कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

निर्णायक शृंखलातर्फ नेपाल

विश्व क्रिकेट लिग २ मा समीकरणको हिसाबले नामिबियासँगको दुई खेल नेपालका लागि अझ महत्त्वपूर्ण
विनोद पाण्डे

काठमाडौँ — नेपालका लागि विश्वकप क्रिकेट लिग २ मा पर्याप्त खेल बाँकी छैनन् । यो तथ्य बुझेर नेपाली क्रिकेट राष्ट्रिय टोली नामिबिया पुगिसकेको छ । अब एक साता नेपालले लिग २ को निर्णायक समीकरणमा नामिबिया र स्कटल्यान्डविरुद्ध २–२ खेल खेल्दै छ ।

निर्णायक शृंखलातर्फ नेपाल

सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन राष्ट्र विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । नेपाल यी दुवै समीकरणबाहिर छ । नेपाल २० खेलबाट १७ अंकमात्र जोडेर छैटौं स्थानमा छ । ओमान ४४, स्कटल्यान्ड ४२, अमेरिका ३५, नामिबिया ३२, यूएई २७ अंकसाथ शीर्ष ५ स्थानमा छन् ।

ओमान र अमेरिकाले सबै ३६ खेल खेलिसकेका छन् । नेपालले १६ खेल खेल्न बाँकी छ । नामिबिया भ्रमणबाहेक नेपालले आउँदो तीन महिनामा दुई घरेलु शृंखलाबाट ८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ । नेपालले नामिबिया, स्कटल्यान्ड, यूएई र पपुवा न्युगिनीसँग ४–४ खेल खेल्न बाँकी छ ।

१६ मध्ये १० खेलमा विजय हात पारेमा नेपालले अमेरिकालाई उछिन्दै कम्तीमा शीर्ष पाँचभित्र परेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्नेछ । यो तथ्यमा नामिबिया भ्रमण नेपाललाई अहिलेसम्मकै कठिन परीक्षा हुनेछ । समीकरणको हिसाबले नामिबियासँगको दुई खेल नेपालका लागि अझ महत्त्वपूर्ण हुनेछ ।

नेपालले शुक्रबार घरेलु टोली नामिबियासँग खेलेर यात्रा सुरु गर्नेछ । त्यसपछि डिसेम्बर ४ मा स्टकल्यान्ड, डिसेम्बर ७ मा नामिबिया र डिसेम्बर ८ मा स्कटल्यान्डसँग खेल्नेछ । लिग २ को विजेता बन्नेक्रममा रहेको स्कटल्यान्डमाथि विजय हात पारेमा नेपाललाई त्यो ‘बोनस’ हुनेछ ।

जुलाईमा स्कटल्यान्डलाई उसैको भूमिमा नेपालले १ सय ४४ रनमा अलआउट गरी ५ विकेटको विजय हात पारेको थियो । स्कटल्यान्डमाथि कुनै पनि संरचनामा नेपालको त्यो पहिलो जित थियो । त्यसयता नेपाली क्रिकेटमा धेरै परिवर्तन आइसकेको छ । स्कटल्यान्ड भ्रमणपछि नेपालको प्रशिक्षक पदबाट पुबुदु दासानायकेले राजीनामा दिइसकेका छन् । उनको स्थानमा भारतका मनोज प्रभाकर आएका छन् ।

प्रभाकर र कप्तान रोहित पौडेलका लागि यो पहिलो अग्निपरीक्षा हुनेछ । अगस्ट–सेप्टेम्बरमा केन्या भ्रमणमा नेपालले पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेलेको थियो । प्रभाकरको नेपाल यात्रा यही भ्रमणबाट सुरु भएको हो । सन्दीप लामिछानेको अनुपस्थितिमा पहिलो पटक कप्तानी गरेका रोहितले केन्याविरुद्ध नेपाललाई एकदिवसीयमा ‘क्लिन स्विप’ विजय दिलाएका थिए ।

सन्दीप बलात्कारको आरोपमा जेल चलान भएपछि रोहित नेपालको नियमित कप्तान बनेका छन् । अघिल्लो महिना रोहितकै कप्तानीमै नेपालले यूएईलाई घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा २–१ ले पराजित गरेको थियो । त्यस अर्थमा नामिबिया भ्रमण प्रशिक्षक प्रभाकर र कप्तान रोहितका लागि पहिलो मुख्य परीक्षा हुनेछ, जसले नेपाली क्रिकेटको आगामी भविष्य निर्धारण गर्नेछ ।

दिल्लीमा अभ्यास खेल खेल्दै नेपाली टोली नामिबिया पुगेको हो । कप्तान र प्रशिक्षकबाहेक नेपाली टोलीमा धेरै परिवर्तन छ । राष्ट्रिय टोलीमा पुनरागमनयता ज्ञानेन्द्र मल्ल मार्चपछि पहिलो पटक लिग २ मा खेल्दै छन् । उनको अनुपस्थितिमा देव खनालले लिग २ मा नेपालको एङ्करिङ गर्दै तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । अहिले ज्ञानेन्द्रले नै देवको स्थान लिएका छन् ।

नेपालका सबैभन्दा कान्छा कप्तान रोहितमाथि ब्याटिङको ठूलो आशा हुनेछ । यूएईसँगको तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा रोहितले कुल १९ रनमात्र बनाउन सकेका थिए । रोहितले कप्तानी भारले आफ्नो प्रदर्शनमा असर परेको भन्दा पनि केही गलत निर्णयले गर्दा ठूलो स्कोर खेल्न नसकेको जनाएका थिए । रोहितले नेपालबाट एकदिवसीयमा सबैभन्दा बढी ८ सय २७ रन बनाएका छन् । यही प्रदर्शनले नै रोहितलाई नेपालको नेतृत्वको जिम्मेवारी दिलाएको छ ।

रोहितजस्तै ओपनर आसिफ शेख पनि राम्रो लयमा छन् र उनले अर्जुन साउदसँग नेपालको ओपनिङ गर्नेछन् । दीपेन्द्रसिंह ऐरीका लागि नामिबिया भ्रमण अझ महत्त्वपूर्ण हुनेछ । उनले लिग २ को १६ खेलमा ११ मुनिको औसतमा १ सय ४५ रनमात्र बनाउन सकेका छन् । योक्रममा नेपालका प्रमुख ब्याटर रहेका दीपेन्द्रले एउटै अर्धशतक बनाउन सकेका छैनन् । जबकि गत वर्ष पपुवा न्युगिनीसँग द्विपक्षीय शृंखलमा शतक बनाएका उनले यूएईसँगको शृंखलाको पहिलो खेलमा अर्धशतक बनाएका थिए ।

सन्दीपको स्थानमा नेपालको स्पिन बलिङको मोर्चा ललित राजवंशी र सागर ढकालले सम्हाल्ने छन् । लिग २ मा ललितले अझै बलिङ नै गरेका छैनन् । सन् २०२० फेब्रुअरीमा ललितले अमेरिकाविरुद्ध लिग २ को खेल कीर्तिपुरमा खेलेका थिए । तर अमेरिकालाई ३५ रनमा अलआउट गरेको उक्त खेलमा उनले बलिङ नै गर्न पाएनन् । दीपेन्द्र, कुशल भुर्तेल, हरिशंकर शाह नेपालको स्पिन विकल्प हुनेछन् । तीव्र बलिङमा नेपालले सोमपाल कामी, करण केसी र गुलशन झालाई उतार्न सक्नेछ ।

नामिबिया बिहीबार स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो । नामिबियाले जुलाईमा स्कटल्यान्डमा नेपालसँगको दुई महत्त्वपूर्ण खेलमा विजय हात पारेको थियो ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?