कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३
आठौं नेपालगन्ज म्याराथन

खडक र सन्तोषी च्याम्पियन

रुपा गहतराज

नेपालगन्ज — त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले आठौं धारा नेपालगन्ज म्याराथन उपाधि जितेका छन् । उनले पहिलोपल्ट म्याराथनको ट्रफी उचाले । खडकले यसअघि एक संस्करणबाहेक सबैमा सहभागिता जनाउँदै आएका छन् ।

खडक र सन्तोषी च्याम्पियन

नेपालगन्जमा शनिबार भएको म्याराथनमा खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बने । गत वर्ष एपीएफका किरणसिंह बोगटीले उपाधि जितेका थिए । खडकबहादुर गत संस्करणमा चौथो भएका थिए । गत वर्ष उपविजेता भएका आर्मीकै नरेन्द्र रावत यसपालि पनि दोस्रो भए । उनले २ घण्टा २२ मिनेट २९ सेकेन्डमा दुरी पार गरे । आर्मीकै मोहनदेव जोशी २ घन्टा २४ मिनेट ३६ सेकेन्डबाट तेस्रो स्थानमा आए । २ घन्टा ४१ मिनेट ५७ सेकेन्डबाट कमलराज तिमिल्सेना चौथो भए ।

खडकले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नरेन्द्रले ६० हजार, मोहनदेवले ३० हजार, कमलराजले १५ हजार रुपैयाँ हात पारे ।

वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनको उपाधि जितिन् । नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार मिटर) सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।

सन्तोषी साबिक विजेता हुन् । उनले त्यतिबेला १ घण्टा १८ मिनेट ४८ सेकेन्डको समय निकालेकी थिइन् । भारतकी अञ्जली चौहानी १ घण्टा २५ मिनेट १५ सेकेन्डबाट दोस्रो भइन् । अञ्जु खड्काले १ घण्टा ३६ मिनेट ४४ सेकेन्डबाट तेस्रो स्थान हासिल गरिन् । च्याम्पियन सन्तोषीले ६० हजार पुरस्कार प्राप्त गरिन् । अञ्जलीले ३० हजार र अञ्जुले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिला ५ किलोमिटर खुलामा पुलिसकी राजपुरा पछाईं विजेता भइन् । राममाया बुढा दोस्रो र बिमला कार्की तेस्रो भए । उनीहरूले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गरे ।

१० किमि खुला पुरुषतर्फ मुकेश पाल पहिलो, भुवन राना दोस्रो र सुनील रम्जाली तेस्रो भए । शीर्ष तीनले ३०, १५ र १० हजार पुरस्कार पाए । स्कुलस्तरीय ५ किमि छात्र दौडतर्फ अतुल गोडिया पहिलो, सन्तोष बिक दोस्रो र केशरजंग रायमाझी तेस्रो भए । ३ किमि छात्रा दौडमा नेहा सापकोटा पहिलो, दीपशिखा शाही दोस्रो र निर्मला सिजापति तेस्रो भए । दुवै विधाका शीर्ष तीनका विजेताले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाए ।

ह्विलचेयर दौडमा यज्ञबहादुर खत्री पहिलो, महेश चौधरी दोस्रो र देउकुमारी थारु तेस्रो भए । उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाए ।

किड्स रनमा जेनिशा थापा पहिलो र वैष्णभी मिश्र दोस्रो भए ।

प्रतियोगितामा यसपालि भारतीय खेलाडीले समेत भाग लिएका थिए । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेसेस (एम्स)ले मान्यता दिएपछि नेपालगन्ज म्याराथन पहिलोपल्ट आधिकारिक रुटमा आयोजना भएको हो । यो एम्सको वार्षिक क्यालेन्डरमा उल्लेख भएको नेपालको एकमात्र म्याराथन स्पर्धा हो । यसअघि नेपालगन्ज म्याराथन आर्मीका होमलाल श्रेष्ठ (पहिलो संस्करण), कृष्ण बस्नेत (दोस्रो), जुम्लाका दुर्गाबहादुर बुढा (तेस्रो), नेपाल पुलिस क्लबका भूमिराज राई (चौथो), आर्मीका भीमबहादुर साउद (पाँचौं), एपीएफ क्लबका गोपीचन्द्र पार्की (छैटौं) र किरणसिंह बोगटी (सातौं) च्याम्पियन भइसकेका छन् ।

सन्तोषीले दोस्रोपल्ट हाफ म्याराथन उपाधि जितेर कान्छीमायासँग बराबरी गरेकी छन् । एपीएफकी कान्छीमायाले दोस्रो र चौथो संस्करणमा उपाधि जितेकी थिइन् । त्यसबाहेक एपीएफका पुष्पा भण्डारी र कृष्णेश्वरी सिन्तकला, आर्मीका रेशु बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले महिला हाफ म्याराथन जितेका छन् ।

हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको आयोजकका अध्यक्ष टीएस ठकुरीले बताए । प्रतियोगिता क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रिएटिभगन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।

प्रकाशित : मंसिर २५, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×