२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अगाडि आए भुवन

काठमाडौँ — भुवन नगरकोटी बिहीबार सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन १ अन्डर ६७ को स्कोरसहित समग्रमा १० अन्डर १ सय ९४ स्कोर बनाएर शीर्षस्थान उक्किएका छन् ।

अगाडि आए भुवन

दुई दिन अग्रता बनाएका रवि खड्काले बिहीबार बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै बलियो बनेको हो । भुवनले रवि र शुक्रबहादुर राईलाई अन्तिम १८ होलको खेल बाँकी छँदा ९ स्ट्रोकले पछि पारेका छन् ।

शुक्रले १ अन्डर ६७ मा खेल टुंग्याए भने रविले ९ ओभर ७७ को खराब प्रदर्शन गरे । दुवै समग्रमा १ अन्डर २ सय ३ सहित संयुक्त दोस्रो स्थानमा छन् । धनबहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १ ओभर २ सय ५ स्कोरसहित संयुक्त चौथो स्थानमा छन् । धनले ३ अन्डर ६५, दिनेशले २ अन्डर ६६ र कृष्णमानले इभन पार ६८ मा खेल सके ।

३ ओभर ७१ सहित प्रदीपकुमार लामा समग्रमा ३ ओभर २ सय ७ बनाएर सातौं स्थानमा छन् । रमेश अधिकारी र सूर्यप्रसाद शर्माले समग्रमा ४ ओभर २ सय ८ सहित संयुक्त आठौं लिए ।

३६ होलको समाप्तिमा भुवनमात्र एक स्ट्रोकले पछि थिए ।‌ तर तेस्रो दिन १ अन्डर ६७ को स्कोर बनाउँदा उनले ९ स्ट्रोकको अग्रता लिए । उनले दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौं होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३३ मा सिध्याए । यसपछि १२, १३ र १७ औं होलमा १–१ शट बचाउँदा १०, १५ र १८ औं होलको बोगीले ब्याकनाइन इभन पार ३४ मा सके ।

भुवनले ९ स्ट्रोकको अग्रता बनाउनुको कारण रविको खराब प्रदर्शन नै हो । रविले ९ ओभर ७७ को खराब प्रदर्शन खेले । दोस्रो, चौथो, छैटौं र नवौं होलमा बोगी प्रहार गर्दै फ्रन्टनाइन ४ ओभर ३८ मा पूरा गरे । यसपछि सम्हालिन सकेनन् । १० र १८ औं होलमा डबल बोगीको सामना मात्र गरेनन्, ११ र १६ औं होलमा १–१ शट खेर फाले । १३ औं होलमा एक सट बचाए पनि ब्याक नाइन ५ ओभर ३९ मा सकाए ।

शुक्रले दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २ अन्डर ३२ स्कोर गरे । उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनको सुरुमा नै डबल बोगी प्रहार गरे । १३ औं होलको बर्डीले १ ओभर ३५ मा ब्याकनाइनको खेल सके ।

एमेच्योरतर्फ समग्रमा ११ ओभर २ सय १५ सहित अजित बिके शीर्षस्थानमा छन् । उनले ५ ओभर ७३ मा खेल सकाए । समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन् ।

प्रकाशित : मंसिर २२, २०७९ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?