कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्जुनको इनिङ्सले जोगिएन गण्डकी प्रदेश

काठमाडौँ — वाग्मती प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिनमा गण्डकी प्रदेशको चुनौतीलाई ७४ रनले पन्छाएको छ । अर्जुन कुमालले सानदार इनिङ्स खेल्नेक्रममा ९८ रन बनाए पनि २ सय ९४ रनको लक्ष्य पाएको गण्डकी ४५.४ ओभरमा २ सय १९ रनमा अलआउट भयो ।

अर्जुनको इनिङ्सले जोगिएन गण्डकी प्रदेश

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अर्जुनले १ सय १९ बलको इनिङ्समा ९ चौका र १ छक्का प्रहार गरे । शतक नजिक पुगेका उनी ओमकार यादवको बलमा योगेश भाटद्वारा समातिए । गण्डकीको इनिङ्समा योगेशले कुल ४ क्याच लिए ।

अर्जुनले सोहेल कुँवरसँग पहिलो विकेटमा ९ ओभरभित्र ४८ रन जोडेका थिए, त्यसमा सोहेलको योगदान ९ रनमात्र थियो । गोविन्द बिक १३ र दीपक डुम्रे ३ रनमा आउट भए । सिब्रिन श्रेष्ठले २१, करण पंगेनी र कप्तान सुवास भण्डारीले समान १३ रन बनाए पनि गण्डकी लक्ष्य छेउछाउ पुग्न सकेन । वाग्मतीबाट कप्तान अशोक पौडेलले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । सक्रिय कार्की, ओमकार र प्रतीक श्रेष्ठले २–२ तथा अभिषेक कोइरालाले १ विकेट लिए ।

यसअघि उत्तम थापामगर र योगेशको अर्धशतकमा निर्धारित ५० ओभरमा वाग्मती ४८.१ ओभरमा २ सय ९३ रनमा अलआउट भएको थियो । प्लेयर अफ द म्याच उत्तमले ७० बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ८७ रन बनाए । ओपनरद्वय सक्षम बस्ताकोटी १८ र लक्की कठायत १२ रन तथा त्यसपछि दीपन बानियाँ ६ र अशोक ९ रनमा आउट भएपछि उत्तम र योगेशले पाँचौं विकेटमा ७७ रनको साझेदारी गरे ।

प्रदेश छनोटमा उत्कृष्ट फर्ममा रहेका योगेशले ४२ बल खेल्दै ५ चौका र ३ छक्कासहित ५२ रन बनाए । तल्लोक्रममा ओमकारले २० बलमा ४ चौका र १ छक्कासहित ३७, आथर्व पौडेलले २९ बलमा २१ र अभिषेकले १४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन बनाएपछि वाग्मतीले मजबुत स्कोर बनाएको थियो ।

गण्डकीबाट निर्तेश गिरी र सुदीप अर्यालले ३–३ विकेट लिए । निर्तेशले १० ओभरमा १ मेडन राख्दै ५३ र सुदीपले ९.१ ओभरमा ६२ रन खर्चे । सुवास, अर्जुन र सिब्रिनले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?