कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्पेनविरुद्ध जापानको सनसनीपूर्ण जित

समूह 'ई' विजेता भएको जापानले अन्तिम १६ मा क्रोएसियाविरुद्ध खेल्ने । स्पेन अफ्रिकी टिम मोरक्कोविरुद्ध प्रतिस्पर्धा गर्दै ।
राजु घिसिङ

दोहा — जापानले विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा स्पेनलाई २–१ ले पराजित गर्दै समूह 'ई' मा शीर्षस्थान हासिल गरेको छ । यससँगै जापानले अन्तिम १६ मा चार वर्षअघिको उपविजेता क्रोएसियाविरुद्ध प्रतिस्पर्धा गर्ने निश्चित गऱ्यो ।

स्पेनविरुद्ध जापानको सनसनीपूर्ण जित

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको समूहको अन्तिम खेलमा अप्रत्यासित हार बेहोरेको स्पेन पनि समूहमा उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गऱ्यो । यही समूहको अल बायत रंगशालामा भएको रोमान्चक खेलमा जर्मनीले कोस्टारिकामाथि ४–२ को जित निकाल्दै स्पेनसमान चार अंक बनायो ।

तर, राम्रो गोल अन्तरको आधारमा स्पेन अगाडि रहँदै अन्तिम १६ मा प्रवेश गऱ्यो । लुईस एनरिकेको टिमले क्वाटरफाइनल प्रवेशको लागि समूह एफ को विजेता मोरक्कोविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो हाफमा पाँच गोल सम्भव भएको खेलमा मध्य अमेरिकी टिम कोस्टारिकाविरुद्ध जित हात पारेको जर्मनीको लागि कतार संस्करणको पहिलो खेलमा जापानविरुद्ध बेहोरेको २–१ के हार महंगो सावित भयो । चारपल्टको च्याम्पियन जर्मनीले स्पेनविरुद्ध गोलरहित खेलेको थियो । स्पेनलाई कोस्टारिकाविरुद्ध निकालेको ७–० को जित नकआउट पुऱ्याउने आधार बन्यो । दोस्रो खेलमा जापानलाई १–० ले हराएको कोस्टारिकाले समूहको अन्तिम खेल जितेको भए जर्मनीसँगै स्पेनको चुनौती पनि समूह चरणमै समाप्त हुने थियो ।

तर, कोस्टारिले लिएको २–१ के अग्रता जोगाउन सकेन र हार बेहोऱ्यो । त्यसैले चारपल्टको च्याम्पियन जर्मनी लगातार दोस्रोपल्ट समूह चरणबाटै बाहिरियो ।

खलिफामा अल्भारो मोराटाको गोलमा स्पेनले ११ औं मिनेटमा अग्रता लिए पनि रित्सु डोआनले ४८ र आयो तानाकाले ५१ औं मिनेटमा गोल गर्दै जापानलाई सनसनीपूर्ण जित दिलाएका थिए ।

अल बायतमा सेर्गे गिनाब्रीको गोलमा १० औं मिनेटमै जर्मनी अगाडि बढेको थियो । येत्सिन तेजेडाले ५८ मिनेटमा गोल गर्दै कोस्टारिकालाई बराबरीमा पुऱ्याए । बल रोक्ने प्रयासमा जर्मन गोलकिपर म्यानुएल नोयले आफ्नै पोष्टमा गोल गरेपछि ७० औं मिनेटमा कोस्टारिकाले २–१ को अग्रता लिएको थियो । काई हाभर्जले ७३ र ८५ तथा निकलस फुलक्रुगले ८९ औं मिनेटमा गोल गरेपछि जर्मनीले ४–२ को जित निकाल्यो । तर, त्यो जितको अन्तर जर्मनीलाई अन्तिम १६ मा पुऱ्याउन पर्याप्त भएन ।

समूह चरणको प्रतिस्पर्धाको अन्तिम दिन आज शुक्रबार चार खेल हुँदैछ । यसअघि नै नकआउटमा स्थान पक्का गरिसकेको पोर्चुगलले समूह एच मा दक्षिण कोरियाविरुद्ध खेल्दै छ भने उरुग्वेले घानाको सामना गर्दै छ । एक खेलअघि नै अन्तिम १६ मा स्थान बनाएको ब्राजिलले क्यामरुनविरुद्ध खेल्दैछ । समूह जी को अर्को खेलमा स्वीजरल्यान्ड र सर्विया भिड्दै छन् ।

प्रकाशित : मंसिर १६, २०७९ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?