर्जन बढी गाविसमा खानेपानीको संकट छ । हजारौं घर बसाई सरेर अन्यत्र गएका छन् । कतिपय खोलाकिनार सरेका छन् । हुनेखाने परिवार तराई झरेका छन् । दुर्गमका गाउँलाई सरकारले पूर्ण सरसफाईयुक्त बनाउने लक्ष्यका साथ अभियान चलाइरहेको छ । खानेपानी अभावले व्यवहारमा लागू हुन सकेको छैन । मौसम परिवर्तन अनुसारका रोगको महामारी फैलने जोखिम बढ्दै गएको छ ।
 
सदरमुकाममा खानेपानीको चरम अभाव छ । दिनमा एक समय दुई घण्टासम्म पानी झर्दैनन् । कर्मचारी, विद्यार्थीलाई प्रत्यक्ष मर्कामा छन् । खानेपानी व्यवस्थापनका लागि सिलिचुङ्ग खानेपानी मुल उपभोक्ता समितिले मुहान खोजी गरी प्रक्रिया अगाडि बढाएको अध्यक्ष नविन प्रधानले बताए ।
 
तस्बिर : पानी भर्दै दलगाउा–४, पाखलीटोलकी बविता भुजेल । विद्या राई/कान्तिपुर

प्रकाशित : पुस १६, २०७३ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?