कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुनियर अन्तर्राष्ट्रिय टेनिस सुरु

पोखरा — पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । पहिलो खेलमा भारतका वंंश नन्दालले नेपालका सक्षमविक्रम शाहलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा नेपालका राजवीर प्रधानले भारतका विभु चलाङगुन्डलालाई ७–५, ६–१ को सेटमा हराए ।

जुनियर अन्तर्राष्ट्रिय टेनिस सुरु

नेपाल आईटीएफ जुनियर्स (यू–१८) वल्र्ड र्‍याङकिङ टेनिस च्याम्पियनसिप ग्रेड–५ सर्किट वान र टू प्रतियोगितामा भारतका सिद्धान्त शर्माले कोरियाका जिवान पार्कलाई हराए ।

रुसका फेडोर सोसेड्किनले भारतका देवर्षि सेन, नेपालका आर्यन गिरीले भारतका धनुष बर्मा, भारतका श्रीनिधि बालाजीले अमेरिकाका समिक्षा अनिमलाई, नेपालका रायन शाहले भारतका दिभिजा मनेनी, श्रीलंकाका भिष्मी ओनेथ्रा सेरासिंगेले भारतका ऋदेशी पाइलाई हराए ।

नेपाल टेनिस संघको सहयोगमा जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटनमा प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव घनश्याम पौडेलले गरे ।

उनले पोखरामा टेनिस खेलले छोटो समयमै ठूलो उपलब्धि हासिल गरेको बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले पोखराले टेनिसमा खेल आयोजनासँगै उत्कृष्ट खेलाडी समेत उत्पादन गरेको भन्दै खुसी व्यक्त गरे । नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकासका लागि धेरै वर्ष पहिला आफूले देखेको सपना साकार हुँदै आएको उल्लेख गरे ।

आयोजक संघ कास्कीका अध्यक्ष लोकबहादुर गुरुङले प्रतियोगिता अन्तर्गत सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएको जानकारी दिए । दुई साता चल्ने प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका महिला तथा पुरुषका एकल र डबल्स इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : मंसिर १२, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?