कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिन्स र रसिलाले जिते मेयर कप

काठमाडौँ — राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रसिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

प्रिन्स र रसिलाले जिते मेयर कप

नेपाल ब्याडमिन्टन संघले वरीयताको मान्यता प्रदान गरेको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले हराएर उपाधि जिते ।

महिलामा आर्मीकी रसिलाले आफ्नै टिमकी अनुमाया राईलाई १९–२१, २१–१५,२१–१८ ले पराजित गरिन् । प्रिन्स र रसिला समान ४० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रफुल र अनुमायाले २० हजार रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा पुरुषमा कास्कीका विधान अधिकारी र १६ फिदरका क्षितिज खनाल तथा महिलामा आर्मीकी प्रार्थना देउवा र शोभा गौचन संयुक्त तेस्रो भए । उनीहरूले १० हजार पाए ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको पुरुष डबल्सको उच्च २० वरीयताबाहेकको इभेन्टमा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडीले ललितपुरका दीपेश शाक्य र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१८ को सोझो सेटमा पराजित गर्‍यो । तेस्रो स्थानमा १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा पाँचथरका एसिया जवेगु र दिवस शंकरको जोडी रहे । यस इभेन्टका विजेताले क्रमश: ४० हजार, २० हजार र १० हजार प्राप्त गरे ।

बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यू–१७ छात्र एकलतर्फ आर्मीका कविर केसी र छात्रामा आर्मीकी रिहाना शेरचनले उपाधि जिते । कविरले आर्मीकै अनिल मल्ललाई २१–१०, २१–१३ ले र रिहानाले कैलालीका रञ्जु रानालाई २१–८, २१–१७ ले हराए ।

तेस्रोमा छात्रतर्फ कैलालीका रोशन साउद र शुभकामना युवा क्लबका सनौला रैनी तथा छात्रातर्फ सेनाकी समृद्धि श्रेष्ठ र ललितपुरका श्रेया बज्राचार्य विजयी भए । शीर्ष तीनस्थानमा विजेताले क्रमश: २० हजार, १० हजार र ५ हजार पुरस्कार पाए प्राप्त गरे ।

भेट्रान्स ४५ वर्षमाथि कास्कीका राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले बाजी मारे । उनीहरूले कीर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडीलाई २१–११, २१–१६ ले पराजित गरी उपाधि जिते । तेस्रो स्थानमा कालिका ब्याडमिन्टन क्लबका राम केसी र हरि खत्रीको जोडी तथा गठ्ठाघर स्पोर्टस हाउसका डेन लामा र राकेश थापाको जोडी रहे । शीर्ष तीन स्थानमा क्रमश: २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित : मंसिर १०, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?