कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कटल्यान्ड विजेता बन्ने निश्चित

नेपाल दबाबमा

काठमाडौँ — स्कटल्यान्डसँग आइतबार विश्वकप लिग–२ को खेलमा पराजित भएपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता धरापमा पुगेको छ । नामिबियामा नेपाललाई सानो स्कोरको खेलमा ३ विकेटले पराजित गर्दै स्कटल्यान्ड लिग–२ को शीर्षस्थानमा पुगेको छ ।

स्कटल्यान्ड विजेता बन्ने निश्चित

विन्डहोकको युनाइटेड क्रिकेट क्लबमा टस हारेपछि ब्याटिङमा आएको नेपाल ४०.१ ओभरमा १ सय ३७ रनमा अलआउट भयो । स्कटल्यान्डले ३२.१ ओभरमा १ सय ४३ रन बनाउँदै लक्ष्य पूरा गरेर लिग–२ को उपाधि जित्ने निश्चित गरेको हो ।

सबै ३६ खेल खेलिसकेको ओमानको ४४ अंक छ । नेपालमाथि जित हात पारेपछि स्कटल्यान्डले ३० खेलमा ४४ अंक पुर्‍याउँदै ओमानलाई नेट रनरेटमा पछि पारेको हो । स्कटल्यान्ड बाँकी रहेका ६ खेलमा एक अंक जोडे पनि विजेता बन्नेछ ।

त्यसविपरीत रहेको छ नेपालको कथा । अमेरिका ३५, नामिबिया ३३, यूएई २७ अंकसाथ क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन् । नेपाल २२ खेलमा १८ अंकसाथ छैटौं स्थानमा छ । सात राष्ट्र सहभागी लिग–२ को शीर्ष तीन राष्ट्र विश्वकप छनोटमा पुग्नेछन्

भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनेछन् । बाँकी रहेका १४ खेलमा ९ मा जित हात पारेमा नेपाल कम्तीमा शीर्ष ५ भित्र अटाउन सक्छ ।

ब्रेन्डन म्याकमुलेनले स्कोर बराबरीमा रहेको अवस्थामा सागर ढकालको बलमा स्कटल्यान्डका लागि विजयी छक्का प्रहार गरे । उनले ३४ बल खेल्दै २ चौका पनि प्रहार गरी महत्त्वपूर्ण इनिङ्स खेले । जर्ज मुन्सी १७, कायल कोएटजर र कप्तान रिची बेरिङटन समान ३, म्याथ्यु क्रस १३ रनमा आउट भए । ओपनर क्रिस्टोफर म्याकब्रिजले सर्वाधिक ४३ रन बनाए । उनले ४७ बल खेली ७ चौका प्रहार गरे ।

म्याकमुलेनले मिचेल लिसाकसँग छैटौं विकेटमा जोडेको ४० रन निर्णायक बन्यो । लिसाकले २९ बल खेल्दै ३ चौका प्रहार गरी २२ रन बनाए । मार्क वाटलाई २ रनमा दीपेन्द्रसिंह ऐरीले स्टम्प आउट गराए पनि म्याकमुलेनले साफयान सरिफ (२) सँग मिलेर स्कटल्यान्डलाई विजयी बनाए । नेपालबाट गुलशन झा, सागर र ललित राजवंशीले २–२ विकेट लिए ।यसअघि तल्लोक्रममा गुलशनले सर्वाधिक २९ रन बनाएपछि नेपालले १ सय रनलाई पार गरेको थियो । २९ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । ओपनर आसिफ शेख ७ रनमै आउट भए । अर्जुन साउद १८ रनमा रनआउट हुनु नेपालको दुर्भाग्य बन्यो । ज्ञानेन्द्र मल्लले ३९ बल खेल्दै ३ चौका प्रहार गरी २५ रन बनाए ।

कप्तान रोहित पौडेलले ४३ बलमा १७ र आरिफ शेखले १४ बलमा १० रन बनाए । यी दुईले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । कुशल भुर्तेल पहिलो बलमै बलर क्रिस सोललाई रिटर्न क्याच दिन पुगे । दीपेन्द्रले २२ बल खेली ९ रन बनाए । सोमपाल कामीको स्थानमा टोलीमा फर्किएका करण केसीले ८, ललितले ३ रन बनाए । सागर ४ रनमा अविजित रहे ।

स्कटल्यान्डबाट प्लेयर अफ द म्याच सोलले ७ ओभरमा १ मेडन राख्दै १२ रनमात्र खर्चेर ३ विकेट लिए । वाटले ८.१ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । सरिफ, लिसाक र म्याकमुलेनको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?