बेन्जेमाको स्थानमा अर्को खेलाडी नल्याइने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेन्जेमाको स्थानमा अर्को खेलाडी नल्याइने

एएफपी

दोहा — डिफेन्डिङ च्याम्पियन फ्रान्सले चोटग्रस्त खेलाडी करिम बेन्जेमाको स्थानमा विश्वकप टिममा अर्को खेलाडी नल्याउने भएको छ । प्रशिक्षक डिडिएर डेसक्याम्पले आइतबार यसबारे घोषणा गरेका छन् । फ्रान्सलाई अर्को ठूलो धक्काका रूपमा चोटका कारण बेलन डे’अर विजेताले खेल्न नसक्ने भएका हुन् ।

शनिबार टिम अभ्यासको क्रममा उनलाई तिघ्रामा चोट लागेको हो र उनको अनुपस्थितिले फ्रान्सको विश्वकप उपाधि रक्षा गर्ने अभियान अझ कमजोर भएको छ । डेसक्याम्पले रियल म्याड्रिड फरवार्डको स्थानमा अर्को खेलाडीका लागि फिफासँग अनुरोध नगर्ने बताए । प्रशिक्षकसँग नयाँ खेलाडी माग गर्न सोमबारसम्मको समय रहेको छ ।

डेसक्याम्पले फ्रान्सको टीएफ–वानलाई दिएको अन्तर्वार्तामा बेन्जेमा घाइते हुनु ठूलो नोक्सानी रहे पनि वर्तमान टिममा आफ्नो पूर्वआत्मविश्वास रहेको बताए । यस्तै उनले टिम आफैंमा उत्कृष्ट रहेको पनि दाबी गरे । उनले भनेका छन्, ‘हाम्रो जुन टिम उद्देश्य छ, त्यसका लागि अहिलेको टिम पर्याप्त छ । मलाई खेलाडीमाथि पनि उत्तिकै विश्वास छ ।’

उनले फ्रान्सेली टिम बेन्जेमालाई ठीक ढंगले व्यवस्थापन गर्न नसकेको आरोपबारे केही बोल्न चाहेनन् । गत महिनादेखि बेन्जेमा चोटबाट संघर्षरत छन् । डेसक्याम्पले भने, ‘तपाईंहरू विवाद सिर्जना गरेको हेर्न चाहनुहुन्छ । तर टिममा सबथोक ठीक छ र नियन्त्रणमा छ । चोट अभ्यासका क्रममा बल्झेको होइन । जोकोहीलाई पनि चोटको समस्या हुन सक्छ ।’

प्रकाशित : मंसिर ५, २०७९ ०३:०६
प्रतिक्रिया
पठाउनुहोस्

यस्ता छन्, विश्वकपका आठ रंगशाला

एएफपी

दोहा — कतार विश्वकप सुरु हुन लाग्दा त्यसका लागि प्रयोग हुने रंगशालाहरू के कस्ता छन्, त्यसमा पक्कै सबैको रुचि होला । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा सबैले गरेको एउटा ठूलै आलोचना थियो, त्यतिबेला यो देशसँग एउटै गतिलो रंगशाला पनि थिएन ।

तर पछिल्ला १२ वर्षमा कतारले विश्वकपकै लागि भनेर सात नयाँ सानदार रंगशाला बनाएको छ भने एउटा पुरानो रंगशालाको मर्मत गरेको छ । कस्ता छन् त यी आठ रंगशाला ? एएफपीको रिपोर्ट :

लुसेल आइकोलिन रंगशाला

कतारको सबैभन्दा ठूलो रंगशाला हो, लुसेल आइकोलिन रंगशाला । यसको दर्शक क्षमता रहेको छ, ८० हजार । कतारको सबैभन्दा ठूलो रंगशालाले डिसेम्बर १८ मा हुने निर्णायक खेल फाइनलको आतिथ्य गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल पनि यहीं हुनेछ । रंगशाला लुसेलमा बनेको छ । यो त्यस्तो दुई लाख जनसंख्याको प्रस्तावित सहर हो, जसलाई योजनाबद्ध ढंगले मध्यदोहाबाट १५ किलोमिटर टाढा बसाइएको छ । विश्वकपपछि यसलाई ‘कम्युनिटी हब’ मा परिणत गरिनेछ । यस रंगशालामा रहेका कुर्सीलाई अन्यत्र सारिनेछ अथवा कसैलाई सहयोग दिइनेछ ।

अल–बयात रंगशाला

आइतबार जति बेला विश्वकप सुरु हुनेछ, सबैको पहिलो नजर यही अल–बयात रंगशालामा पर्नेछ । यसको दर्शक क्षमता ६० हजार रहेको छ । कतार र इक्वेडरबीच उद्घाटन खेल यहीं हुनेछ । स्पेन र जर्मनबीचको बहुप्रतीक्षित समूह चरणको खेल र दोस्रो सेमिफाइनल पनि यहीं हुनेछ । यसको निर्माण ‘बेडोइन टेन्ट’ को आकारमा गरिएको छ । प्रतियोगिताका बेला यसको माथिल्लो भाग हटाउने योजना पनि रहेको छ । यो रंगशाला कतारको उत्तर–पूर्व तटीय क्षेत्रमा रहेको छ । दोहाबाट यो ३५ किलोमिटर टाढा छ र यहाँ पुग्न मेट्रो प्रयोग गर्नुपर्छ । त्यसैले समर्थकका लागि यहाँ पुग्न गाह्रो हुन सक्छ ।

एडुकेसनल सिटी रंगशाला

अल–रयान विश्वविद्यालयमा अवस्थित यस एडुकेसन सिटी रंगशाला दोहाको पश्चिममा पर्छ र यसमा ४० हजार दर्शनले एकैपल्ट खेल हेर्न सक्नेछन् । यहाँ जान पनि मेट्रोको प्रयोग गर्नुपर्ने हुन्छ । यहाँ एउटा क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगिताको समाप्तिमा यसको दर्शक क्षमता आधाले घटाइनेछ र यसका कुर्सी विकासशील देशलाई सहयोगका रूपमा प्रदान गरिनेछ ।

अहमद विन अली रंगशाला

अहमद विन अली रंगशालाको दर्शक क्षमता पनि ४० हजार नै रहेको छ । कतारी फुटबल इतिहासको सबैभन्दा सफल क्लब हो, अल–रयान । यसकै घरेलु मैदान हो, यो रंगशाला । विश्वकपकै लागि भनेर यसै स्थानमा रहेको पुरानो रंगशाला भत्काएर नयाँ बनाइएको हो र नाम पनि पुरानै राखिएको छ । यहाँ पुग्न पनि मेट्रो आवश्यक हुनेछ । यो रंगशाला यस्तो स्थानमा छ, जहाँबाट सहर अन्त्य हुन्छ र मरुभूमि सुरु हुनेछ । यसको दर्शक क्षमता प्रतियोगिताको समाप्तिमा आधा घटाइनेछ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशाला

खलिफा अन्तर्राष्ट्रिय रंगशालाको निर्माण सन् १९८६ मा गरिएको थियो र यो नै एक मात्र यस्तो रंगशाला हो, जुन कतारले विश्वकप आयोजनाको अधिकार पाउन अगाडि नै अस्तित्वमा थियो । तर त्यसपछि यसमा धेरै सुधार भने गरिएको छ । सन् २०११ को एसिया कप फाइनल यहीं भएको थियो । उसमा ४० हजार दर्शक अटाउन सक्छन् । सन् २०१९ मा लिभरपुल र फ्लेमिङ्गोबीचको क्लब वर्ल्डकप फाइनल पनि यहीं भएको थियो । इंग्ल्यान्ड र इरानबीच खेल पनि यहीं हुनेछ ।

अल–थुमामा रंगशाला

कुल ४० हजार दर्शक क्षमताको अल–थुमामा रंगशाला मध्यदोहाबाट दक्षिणमा पर्छ । त्यसैले यो हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै नजिक छ । यस रंगशालामा एक क्वाटरफाइनल खेल आयोजना गरिनेछ । विश्वकपपछि यसको दर्शक क्षमता पनि आधा घटाइनेछ र २० हजार मात्र कायम गरिनेछ । मध्यपूर्वमा पुरुषले लगाउन एक पारम्परिक टोपी ‘गफिया’ को आकारमा यो रंगशाला बनाइएको छ ।

स्टेडियम, ९७४

अचम्मको नाम छ, यस रंगशालाको । जम्मा दर्शक क्षमता ४० हजार भएको यस रंगशालाको निर्माण सिपिङ कन्टेनरको प्रयोग गरेर बनाइएको थियो र विश्वकपछि यसलाई पूर्णरूपमा विस्थापित गरिनेछ । सबैलाई थाहा छ, कतारको डाइलिङ कोड नम्बर हो, ९७४ । यसकै प्रतीकका रूपमा यस रंगशालाको नाम जुराइएको हो । निर्माणका क्रममा यसमा ९ सय ७४ नै कन्टेनरको पनि प्रयोग गरिएको छ, यो अर्को संयोग भयो ।

अल–जनोब रंगशाला

अधिकांश रंगशालाको दर्शक क्षमता ४० हजार भए जस्तै अल–जनोब रंगशालाले आतिथ्य दिने पनि यत्तिकै संख्यामा हो । दोहाको दक्षिणमा पर्छ, यो रंगशाला । अल–वाक्राह सहरमा अवस्थित यस रंशागाला त्यस्तो डुंगाको आकारमा रहेको छ, जसको प्रयोग परम्परागत माछा मार्ने काममा प्रयोग हुन्थ्यो ।


प्रकाशित : मंसिर ४, २०७९ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×