यू–१४ टेनिसमा प्रशंसा र स्वस्तिका विजयी
काठमाडौँ — नेपालका प्रशंसा मोक्तान, आध्या पौडेल र स्वस्तिका विष्ट २० औं जयकर स्मृति एटीएफ यू–१४ टेनिसअन्तर्गत सर्किट–२ को क्वाटरफाइनल पुगेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा गर्ल्स सिंगलतर्फ मंगलबार प्रशंसाले माल्दिभ्सकी नवा निशानलाई ७–५, ७–५ ले, आध्याले ओमानकी आइसा अल बुसाइदीलाई ६–३, ६–३ ले र स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरे ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगलमा नेपालका राजवीर प्रधानले हङकङका यू हिन वोङलाई ६–०, ६–२ ले हराएर क्वाटरफाइनल सुरक्षित गरे । भारतका सिद्धार्थ जिबु, हङकङका छियोन हेइ करिसन फुङ, भारतका इशान वदाकी, भारतका भिभान मिर्धा, हङकङका वान हिम डोनोभान र की छियोन मोरिस ताङ तथा पाकिस्तानका जोहेब अफजल मलिक आफ्ना प्रतिद्वन्द्वीलाई हराएर क्वाटरफाइनलमा पुगे ।
ब्वाइज डबल्समा भारतका इशान र सञ्जय गिरिश कुमार, पाकिस्तानका जोहेब र यमनका हमुद इयाद, बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्के तथा भारतका सिद्धार्थ र भिभानको जोडीले क्वाटरफाइनलमा स्थान बनाए ।
गर्ल्स डबल्समा नेपालकी प्रशंसा र भारतकी तनिशा भटनागर, भारतकी हनी र नेपालकी प्राज्ना मानन्धर, नेपालकी स्वस्तिका र भारतकी सान्भी रेड्डी तथा नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।
प्रकाशित : पुस ५, २०७९ १८:५२