बन्द प्रशिक्षण टोलीमा प्रतिश- खेलकुद - कान्तिपुर समाचार

बन्द प्रशिक्षण टोलीमा प्रतिश

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिश जिसी र सन्दीप लामिछानेलाई समेट्दै नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाका लागि शुक्रबार २० सदस्यीय टोली घोषणा गरेको छ । ६ दिनअघि घोषित टोलीमा २८ खेलाडी थिए ।

प्रतिश र सन्दीप दुवै यसअघि घोषणा गरिएको २८ सदस्यीय प्रारम्भिक टोलीमा थिएनन् । तर बिहीबार घोषित प्रारम्भिक टोलीमा दुवैलाई आश्चर्यजनक हिसाबमा समेटिएको छ । देव्रेहाते मध्यम गतिका बलर प्रतिशले गत महिना नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सबाट खेल्दै राम्रो प्रभाव पारेका थिए । नाबालिग बलत्कारको आरोपमा अदालतमा मुद्दा चलिरहे पनि सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।

घोषित २० सदस्यीय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद छन् ।

भेट्रान शरद भेषावकर, विनोद भण्डारीसहित सागर ढकाल, अविनाश बोहरा, सिद्धान्त लोहनी, अनिल शाह, विक्रम सोब, भुवन कार्की, विवेक यादव र अंकित सुवेदी २० सदस्यीय टोलीबाट बाहिरिएका छन् । लिग २ मा नेपालको सातौं शृंखला फेब्रुअरी १४ देखि २१ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुँदै छ ।

नेपालले फेब्रुअरी १४ मा नामिबियासँग पहिलो खेल खेल्नेछ । फेब्रुअरी १५ नामिबिया र स्कटल्यान्ड, फेब्रुअरी १७ नेपाल र स्कटल्यान्ड, १८ मा नेपाल र नामिबिया, २० मा नामिबिया र स्कटल्यान्ड तथा फेब्रुअरी २१ मा नेपाल र स्कटल्यान्डबीच खेल हुनेछन् ।

प्रकाशित : माघ २०, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

बार्सिलोना ८ अंकले अगाडि

रियल म्याड्रिड एक खेल कम खेलेको अवस्थामा पछाडि परेको हो
एएफपी

सेभिया — राफिन्हा र रोबर्ट लेवान्डोस्कीको गोल सहयोगमा बार्सिलोनाले ला लिगामा बुधबार रियल बेटिसलाई २–१ ले पराजित गर्दै ८ अंकको अग्रता लिएको छ ।

यस जितसँगै क्याटलन क्लबले दोस्रो स्थानको रियल म्याड्रिडमाथि दबाब बढाएको छ । रियल एक खेल कम खेलेको अवस्थामा ८ अंक पछाडि परेको हो । फ्रान्सेली विंगर ओसमन डेम्बेले चोटको कारण केही साताबाहिर भएको अवस्थामा राफिन्हाले पाएको आवसरमा आफूलाई प्रमाणित गरेका हुन् । गत वर्ष लिड्सबाट बार्सिलोना आएयता राफिन्हाले डेम्बेलेको उत्कृष्ट लयका कारण खेल्ने समय कमै पाएका थिए ।

राफिन्हाले ६५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तीन खेलको प्रतिबन्धबाट फर्किएका लेवान्डोस्कीले ८० औं मिनेटमा दोस्रो गोल गरे । जुल्स कोन्डेले आफ्नै पोस्टमा गोल गरेपछि बेटिसले खेलमा खेलमा संघर्ष गर्दै अंक जोड्ने अवसर पाएको थियो तर बार्सिलोना जितबाट रोकिएन ।

‘मेरो विचारमा राम्रो खेल भयो,’ बासिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले भने, ‘हामीले धेरै राम्रो खेल्यौं । निकै उत्कृष्ट भन्न चाहन्छु ।’

उनले थपे, ‘निकै कठिन अवस्थामा हामीले धेरै राम्रो प्रदर्शन गर्‍यौं । नतिजाप्रति मात्रै होइन, हामीले जसरी खेल्यौं, यसमा धेरै खुसी छु । गिरोनाविरुद्धको खेलपछि हामीले धेरै सुधार गरेका छौं ।’

गत साता सामान्य प्रदर्शनका बावजुद पनि क्याटलन प्रतिद्वन्द्वी गिरोनाविरुद्ध १–० को जितसहित बार्सिलोनाले अघिल्ला तीनै खेलमा जित हासिल गरेको थियो । तर, सेभियाविरुद्ध उच्चस्तरको प्रदर्शनसहित ३ अंक जोड्यो । आफ्ना समर्थकसामु बेटिसले राम्रो सुरुआत गरेको थियो । सुरुमै लुइस हर्नान्डेजको प्रयासमा एलेजान्द्रो बाल्देले उत्कृष्ट बचाउ गरे । अर्कोतिर लेवान्डोस्कीको हेडरमा बल बाहिर गयो । पेड्रीले पनि बललाई पोस्टको दिशा दिन सकेनन् ।

इंग्ल्यान्ड

म्यानचेस्टर– म्यानचेस्टर युनाइटेड ओल्ड ट्राफोर्डमा नटिङ्घम फरेस्टलाई २–० ले हराएर समग्रमा ५–० को जितसहित लिग कपको फाइनल पुगेको छ ।

एरिक टेन हागको टिमका लागि सेमिफाइनलको अन्तिम १७ मिनेटमा एन्थोनी मार्सियल र फ्रेडले गोल गरे । दोस्रो लेगको यो जितसँगै युनाइटेडले फेब्रुअरी २६ मा बेम्बलीमा हुने न्युकासलविरुद्ध फाइनल खेल्ने पक्का गर्‍यो । युनाइटेडले पछिल्लोपल्ट सन् २०१७ मा जोसे मोउरिन्होको पालोमा उपाधि जितेयता तीन व्यवस्थापक परिवर्तन भएको छ । त्यसयताको उपाधि खडेरी तोड्नका लागि टेन हाग एक जित नजिक आइपुगेका छन् ।

रेड डेभिल्सले गत साता सिटी ग्राउन्डमा भएको पहिलो लेगमा ३–० को सफलता हात पारेको थियो । त्यो फराकिलो जितपछि टेन हागले टिममा खेलाडी परिवर्तन गर्ने अवसर पाएका थिए । उनले एफए कपको चौथो चरणमा शनिबार रिडिङविरुद्ध ३–१ को जितमा सहभागी मार्कस रासफोर्डसहित ६ खेलाडीलाई बेन्चमा राखेका थिए ।

प्रकाशित : माघ २०, २०७९ ०७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×