कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोस्टारिकाविरुद्ध अप्रत्यासित हारले जापानलाई कठिन

राजु घिसिङ

दोहा — पहिलो खेलमै चारपल्टको विश्वकप च्याम्पियन जर्मनीलाई २–१ ले पराजित गरेर सनसनी मच्चाएको जापानले आइतबार भएको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध १–० को अप्रत्यासित हार बेहोरेको छ । यससँगै उसलाई नकआउटमा पुग्न कठिन हुने भएको छ ।

कोस्टारिकाविरुद्ध अप्रत्यासित हारले जापानलाई कठिन

अहमद बीन अली रंगशालामा राइटब्याक केसर फ्यलरले ८१ औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई अगाडि बढाएका थिए । उनको प्रहारमा जापानी गोलकिपर सुइची गोन्डाको बचाउ पनि खास गतिलो भएन । त्यसैले अधिकांश समय खेल आफ्नो पकडमा कायम राखेर पनि जापानले अहमद बीन अली रंगशालमा गोल गर्न सकेन र अनपेक्षित गोल बेहोर्दै हार खेप्नुपऱ्यो ।

जापानले १४ पटक पोष्टमा आक्रामण गरे पनि तीनपटक मात्रै बल सही दिशामा गएको थियो, जसलाई कोस्टारिकाले रोकिदियो । कोस्टारिकाले भने जम्मा चारपटक मात्रै पोष्टमा बल प्रहार गऱ्यो र त्यसमा एकमात्र सटिक प्रहरामा गोल निकाल्यो । फिफाको तथ्यांक अनुसार जापानले ५ सय ९१ पस खेल्दै ५ सय २२ पास पूरा पनि गऱ्यो । तर, चाहिएको गोल भने निकाल्न सकेन । युरोपेली क्लबमा आवद्ध जापानी खेलाडीको फिनिसिङ राम्रो भएन । तीन सय ५४ पासमा ३ सय ७६ पास मात्रै सफल भए पनि कोस्टारिकाले एकपटक सटिक प्रहार गर्दै तीन अंक बटुल्यो ।

पहिलो खेलमा स्पेनविरुद्ध ७–० को लज्जास्पद हार बेहोरेको कोस्टारिकाले जापानविरुद्धको सफलतासँगै विश्वकपमा जितविहीन यात्रालाई सात खेलमा पूर्णविराम लाग्यो । उसले सन् २०१४ यता विश्वकपमा पहिलो जित हात पारेको हो । आठ वर्षअघि ब्राजिलमा उसले उरुग्वेलाई ३–१ र इटालीलाई १–० ले पराजित गरेको थियो । कोस्टारिका सन् १९५८ यता सात गोल बेहोरेलगत्तै अर्को खेल जित्ने पहिलो टिम पनि बन्यो ।

कोस्टारिकाको जितले थोरै भए पनि जर्मनीलाई राहत मिलेको छ । समूह ई मा जापान र कोस्टारिकाले ३–३ अंक बनाएका छन् । बार्सिलोनाका १८ वर्षीय प्लेमेकर गावीको विश्वकप डेब्युमा उत्कृष्ट खेलसँगै कोस्टारिकाविरुद्ध ७–० को फराकिलो जित हासिल गरेको स्पेनले आज जर्मनीविरुद्ध अल बायत रंगशालामा प्रतिस्पर्धा गर्दैछ । अंकविहीन अवस्थामा रहेको जर्मनीले विश्वकपमा लगातार दोस्रोपल्ट समूह चरणबाटै घर फर्किनबाट बच्नको लागि स्पेनविरुद्ध जित्नैपर्ने बाध्यता छ । जापानविरुद्ध कोस्टारिकाको जितले समूहलाई खुला बनाइदिएको छ, जसले स्पेनविरुद्ध हार टार्नसके पनि जर्मनीको अन्तिम १६ मा पुग्ने संभावना आफ्नै हातमा हुने छ ।

जापानले समूहको अन्तिम खेलमा १२ वर्षअघिको च्याम्पियन स्पेनको सामना गर्नेछ । त्यसैले एसियाली फुटबलको बलियो टिमको लागि मध्य अमेरिकी देश कोस्टारिकाविरुद्धको हार महंगो पर्नसक्छ ।

प्रकाशित : मंसिर ११, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?