कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०
सगरमाथा कप क्रिकेट

प्रायोजकले छाडेपछि प्रतियोगिता स्थगित

विनोद भण्डारी

विराटनगर — सगरमाथा कप क्रिकेट प्रतियोगिता विराटनगरमा स्थगित भएको छ । प्रायोजक पछि हट्दा प्रदेश १ क्रिकेट संघको आयोजना र लेभिन स्पोर्टस कमर्सियल पाटर्नरको व्यवस्थापनमा विराटनगरको बैजनाथ रंगशलामा भइरहेको प्रतियोगिता बिचैमा स्थगन भएको हो ।

प्रतियोगिताको स्थगनसँगै होटल र यातायात व्यवसायीले बसेको, खाएको र गाडीमा गुडेको रकम असुलीका लागि आयोजक तथा व्यवस्थापकलाई सोमबार दिनभर खोजी गरेका थिए ।

यो प्रतियोगिताका लागि डाफा न्यूज, ड्रिम एलेभन र फ्यान कोडले हरेक म्याच टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने सहमतिमा ७० हजार डलर प्रायोजन गरेका थिए । आइतबार भएको नेपाल प्रहरी र इस्टर्न रेल्वे पटनाबीचको १० औं म्याच टेलिभिजनबाट प्रत्यक्ष प्रसारण नभएको र अनलाइनमा क्रिकइन्फोबाट पनि लाइभ अपडेट नभएपछि असन्तुष्ट भएर प्रायोजक पछि हटेको बताइएको छ ।

यो प्रतियोगिताको प्रत्यक्ष प्रसारणको जिम्मेबारी ऐरिना टेलिभिजनलाई दिइएको थियो । गत आइतबार म्याच हुँदै गर्दा रंगशालामा राखिएको जेनेरेटरले काम नगरेपछि प्रत्यक्ष प्रसारण नहुँदा प्रायोजक पछि हटेर प्रतियोगिता स्थगित भएको व्यवस्थापक लेभिन स्पोटर्सका निर्देशक रोशन धितालले बताए । हरेक म्याच टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुँदा यूटुबबाट विश्वभर प्रसारण भएको थियो । त्यसकै आधारमा प्रायोजकले प्रतियोगिताको स्कोर बेटिङ एपलाई बिक्री गर्दै आएको थियो ।

प्रविधि र दक्ष प्राविधिकको अभावमा म्याचको प्रसारण हुन नसकेको स्वीकार्दै धितालले चाँडै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने बताए । प्रतियोगितामा १८ लिग म्याच र एक फाइनल म्याच हुने तय गरिएको थियो । विजेताले ३ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने थिए ।

प्रतियोगितामा नेपालका तीन विभागीय टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी र आर्मीसहित प्रदेश १ तथा भारतको इस्टर्न रेल्वे र ध्रुव क्रिकेट ऐकेडेमी लखनउको सहभागिता थियो । प्रायोजकको असन्तुष्टिका कारणले प्रतियोगिता बन्द भएको खबरसँगै खेलाडी र अफिसियल बसेका होटलवाला रकम असुलीका लागि प्रतियोगिताका व्यवस्थापक धिताललाई खोज्दै हिडे पछि यसको सर्वत्र चर्चा भएको थियो ।

प्रतियोगिताका आयोजक र व्यवस्थापकले खेलाडी तथा अफिसियल बसेका होटल र खेलाडी ओसारपसार गर्ने यातायात व्यवसायीलाई र अफिसियललाई करिब १५ लाख रुपैयाँ तिर्न बाँकी रहेको धितालले बताए । प्रतियोगिताका अफिसियल होटल इस्टर्न स्टार तथा खेलाडीहरू दिव्यरत्न, ड्राइगनलगायतका होटलमा बसेका थिए ।

धिताल सुरक्षाका लागि सोमबार साँझ आफै जिल्ला प्रहरी कार्यालय मोरङमा आएको मुद्दा शाखाका डीएसपी टीकाबहादुर कार्कीले बताए । मंगलबार होटल र यातायात व्यवसायीसहित आयोजक र व्यवस्थापकबीच मोरङ प्रहरी कार्यालयमा भएको सर्वपक्षीय सहमति पछि यसको विवाद तत्काल साम्य भएको छ ।

सहमतिअनुसार होटल र यातायात व्यवसायीलाई तिर्नुपर्ने रकमको ४० प्रतिशत १२ दिनभित्र र बाँकी रहेको ६० प्रतिशत रकम थप १८ दिनभित्र चुक्ता गर्ने सहमति भएको छ । सहमति पत्रमा आयोजकका तर्फबाट क्रिकेट संघ प्रदेश १ का सचिव मनोज कटुवाल र व्यवस्थापक धितालले हस्ताक्षर गरेको प्रहरीले बताएको छ । धितालले मंगलबार नै केही होटल र यातायात व्यवसायीलाई ब्याकडेटको चेक दिएको बताइएको छ ।

प्रकाशित : मंसिर १४, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?