सिनवारीको उत्कृष्ट प्रदर्शनमा जनकपुर विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — अफगानिस्तानका समिउल्लाह सिनवारीको उत्कृष्ट प्रदर्शनको मदतले जनकपुर रोयल्सले शनिबार नेपाल टी–ट्वान्टीमा विराटनगर सुपर किंग्सलाई सजिलै ४९ रनले हराएको छ । जनकपुरको यो चौथो जित हो र ८ अंकमा दोस्रो स्थानमा छ ।

विराटनगर भने ४ अंकमा सीमित रहेर चौथो स्थानमा छ । टीयू क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै ‘प्लेयर अफ द म्याच’ सिनवारीको ४० बलमा ७८ रनको मद्दतले जनकपुरले ५ विकेटमा १ सय ८९ रन बनाएको थियो ।

नटआउट रहेका सिनवारीले चौका र ६ छक्का प्रहार गरे । जवाफमा विराटनगरले ७ विकेट गुमाएर १ सय ४० रनमात्र बनाउन सक्यो । सिनवारी बलबाट पनि चम्के र उनले आफ्नो लेग ब्रेक बलिङको मद्दतले २१ रन दिएर ३ विकेट लिए । विराटनगरका लागि हुसेन टलटको ४२ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो ।

प्रकाशित : पुस १६, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती राजाबाट नेपालीले पाए पदक

कान्तिपुर संवाददाता

लन्डन — बेलायतस्थित एक जना नेपाली समाजसेवी तथा व्यवसायी महन्त श्रेष्ठले राजा चार्ल्स तृतीयबाट दिइने अर्डर अफ द ब्रिटीस एम्पायर (ओबीई) पदवि पाएका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा दिइने विभिन्न पदवि अन्तर्गत श्रेष्ठले ओबीई पाएका हुन् । आगामी जुन महिनामा एक समारोहबीच उक्त पदक दिइने छ ।

कला, विज्ञान तथा च्यारिटीमूलक संस्था वा समाजसेवामा गरेको योगदानप्रति उक्त विशिष्ठ पदवि दिइन्छ ।यस वर्ष करिब ११ सय जनाले यस्तो पदवि पाएको राजपरिवारको आधिकारिक पत्रिका लन्डन गजेटमा उल्लेख छ । ओबीई पदक यसअघि डा. सूर्यप्रसाद सुवेदी र डा. राघवप्रसाद धितालले पाइसकेका छन् ।

'मलाई करिब तीन साताअघि क्याबिनेटबाट खबर आएको थियो । मेरो निस्वार्थ सेवा मूल्यांकन गरेर बेलायती राजाको बाहुलीबाट यस्तो उच्च पदवि पाउनु मेरो जीवनकै उच्च उपलब्धि ठानेको छु', श्रेष्ठले कान्तिपुरसित भने ।

श्रेष्ठ बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि (दूत) पनि हुन् । सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएका श्रेष्ठ इलिङस्थित मन्टिज रेष्टुरेन्टका सञ्चालक हुन् ।

श्रेष्ठ रेष्टुरेन्ट व्यवसायसँगै लन्डनमा बियर उत्पादन र प्रोपर्टीमा पनि संलग्न भए । पार्टनरसीपमा सन् २००३ देखि खुकुरी बियर उत्पादन गरेर सन् २००७ देखि उनी एक्लैले यो व्यवसाय सञ्चालन गरेका छन् ।

यूके-नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष श्रेष्ठको काठमाडौं ठमेलमा तारे होटल पनि चालु छ ।एनआरएनए यूकेको संस्थापक अध्यक्ष, पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स 
(बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्वअध्यक्ष पनि हुन् ।

प्रकाशित : पुस १६, २०७९ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×