कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

इलाम गोल्डकप : पाँचथरलाई हराउँदै झापा फाइनलमा 

लक्ष्मी गौतम

पाँचथर — बिर्तामोड युनाइटेड क्लब झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार साँझ सम्पन्न अन्तिम सेमीफाइनल खेलमा पाँचथरलाई ट्राइब्रेकरमा ४–२ गोलले हराउँदै झापा फाइनलमा पुगेको हो ।

इलाम गोल्डकप : पाँचथरलाई हराउँदै झापा फाइनलमा 

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा झापाका एन्जल गुरुङ, दिवस उराउ, रोहन कार्की र प्रदिप बुडाथोकीले गोल गरेका थिए ।

झापाकै विशाल दर्जीले गरेको प्रहार भने पाँचथरका गोलकिपरले रोक्न सफल भए । पाँचथरका तर्फबाट भने सुदिप श्रेष्ठ र साइमन लिम्बूले गोल गरे । बिहीबारको खेलमा बिर्तामोडका सञ्जित राई म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाउन सफल भए ।

सेमीफाइनल जितेसँगै झापाले अब उपाधिका लागि न्युरोड फुटबल टिम काठमाडौं (एनआरटी) सँग भिड्ने पक्का भएको छ । रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी सहित ८ टिम सहभागी थिए । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । गोल्डकपको फाइनल माघ १३ गते हुनेछ ।

प्रकाशित : माघ ११, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?