कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

जर्मनीले स्पेनलाई बराबरीमा राेक्याे, समूहकाे समीकरण राेमाञ्चक

राजु घिसिङ

दाेहा — चारपल्टकाे विश्वकप विजेता जर्मनीले स्पेनलाई १-१ काे बराबरीमा राेकेपछि कतार संस्करणमा आइतबार अन्तिम १६ प्रवेशकाे लागि समूह ‘ई’ काे समीकरण राेमाञ्चक बनेकाे छ ।

जर्मनीले स्पेनलाई बराबरीमा राेक्याे, समूहकाे समीकरण राेमाञ्चक

अल्भाराे माेराटाले जाेर्डी अलबाकाे क्रसमा फस्टबारमै जाली चुमाउँदै स्पेनलाई ६२ औं मिनेटमा अग्रता दिलाए । त्यसमा जर्मन कप्तान एवं गाेलकिपर म्यानुएल नाेयकाे प्रदर्शन फितलाे रह्याे ।

जमल मुसियलाले दिएकाे बललाई निकलस फुलक्रुगले आकर्षक गाेल गर्दै ८३ औं मिनेटमा जर्मनीलाई १-१ काे बराबरीमा पुर्‍याए । अन्त्यतिर दुवै टिमले अवसर बनाएका थिए तर उपयाेग गर्न नसकेका कारण खेल बराबरीमा सकियाे ।

यसअघि काेस्टारिकामाथि ७-० काे जित हात पारेकाे स्पेन ४ अंकसहित समूह ‘ई’ काे शीर्षस्थानमा रहेकाे छ । उसले समूहकाे अन्तिम खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने जर्मनीले काेस्टारिकाविरुद्ध खेल्नेछ । जर्मनी पहिलाे खेलमा जापानविरुद्ध २-१ ले हारेपछि दबाबमा परेकाे हाे । अब उसलाई अन्तिम १६ मा स्थान बनाउन काेस्टारिकासँगकाे खेलमा जित र गाेलकाे हिसाब पनि अनुकूल हुनुपर्नेछ ।

आजकै खेलमा काेस्टारिकाले जापानललाई १-० ले पराजित गरेकाे थियाे । स्पेन-जर्मनीकाे बराबरीसगै याे समूहकाे शीर्ष दुईमा रहेर नकआउटमा छनाेट हुने सम्भावना चारै टिमका लागि खुला भएकाे छ ।

खेलको पहिलाे हाफमा स्पेनले साताैं मिनेटमै जर्मनमाथि धावा बाेल्याे । ड्यानी ओल्माेले पेनाल्टी क्षेत्रबाहिरबाट गरेकाे सशक्त प्रहारमा जर्मन गाेलकिपर म्यानुइल नाेयले पन्च गरेका थिए । बल उनकाे ग्लाेभ्समार्फत गाेलपाेस्टमा लागेर फर्कियाे । जाेर्डी अलबाले २२ औं मिनेटमा प्रहार गरेकाे बल पाेस्ट नजिकबाट बाहिरियाे ।

जर्मनीका डिफेन्डर एन्टाेनियाे रुडिगरले ४१ औं मिनेटमा हेडर गाेल गरे पनि भिडियाे असिस्टेन्ट रेफ्री (भार) ले उनलाई अफसाइड ठहर्‍याइदियाे ।

६८ हजार ८ सय ९५ दर्शकले भरिएकाे अल बायत रंगशालामा स्पेनले १२ वर्षअघि विश्वकप जित्दाका डिफेन्डर कार्लाेस पुयाेल र डाविड भिया भीआईपी बक्सबाट खेल हेरिरहेका थिए ।

प्रकाशित : मंसिर १२, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×