कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नन्दनलाई पहिलो पटक मौका, आदिल बाहिर

काठमाडौँ — नन्दन यादवलाई समावेश गर्दै नेपालले विश्वकप लिग २ को नामिबिया भ्रमणका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ । बलिङ अलराउन्डर नन्दन पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाउँदा ब्याटिङ अलराउन्डर मोहम्मद आदिल आलमलाई बाहिर राखिएको छ ।

नन्दनलाई पहिलो पटक मौका, आदिल बाहिर

डिसेम्बर २ देखि ८ सम्म नामिबियामा हुने लिग–२ मा नेपालले नामिबिया र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले डिसेम्बर २ मा घरेलु टोली नामिबियासँग खेलेर यात्रा प्रारम्भ गर्नेछ । त्यसपछि डिसेम्बर ४ मा स्टकल्यान्ड, डिसेम्बर ७ मा नामिबिया र डिसेम्बर ८ मा स्कटल्यान्डसँग खेल्नेछ ।

भर्खर यूएईविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नन्दन नेपालको १६ सदस्यीय टोलीमा थिएनन् । यूएईसँगको शृंखलामा आदिललाई एउटै खेलमा खेलाइएको थिएन । त्यसअघिका खेलमा आदिलले राम्रो प्रदर्शन गर्दै आएका थिए । यूएईसँगको शृंखलापछि प्रशिक्षक मनोज प्रभाकरले आदिल ट्वान्टी–२० शैलीको खेलाडी भएको जनाएका थिए ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा नन्दनसहित, अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, हरिशंकर शाह, सागर ढकालले स्थान पाएका छन् ।

नेपाल २० खेलमा १७ अंक जोडी ७ राष्ट्र सहभागी लिग–२ को अंक तालिकामा छैटौं स्थानमा छ । सबै ३६ खेल खेलिसकेको ओमान ४४ अंकसहित शीर्षस्थानमा छ । स्कटल्यान्ड २८ खेलमा ४०, अमेरिका ३२ खेलमा ३२, नामिबिया २४ खेलमा २८, यूएई २६ खेलमा २७ अंक जोडी क्रमश: दोस्रो देखि पाँचौं स्थानमा छन् । २५ खेल खेलेको पपुवा न्युगिनी ५ अंकसहित पुछारमा छ । लिग–२ को शीर्ष ३ टोली विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता यथावत् रहनेछ । नेपालले लिग–२ का ४ शृंखलामा १६ खेल खेल्न बाँकी रहेको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?